‘आफ्नै जीवन-भोगाइबाट सिकेँ, अरुले जसरी चिनुन् वास्ता राख्दिनँ’

‘आफ्नै जीवन-भोगाइबाट सिकेँ, अरुले जसरी चिनुन् वास्ता राख्दिनँ’


ग्रिसका महान् दार्शनिक सुकरात शारीरिक रूपमा कुरुप थिए भनेर पढिन्छ । तर उनले त्यो कुरा इन्कार गर्दै भनेका थिए, ‘म संसारको सबैभन्दा सुन्दर मान्छे भएको कुरा प्रमाणित गर्न सक्दछु । मेरा जनेन्द्रियहरू सशक्त छन् । म एक पूर्वआर्मी पनि भएकोले मेरो आत्मबल र देश भक्तिको भावना उच्च छ । मेरो दिमागमा ससक्त विचारहरू खेल्दछन् र विचारकै कारण समुदायलाई आफूप्रति आकर्षित गर्न सक्दछु । मेरो दिमाग समुदायको हितमा सदैव क्रियाशील हुन्छ । त्यसैले म ग्रिसको सुन्दर मानिस भएको प्रमाणित गर्दछु ।’

जसरी दार्शनिक शुकरातले तर्कबाट आफूलाई संसारको सबैभन्दा सुन्दर मानिस भएको आफैले प्रमाणित गरे त्यसैगरी मैले पनि म संसारकै धेरथोर संख्याभित्र पर्ने विशिष्ट पत्रकार भएको दाबी गर्ने आधारहरू दिन सक्दछु । म शारीरिक र मानसिक रुपमा स्वच्छ र सुन्दर विचार भएको पत्रकार हुँ । मैले समाचार लेख्दा अरुहरूले जस्तै ब्यक्तिको अनुहार देख्दिनँ । मलाई कसैको अनुहार हेरेर उसको अनुहारमा सेतो माटो घस्ने इच्छा पनि हुँदैन र चेतनाले पनि त्यसो गर्न दिँदैन । भन्नाले कलम समातिसकेपछि विवेक मेरो अधीनमा हुन्छ ।

समाचार बनाउँदा मलाई त्यो व्यक्ति कुन संस्थाको हो भन्ने कहिल्यै मतलव भएन । तर उसको समुदायमा कस्तो छवि छ, उसको प्रवेशले संस्थाको वर्तमानमा के नवीनता ल्यायो ? मैले त्यसैलाई आफ्नो समाचारको बिम्ब बनाएर आफ्नो सृजना तयार पार्छु । यसमा गुनासाहरू आइरहन्छन् तर त्यस्ता गुनासाहरूलाई मैले विशेष अवस्थाबाहेक प्रवाह गर्दै गर्दिनँ । यो मेरो अर्को निजी सिद्धान्त हो ।

म कसैको भावभंगी हेरेर उसको सामाजिक प्रतिष्ठाबारे अनुमान गर्न सक्छु । उसको कुरा सुन्न सर्वप्रथम यथेष्ट समय दिन्छु, त्यसका कर्म र प्रभावबारे अनुमान गर्छु, उसभित्र छिपेको क्षमताको अन्तरदृष्टिद्वारा अंक दिन्छु र कल्पना शक्तिबाट त्यसको उपादयताको मापन गर्दछु । एउटा पत्रकारले सामाजिक रुझानको मात्र अध्ययन गरेर हुँदैन, उसले व्यक्तिगत मनोदशालाई पनि केलाउन सक्ने क्षमता राख्नु पर्दछ । त्यो मेरो शिप मेरै जीवनशैली हेरेर अनुमान गर्नेहरूले पत्ता लगाउन सक्दैनन् । एक पटक मात्र देख्ने वा सम्पर्कमा आउनेहरूले त मलाई एकांकी, हावा वा लहडी पनि भन्न बेर लाउँदैनन् ।

आफूलाई चेतना, इन्द्रियहरूको क्षमता, सुँघ्ने शक्ति, पहिचान कला, त्याग, संकल्प शक्ति र आत्मबलको हिसावले अब्बल विश्लेषक हुँ भनेर दाबी गर्ने मुख्य सम्पत्ति चेतना र विचारको स्तर हो । शुकरातले ‘ब्युटी कन्ट्याक्समा आफूलाई अनुमोदित गरियोस्’ भनेर प्रस्ताव राख्नुको कारण पनि त्यही चेतनाको पारख गर्नको लागि थियो । विरोधिहरूले सुकरातलाई हावा, बौलाहा भन्थे । कुरुप र समाजसापेक्ष मत नराखेर मन्दिर तथा देवताहरूको विरोधी भनेर घृणा गर्दथे । खालिखुट्टाले हिँड्ने, मैलो कपडा लाउने, हप्तौँ ननुहाउने, तर्कमात्रै गरिरहने र भनेको नमान्ने सनकी भन्थे । केही मेरा विरोधीहरूले मलाई पनि सनकी र झुत्रेसम्म भनेको सुनेको छु, तर मैले अहिलेसम्म ती सबैखाले प्रतिक्रियाहरूको प्रतिवाद गरेको छैन । त्यस्ता आन्तरिक क्षमताको मापन गर्न नजान्नेहरूसँग मलाई बहस गर्नु पनि छैन । सुकिला कपडाभित्रका कुरुप मान्छेहरू मैले धेरै देखेको मात्र नभइ ब्यहोरेको पनि छु । त्यस्ता विवेकसुन्य बुङ्गाहरू मरेपछि बाँच्न सक्दैनन् । सकिन्छन्, मेटिन्छन् र अन्त्यमा इतिहासमा अलपत्र पर्दछन् ।

प्रवासका धेरै नेपालीहरूले जस्तै म आफूलाई राम्रो निर्मल विचार भएको पत्रकार हुँ भन्दछु । मलाई बुझ्ने धेरैले त्यसै भन्दछन् होला जस्तो लाग्छ । पत्रकार वा लेखक हुन के कस्ता विशेषता हुनुपर्छ ? त्यसको लागि शुकरातले झैँ परीक्षा दिन पनि तयार छु । म असल हुनुका प्रमाण सुकरातले झैँ म आफैले दिनका लागि आधारहरू छन् भनेर म हावामा बोलिरहेको छैन । त्यसको लागि मैले हरदम प्रयास पनि गरेको छु र आवश्यक पर्दा प्रमाणित पनि ।

मानिस साँस्कृतिक चरित्र, त्याग, समर्पण, मेहनत, ज्ञान र स्वाभिमानको कारण असल र निर्मल बन्न सक्दछ । खाली आर्थिक कारणले मात्र मानिसलाई मापन गर्न सकिँदैन । हाइफाई र सम्पर्कको कारणले पनि एक लेखक वा पत्रकारको मापन हुनु हुँदैन । शक्तिको पिछलग्गु हुनुले मात्र पनि पत्रकार निर्मल बन्न सक्दैन । सामाजिक छवि एउटा महत्वपुर्ण गुण हुँदै हो, तर अरुलाई धम्क्याएर वा बिनाप्रमाण दबाबमा राख्ने शैलीबाट पनि एक पत्रकार निर्मल हुन सक्दैन । यसका मसँग घटेका केही प्रमाणहरू छन् ।

आफूलाई त्यागको कोणबाट हेर्दा, २०५५ सालको चैत्र महिनातिर मेरो जीवनमा घटेको एक कुरा आज राख्न चाहन्छु । म मैले लेखेको एक लेख संग्रह विमोचन गर्न बाग्लुङको सेरा पुगेको थिएँ । तात्कालिक शिक्षामन्त्री गोविन्दराज जोशीले मेरो पहिलो पुस्तक ‘विकृति, विसंगति, विष्फोटन र समाधान’को सेराबाट विमोचन गरेका थिए । त्यो बेला पनि म घटना र विचार साप्ताहिकमा सम्वाददाताको काम गर्थें । बाग्लुङको ताराखोलामा माओवादी विद्रोह उत्कर्षमा थियो । त्यसले समुदायमा पारेको प्रभावबारे एक फिचर बनाउने सनक चढ्यो । म लहडी भएकोले नै होला, त्यो जोखिमपूर्ण काम भएपनि मैले आँटें ।

त्यसै सिलसिलामा मेरो किताव विमोचन गरेर म दमेक हुँदै ताराखोला पुगेँ । एक रात ताराखोलाको माध्यायामिक स्कुलनजिक पर्ने खालिखोला मामाको घरमा विश्राम गर्न नपाउँदै बेलुका विजय नामक माओवादी कमान्डर आएर माथि डाँडामा लिएर गए । मलाई थाह भएन, कसैले सूचना दिएर होला ‘तपाइँसँग सोधपुछ गर्नु छ’ भन्दै मलाई लिन आए । माथि डाँडामा एक लम्साल थरका मानिसको घरमा उनीहरूको सेल्टर रहेछ । त्यहाँ पुगेपछि मेरो चेकजाँच गरे । मेरो जेबबाट ‘घटना र विचार साप्ताहिक’को आईडी कार्ड भेटाए । माओवादीहरूको अगाडि ‘म घटना र विचार साप्ताहिकको सम्वाददाता हुँ, तिमीहरूको गतिविधिबारे समाचार बनाउन म ताराखोला आएको हुँ, किन अपहरण गरियो ? मेरो विगत बुझ्न तिमीहरूकै पार्टीनेता दीनानाथ शर्मा अनि देवेन्द्र पौडेलकी श्रीमती बलावतीलाई भेट’ भनेर जवाफ फर्काएँ । दीनानाथ र बलावतीले मलाई राम्रैसँग चिन्ने भएकोले मैले त्यसो भनेको थिएँ । बलावती र म त वीरेन्द्र क्याम्पस भरतपुरमा सँगै पढेका थियौँ ।

आचार्य थरका कमान्डर विजयको घर म्याग्दी रहेछ । उनले ‘ठिक छ, हामी बुझ्छौँ, यदि तपाईं गलत निस्कनुभयो भने सफाया पनि हुन सक्छ’ भनेर तर्साउन खोजे । विजयको अभिव्यक्तिबाट म कत्ति विचलित नभैकन त्यही माओवादी सेल्टरमा सात दिन बिताएँ ।

म मारिन सक्थेँ त्योबेला । मलाई एक सातासम्म ‘जासुस’ भनेर धेरै मानसिक यातना दिए तर मारेनन् र म अहिलेसम्म छु, लेखिरहन्छु र जीवित भएको प्रमाण दिन सकिरहेको छु । घटना र विचारको सम्वाददाताको परिचयपत्रका कारण उनीहरूले मलाई जासुसको आरोप लगाएका थिए, किनकि मैले काम गरेको पत्रिका स्वयम् उनीहरूबाट ‘प्रतिक्रियावादी’को आरोप खेपेको साप्ताहिक थियो । तर मैले आफ्नो सफाइ दिने क्रममा उनीहरूलाई कन्भिन्स गर्न सक्ने आधार दिएँ । जनादेशलगायत अन्य पत्रिकामा पठाएका समाचारहरू पनि उनीहरूले हेरेछन् ।

कमान्डर विजय पढे–लेखेका बौद्धिक तहकै व्यक्ति भएकोले म जोगिएको हुँ कि जस्तो लाग्छ अचेल । जे होस्, त्यो बेला म आफू धरापमा थिएँ सुकरातजस्तै । ‘अनुसन्धानको रिपोर्ट राम्रो आयो सर’ भन्दै एकप्रकारको ‘अपहरण’बाट एक हप्तामा मुक्त गरे उनीहरूले । दुई जना महिला छापामार र चार जना पुरुष थिए मलाई कब्जामा लिएपछि । त्यो भन्दाअगाडि दण्डपाणी कँडेललाई पनि उनीहरूले झन्डै तीन हप्ता त्यसरी नै राखेका रहेछन् ।

नवलपुरमा माफिया र तस्करहरूको समाचार ब्रेक गर्दा पनि म धेरै पटक ज्यान लिने धम्कीको सिकार भएँ । पत्रकारिता गर्दा नेपालमा कहिँ कसैसंग गलिनँ तर आफ्नै विवशतासंग गलेर देश छोडेँ । मैले पत्रकारिताको कलम समातेको दिनदेखि मसाल पार्टीसँगको संलग्नता त्यागिदिएँ । सुचनाको लागि इन्ट्रेष्ट बाझिँदा समुदायमा पर्ने असर मैले मेरो पत्रकारिताको शुरुवाती दिनदेखि नै बुझेको थिएँ । संसारमा स्वतन्त्र भएर बाँच्नुजति कठिन केही छैन । नेपालमा त्योबेला स्वतन्त्र हुनु भनेको मर्दा मलामी र जिउँदाको जन्ती पनि गुमाउनु जस्तै थियो ।

युरोपमै पनि त्यसखालका मानसिक आक्रमण धेरै भए । मलाई गलाउन पत्रकार, लेखक, संघ-संस्थाको आवरणमा मानवतस्करी गर्नेहरूको एउटा माथिल्लो तप्का नै लाग्यो । नेपाल पत्रकार महासंघको विकृतिविरुद्ध पनि म त्यो तप्कासंग आफ्नो सरलता नत्यागी लडीरहेँ । निरन्तर आप्रवासी समुदायका हकहितको पक्षमा लेखिरहेँ ।

जीवनको बाटो सरल रेखाबाट कोरिएको हुँदैन भन्ने कुरा आफैले भोगेर धेरै सिकेँ । म भाग्यमा विश्वास गर्दिनँ, कर्मको रेखा पनि सरल नभइ बक्र हुन्छ भन्ने कुरामा म विश्वस्त छु । सदैव सिधापन, समुदायप्रति समर्पित सेवाभाव र आत्मसन्तुष्टिको लागि गरिने कर्मले फल प्राप्त गर्छ भन्ने कुरामा मेरो विश्वास रहेन । त्यसको प्रमाण शुकरातको जीवनी पनि हो, जसले आफ्नो मात्रै नभएर समस्त संसारकै भलो सोच्यो । तर ईसापूर्व ३९९ मा शासकको दबाबमा एथेनियन अदालतले सोक्रेटिसलाई मृत्युदण्ड दियो । उनले स्थानीय युवा बरालेर देवताको विरोध गर्न लगाए भन्ने कारण दिइयो । कर्म, न्याय र तथ्यमा हिँड्न सिकाउने सुकरातले आफ्नो कर्मप्रति पश्चाताप नगरी घटघट हेम्लक विष पिए ।

भ्रष्ट भएको र युवाहरूलाई भ्रष्ट तुल्याएको आरोप केवल देखावटी थियो । ‘ओलिगार्किक कू’को पछि एथेन्सको अस्थिरता र प्रत्यक्ष प्रजातन्त्रको अन्त्यलाई सुकरातले गरेको विरोध त्यसको प्रमुख कारण थियो ।

आफ्नो निर्णयमा सुकरात यति दृढ थिए कि मृत्यु बुझेका उनले आफ्नो विचारमा सम्झौता गर्दै गरेनन् । विष पिएपछि उनले आफ्ना चेलाहरूलाई यति भने- ‘क्रिटो, हामी आस्क्लेपियसको एक भालेको ऋणी छौँ, त्यसलाई तिर्नुहोला र मेरो मृत्युलाई बेवास्ता नगर्नुहोला । त्यस्तै हामीपनि जन्मेको भुमि र हामीले लिएको संकल्पका ऋणी छौँ । त्यो ऋण देशलाई आवश्यक परेको बेला तिनु पर्दछ ।’ सुकरातलाई माफी मागेर देश छोड्न आफ्ना चेलाहरूले अनुरोध गर्दा भनेका थिए, ‘के थाहा मृत्यु जीवनभन्दा आनन्ददायी र सुखद पो छ कि ! त्यसैले आफू मारिन सक्छौँ भनेर संकल्पको लागि अन्तिम सत्यलाई अस्विकार गर्नु हुँदैन । मैले तपाईंहरूको अनुरोधलाई खारेज गर्दछु । ’

मलाई पनि त्यस्तै लाग्छ, मृत्यु जीवनभन्दा आनन्ददायी पो छ कि ! मैले मेरो कालमा घमण्ड कहिल्यै गरिनँ । सबैभन्दा तल बसेर समुदायको हितको लागि सोचिरहेँ । म त्यति अपाच्य अर्ति बुद्धि पनि कसैलाई दिन्न । अर्ति दिनको लागि मलाई केहि पनि ज्ञान छैन जस्तो लाग्छ । जति कुरा खोजेर समुदायको लागि दिन सकियो त्यो सुन्यबराबर नै हो । यो ब्रह्माण्डमा ज्ञान र आविस्कार गर्नुपर्ने कुराको कुनै सिमा छैन । आफ्नो विचारमा घमण्ड नगरेकै कारण कसैकसैले ‘ए लावारिस डिल्ली !’ भन्छन् भने मैले के नै भन्नु छ र !

व्यक्तिले आफूभन्दा तल परेका (उमेर, पद, सामाजिक प्रतिष्ठा वा आर्थिक हैसियत) हरूसँग विनम्र भाव राखी प्रस्तुत हुन, आफूलाई अरुको नजरबाट पनि हेर्ने बानीको विकास गर्न, व्यक्तिगतभन्दा पनि सामूहिक सम्मान र भावनाको विकास गर्न, सबैसँग भाइचाराको व्यवहार गर्न, कुकर्मलाई त्याग्न र असल कर्मद्वारा मानवीय जीवनलाई ऊर्जामय बनाउन नै मैले मेरा लेखहरू लेख्ने गरेको छु । मेरा लेखहरू धेरैले पढ्छन् पनि । आत्मिक रसस्वादनका लागि व्यक्ति आफैंले शास्त्रीय ज्ञानप्रतिको आकर्षण बढाउनुपर्दछ भनेर मैले दर्शनलाई फरक-फरक कोणबाट हेर्न अनुरोध गरेको छु । व्यक्तिगत स्वार्थमा तँछाडमछाड गर्दै एकअर्काको खुट्टा तान्दै हिँड्ने बानी छोड्ने सन्देश दिनको लागि संसारमा आफ्नो कर्मभन्दा अर्को उदाहरण विरलै भेटिन्छ जस्तो लाग्छ । तर पनि बोल्ने र सोच्नेको मुख थुन्न त सकिँदैन ।

अहंकारी र व्यक्तिगत स्वार्थ मात्र हेर्ने, अरुलाई अपमान गर्ने, सार्वजनिक पद र मर्यादाको दुरुपयोग गर्ने व्यक्तिले क्षणिक लाभ त लिन सक्ला तर अन्ततोगत्वा दीर्घकालमा यस्ता कर्म र कर्ताहरूको परिणाम भयावह हुन जान्छ । असल वा खराब कर्मले व्यक्ति तथा सामाजिक जीवनमा पारेको प्रभावलाई विश्वका धेरै सफल वा असफल व्यक्तिको जीवन-कथासँग समेत जोडेर हेर्न सकिन्छ । राज्यले नागरिकका लागि दिने सार्वजनिक सेवामा सरकारदेखि राष्ट्रसेवकसम्मले नीति बनाउँदा होस् वा सेवा प्रवाह गर्दा कसरी सदाचारितालाई मूल मन्त्र बनाउने भन्ने कुरा विभिन्न दृष्टान्तसहित मैले सयौँ उदाहरणहरू पेश गर्ने गरेको छु । म आफू नै त्यसको उदाहरण बनेर लेख्दा समेत कसैले अरुलाई दिएको अर्ति सम्झन्छन् भने मेरो केही भन्नु छैन ।

वेदको निष्कर्ष, गीताको मुल सन्देश, बुद्धका चार आर्य सत्य र अष्टाङमार्गबाट इमानदार, शुद्द आचरण र चरित्रवान प्रशासकहरू तयार गरी उनिहरूको असल कर्मले व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा प्रभाव पार्दै मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ, पारदर्शी बनाउने उपदेश पाउन सकिन्छ । ती सबै विचारहरू पनि व्यक्तिको खोजका श्रेणीबद्ध अभिलेखहरू हुन्, जसले निष्पक्ष, समावेशी, सहभागितामुलक, जवाफदेही र भ्रष्टाचारमुक्त समाज बनाउन सहयोग गर्दछ भन्ने विश्वास गरिन्छ । तर मैले कसैलाई उदाहरण दिनुछ भने आफै त्यसको पहिलो नमुना बनेर देखाउ भन्छु । अरुलाई अर्ति दिनु भन्दा आफूनै उदाहरण बनेर पस्केका विचारले गहन अर्थ राख्दछ ।

सहिष्णुता र सद्भाव राख्ने, अरुको सम्मान गर्ने, रिस, डाह, इर्ष्या, घमण्ड नगर्ने, भेदभाव नगर्ने, दुःख परेको समयमा सहयोग गर्ने, भाइचारा, अरुप्रति गरिने आत्मिय व्यवहार, अरुको इज्जत गर्ने, मानवताको नाता सबैको एउटै भन्ने जस्ता कुराहरूमा जोड दिने भएकाले मानिसहरूले त्यस्तो विचार मनपराउँछन् । मेरा लेखहरू पनि कसैको जीवनमा प्रेरणा बन्न सक्छन् । त्यसको लागि मैले मेरा शुभचिन्तकहरूबाट सुझावहरू पनि पाइरहेको हुन्छु । तर मैले मेरै विचार र आलेखहरूको संग्रह बनाउन अहिलेसम्म रुचि राखेको छैन । म अब त्यो तर्फ पनि ध्यान दिनेछु ।

मेरो सम्झनामा प्लेटो, अरिस्टोटल, जेनाफोन, अगस्टिन, सेन्ट थोमस अक्वानिस, मार्क्स आदि दार्शनिकहरू आइरहन्छन् । पूर्वीय दर्शनका प्रणेता सिद्धार्थ गौतम, चार्वाक मत र ‘बार्हस्पत्य सूत्रबाट त म एकखालले प्रभावित नै छु । आधुनिक युगमा मार्क्सजस्तै पौराणिक कालका यी दिग्गजहरूको विचार र त्यागले गर्दा नै अहिले म मृत्युलाई फरक आनन्दको रुपमा लिन सक्ने भएको हुँ ।

दार्शनिक ओशो र सुकरातले भने झैँ मृत्यु पनि एक ब्राम्हयोग जस्तै हो । शरीर र मनलाई सामाजिक हित र लोक कल्याणसँग जोड्नु पनि योग हो । किनकि त्यसबाट पनि कर्मयोगीहरूले भरपुर आनन्द लिन्छन् । जीवनभरिको अत्यास र स्वार्थलाई मेटाएर परम आनन्दमा जीवलाई समाधिस्त गराउन अष्टाङ योग मार्ग नियम, यम, क्रिया, आसन, प्राणायाम, प्रत्याहार, ध्यान र समाधि अनुशरणपछि लिइने संकल्पले मानिसको भावी सम्झनालाई चिरकालसम्म बचाएर राख्छ । आर्थिक योग्यताभन्दा माथि ज्ञान र त्योभन्दा माथि सामुदायिक विवेकभित्र मात्रै यी योगहरू जीवित रहन सक्दछन् । तिनै योगहरूले नै शरीरको सम्झनालाई कर्मले निखारेर शुकरातजस्तै चिरन्जीवी बनाउन सक्दछन् ।

कुनै पनि दार्शनिक सबै विषयमा पोख्त नभए पनि आफ्नो विषय विचारप्रति दृढ हुन्छन् । पूर्वीय दर्शनमा गौतम ऋषिद्वारा प्रतिपादित न्याय दर्शनले प्रमाण र तर्कलाई मुख्य आधार मान्ने कला दियो । त्यो उनको विषयगत विचारकला हो । जैमिनीद्वारा प्रतिपादित-मीमांसा भन्नाले अनुभव र तर्कबाट कुनै विषयवस्तुको मूलतत्व पत्ता लगाउनु भन्ने हुन्छ । त्यो पनि उनको विषयगतकला हो ।

मीमांसाको अर्थ विवेचना गर्नु, तर्क-वितर्कद्वारा कुनै विषयको मूलतत्व वा वास्तविकता पत्ता लगाउनु, निष्कर्ष निकाल्नु र विवादको समाधान गर्नु भन्ने हुन्छ । यसले नै वादविवादबाट निष्कर्षको जन्म हुन्छ भन्ने तथ्यलाई साश्वत बनायो । जसलाई आधुनिक युगमा मार्क्सले द्वन्द्वात्मक पदार्थवादको रुपमा प्रमाणित गरिदिए । त्यस्तै सनातनी दर्शनमा न्याय सिद्धान्तले नै प्राकृतिक न्याय, लौकिक न्याय र सामाजिक न्यायको व्याख्या गऱ्यो ।

तर चार्वाकका अनुयायीहरूले निर्देशन वा मेथोलोजि भन्दा प्राक्टिकल लाइफमा विश्वास गर्दथे । डिभाइन फोर्स र भाग्यवादमा विश्वास नगर्ने लोकायतीहरूको विचार आदिम युगमा प्रख्यात भएर पनि समुदायमा प्रभाव बढाउँदै लगेका कर्मकाण्डीहरूले उनका सबै विचारहरू समाप्त पार्दै लगे । भनिन्छ, अन्त्यमा लोकायती चार्वाक समर्थकहरूलाई हत्या गरेर उनीहरूको विचार बिस्ताफित गरियो । स्वर्गका राजा नहुषले सप्तऋषिहरूमाथि गरेको घोर अत्याचारले ति तथ्यहरूलाई पुष्टि गर्दछ ।

नीतिले युगको भाका बोल्छ । प्राचीनकालमा नीतिशास्त्रहरूले विश्वास पद्दतिको कुरा बोल्दथे । तीनमा तात्कालिक रणनीति समेत मिसिएको हुन्थ्यो । सामन्तकालमा नीतिले धर्म, राजनीति र सैन्यतन्त्रको कुरा बढि बोलेको पाइन्छ । धार्मिक ग्रन्थहरू (जस्तै मनु स्मृती, चाणक्य नीति र विदुर नीति या अन्य धर्म ग्रन्थ आदि) यस कोटीमा पर्दछन् । बुद्द दर्शन, कौटिल्यको अर्थशास्त्र, कन्फुसियस, शुकरात र प्लेटोका दार्शनिक आधारहरूले विश्वास पद्दतिभन्दा सामाजिक जीवन, राजनीति र अर्थतन्त्रका लागि बाटो देखाएको पाइन्छ । पृथ्वी नारायण शाहको दिब्य उपदेशलाई तात्कालिक नेपालका सन्दर्भमा राजनीति जनजीविकाका समेटेको एक मूल नीति मान्न सकिन्छ ।

यावत कोणबाट एक पत्रकार जोसंग संकल्प छ र आउने सबै चुनौतीहरूको सामना गर्न सक्ने त्यागको भावना छ भने त्यो एक तपस्वीसमान हुन्छ । म फरककोणमा आफै जाँचिनु पर्दा अरुको लागि हावा, वर्तमान समाजसंग अमिल्दो देखिए पनि एक कर्म योगी बन्न प्रयत्नशील छु जस्तो लाग्दछ । मेरा विचार पृथ्वीकालागि हुन्छन् । सिंगो सृष्टिका लागि मैले धेरै रचनाहरू दिएको छु । यो नै एक निर्मल लेखक बन्ने लक्षण हो । त्यसैले सामुदायिक संकल्प पूरा गर्न सबै पत्रकार तथा लेखकहरूले आवश्यक परे जुनसुकै त्याग गर्न पनि पछि पर्नु हुँदैन ।

मृत्युभन्दा पछिल्लो क्षणको दुःख-सुखबारे कसैलाई थाहा छैन । कर्तव्यको सिमा र ज्ञानको सीमाबारे पनि कसैलाई थाहा छैन । त्यसैले यी सबैको मिलनलाई मानिसले लिने संकल्पले नै साश्वत बनाउन सक्दछ । यो कुरा मैले आफैले भोगेर लिएको शिक्षा हो ।

‘आत्मबोध’मा बौद्ध दर्शनको फ्लेवर मात्रै छ भनेर मैले मान्दिनँ । त्यसको बोध सुकरातको कर्मभित्र पनि देख्न सकिन्छ । चाहे पश्चिमा प्राग साहित्य होस् वा पूर्वीय बौद्ध साहित्यको होस् वा क्वान्टम फिजिक्सको, चाहे मनोविज्ञानको होस् वा सनातनी अध्यात्मको, सृजनात्मक आत्मबोधले नै उनीहरूको आविस्कार वा दर्शनलाई उज्यालो दिएका हुन् । मैले ती सबै विषयहरूको मर्मलाई जोडेर मेरो सृजनालाई उपकरण बिम्बको रूपमा प्रयोग गरेको हुँ  । मुख्य काया त सृष्टिप्रतिको समर्पणमै छ  । मेरा सृजनाहरूको प्राण नै हेराइको कोण हो  । सारांशमा भन्दा आत्मबोध हो । अब के-केलाई शक्ति मान्ने र के-केलाई सीमा ? त्यो छुट्याउने जिम्मा पाठकहरूकै !