मेरो मौनता

मेरो मौनता


निकै बेर घोत्लिएर बसेको देखेपछि शायद उनलाई असैह्य भएछ, भान्छाबाट नै कराइन्- ‘हैन के भयो आज ? किन चुपचाप ?’ संधै पतर-पतर गरिरहने बुढाको बोली बन्द भएको मन परेनछ क्या रे ! मलाई बोल्नको लागि उक्साउन थालिन् उनले । ‘हैन मौन ब्रत बसेको हो कि क्या हो ? के त्यो ढुङ्गो जस्तो भएर बसिरहेको ? मैले केही गरेकी छैन, मसँग रिसाएर नबोलेको भनुँ भनेनी !’ उनि भन्दै गइन्- ‘मुर्तिसँग बिहे गरेको भए भैहाल्थ्यो नि बोल्नै पर्दैनथ्यो दुबैलाई। मचाहिँ कराइरहेछु बुढो उत्तर दिने होइन, के भयो भन्दा पनि केहि भन्ने होइन !’ मेरो मौनताले उनको धैर्यतामाथि गहिरो प्रश्न गरिरहेको थियो ।

किन चुप थिएँ म ? कारण त केही थिएन । तर पनि केहीबेर ओठ बन्द नै राख्ने निधो गरेथेँ त्यतिखेर । उनको प्रश्न रोकिएको थिएन, ‘हैन बुढा नबोल्ने निर्णय गरेको हो कि क्या हो ? म मन पर्न छोड्यो अब ?’ उनको कुराले अर्कै बाटो समातेको भान हुन्थ्यो । आवाज पनि ठुलै भएको आभास पाएथेँ मैले, ‘मैले त बिहे भन्दा पहिले नै सोध्या हो नि ! उतिबेला संसारको सबैभन्दा राम्री भन्थ्यो मलाई, तारिफ गरेर नथाक्ने मान्छे। म भनेपछि हुरुक्क हुने अहिले के भयो ? सिधै भन्नु नि बरु सँगै बस्न पुग्यो भनेर, चुपो लागेर यसरि घोत्लिनु भन्दा..।’ उनको बोलाइमा यतिखेर अलि अलि क्रोध मिसिएको थियो । मान्छेको सोच कहाँबाट कहाँ पुग्छ भन्ने कथन मलाइ सार्थक झैँ लागिरहेको थियो ।

केही बेरको मौनतालाई भंग गर्दै सुरु भइन् उनी फेरि- ‘नबोली राख, त्यत्तिकै बस.. मलाइ पनि के.., म पनि बोल्दिनँ ! यसरि नबोली के बस्नु, जान्छु माइत अनि एक्लै जे मन लाग्छ त्यही गर्नु ।’ मलाई भनिन् उनले या आफै भुत्भुताइन् आफ्नै तालमा मलाई निधो गर्न गाह्रो भयो । एक घण्टा पनि त भएको थिएन म चुप रहेको तर उनको अड्कलबाजीले लाग्थ्यो मानौँ म कैयौँ दिनदेखि बोलेको छैन ।

अनायासै उनको स्वरमा परिवर्तन आयो । शान्त, गम्भीर, अनि सहानुभूतिमिश्रित ‘सन्चो भएन कि क्या हो ? मैले पनि सोध्नै बिर्सेछु, हिजो अलि खानपिन बढी थियो, पेट पो दुख्यो कि ?’ केही बेरको हाम्रो आँखाजुधाइपश्चात उनले सोधिन्- ‘औषधि लेराइदिउँ ?’ आहा ! त्यो मायालु सोधाइ, मेरा ब्यवहारले उसलाई आफूप्रति आकर्षित देख्दा मनमनै रमाउन थालेँ म । ‘टाउको दुखेको हो कि ? मालिस गरिदिउँ ?’ म रम्दै थिएँ एकछिनको मौनताले दिएका अवसरहरुमा । अनभिज्ञ पनि थिइनँ म उनको बढिरहेको व्याकुलताबाट । पानीको गिलास मेरो हातमा दिँदै भनिन्- ‘यति पानी पिएर एकछिन पल्टिनु, खाने बेलामा बोलाउँला । भान्छामा तरकारी डढ्न लाग्यो, म गएँ । यहाँ यत्तिकै दलिन हेरेर बसिरहने हैन है।’

केही नभएको मलाई बिरामी बनाइदिइन् उनले । मलाई केही भएको छैन भन्न पनि डर लाग्ने बेला भैसकेको बोध हुन थाल्यो त्यतिखेर । म उत्तर खोज्न थालेँ – ‘के भन्ने, चुप लागेर किन बसेँ ?’ केही थिएन कारण, तर केही भन्न अनिवार्य थियो अन्यथा त्यत्रो बेरको उनको प्रलाप ब्यर्थै जान्थ्यो। म सोच्न थालेँ- ‘टाउको दुखेको भन्नुपर्ला कमसेकम अलि अलि मालिस पनि पाइन्छ !’ फेरि लाग्यो- ‘होइन… नदुखेको टाउकोलाई मालिस गरि-गरि किन दुखाउनु (उनको मालिस नै त्यस्तै हुन्छ त के गर्नु) ? बरु पेट दुखेको भने ठिक हुन्छ ।’ उनले औषधि खान कर गरिन् भने त्यसको असर अर्कै पो पर्ने हो कि !?आफ्नो मौनताले आफैलाई अप्ठेरोमा पारेको महसूस हुँदै थियो । स्वाभाविक थियो मेरो बाक्य फुट्नासाथ पहिलो प्रश्न ‘के भयो ?’ हुनेछ, म के जवाफ दिउँ ?

अनेकौँ प्रश्नहरुमा अल्झिरहेको बेला उनको पुनः आगमन भयो हातमा बेसारपानीको गिलाससहित । ‘ल यो पिउनुस्, सबै ठिक हुन्छ । उहाँ देशका मन्त्रीले त भनिसके, बेसारपानीले कत्रो-कत्रो रोग निको हुने रै छ । यसलाई एकै घुट्कोमा सकाउनु अनि सुत्नु आजलाई। भोलि बिहानसम्म सबै ठिक हुन्छ । आज एक दिन खाना नखाने !’

आफ्नो एकछिनको मौनताले भोकै सुत्नु परेको वेदना कोसँग अब पोख्नु ?!