‘द कमाण्डो’ जसको शरीरकै कारण फिल्म हिट

‘द कमाण्डो’ जसको शरीरकै कारण फिल्म हिट


  • सुरेन्द्र सुवेदी, काठमाडौं

पृष्ठभूमि नै केही फरक । ‘ते क्वान दो’का खेलाडी । त्यो पनि ‘ग्राउण्ड मास्टर ७ डान’ । भीमकाय शरीर । बेलायती सेनामा १५ वर्षको लाहुरे जीवन बिताएका यी राजकुमार राईले अभिनय गरेको चलचित्र ‘द कमाण्डो’ नेपाली चलचित्रमा राम्रो चर्चा कमाउन सफल भयो । २०५५ मा बनेको यो चलचित्र त्यो बेला ‘सुपर हिट’ नै भयो भन्दा अतिरञ्जना नठहरिएला ।

खोटाङको केपीलास गाउँपालिकामा जन्मिएका राजकुमारले द कमाण्डो र त्यसपछि ‘सोल अफ द कमाण्डो’ चलचित्रमा नायकको भूमिका निभाए । माध्यामिक शिक्षा गाउँमै लिएका उनी त्यसपछि भने लाहुरे जीवनतर्फ मोडिए । २०३६ मा बेलायतको सेनामा भर्ना भएका उनले त्यही जीवनमा खेललाई पनि निरन्तरता दिए । अनि, अहिले ते क्वान दो को ७औँ उपाधि हात पारेका छन् ।

खेल जीवनसितै उनले गीत रचना र अभिनयलाई साथै लिएर हिँडेका छन् । रश्मी राई र कमला खापुङ लिम्बूले श्वर दिएको ‘गाउँ घर नै शून्य भो’, राजेशपायल राई र शशीकला राईले गाएको ‘जिन्दगी कति खुसी’ बोलका गीत पनि राजकुमारले नै लेखेका हुन् । सुदूरपूर्वको तेह्रथुम सदरमुकाम म्याङलुङलाई आधार बनाएर लेखिएको ‘म्याङलुङ बजार’ बोलको गीत पनि राजकुमारले नै लेखे । यो गीतमा पनि राजेशपायल र रश्मीले श्वर दिएका छन् । यस्तै दर्जनौँ गीतका सर्जक राईले अभिनय गर्ने गरी लेखन भइरहेको अर्काे चलचित्र पनि आउने तयारीमा छ ।

क्यानडामा बस्दै आएका राजकुमार लेखन, अभिनय र खेलका लागि नेपाल आइरहने गरेको बताउँछन् । राजधानी अनामनगरको युनियन हाउसमा भेटिएका उनले घटना र विचारसित भने, ‘म बाहिर बसे पनि देश देश नै हो, र आफूसित भएको कला आफ्नै देशमा पोख्ने उद्देश्यले आइरहन्छु । यहाँ आएपछि केही न केही त देशको कला क्षेत्रमा योगदान दिएर नै जाने गरेको छु ।’

‘द कमाण्डो’ जेबी राईले निर्देशन गरेका थिए भने सोल अफ द कमाण्डो युवराज राईको निर्देशनमा बनेको थियो । ‘अब बन्न लागेको चलचित्रको छायाङ्कनका लागि र केही आफूले लेखेका गीतको रेकर्डका लागि अहिले निक्कै ब्यस्त भएको छु’– नायक, गीतकार तथा खेलाडी राईले घटना र विचारसित भने ।