सबैले अनुशरण गरुन् विकासको ‘भरत थापा मोडल’ !

सबैले अनुशरण गरुन् विकासको ‘भरत थापा मोडल’ !


भिजन, मिसन अनि देशप्रेम भए जनप्रतिनिधिहरूले जत्ति पनि राम्रो काम गर्न सक्छन् भन्ने एउटा उदाहरण हुन् सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा । भरत थापा मात्र होइन् उनी जस्तै जनस्तरमा सिर्जनशील र देखिने गरी काम गर्ने अरु पनि छन्, धेरैचाहिँ छैनन् ।

राम्रो काम गरेकै कारण भरत थापा पछिल्लो स्थानीय तह निर्वाचनमा दोहोरिए । त्यसरी दोहोरिन उनले जनतासमक्ष भोट माग्न परेन, लोकप्रिय मतसहित जनताले नै उनलाई जिताए ।

मेयरको रुपमा उनको कामको प्रशंसनीय गरिरहँदा उनीमाथि हालै भष्ट्राचारको आरोपमा अख्तियारले अदालतमा हालेको मुद्धा छिपेको छैन । तर, राजनीतिक आग्रह-पुर्वाग्रहमा बाँडिएको देशमा अख्तियारले मुद्धा हाल्दैमा कोही दोषी भइहाल्ने पनि होइन । किनकि प्रमाणित गर्ने निकाय अदालत हो । अदालतले प्रमाणित गरे पक्कै उनले सजाय पाउलान्, त्यो बेग्लै विषय हो । त्यस्तै आरोपमा ललितपुरको गोदावरी नगरपालिकाका मेयर, उपमेयरसहित दर्जन बढीले अदालतमा भष्टाचार मुद्धा परेपछि अदालतबाटै सफाइ पनि पाएका छन् ।

यहाँ उठाउन खोजिएको विषय थापाले मेयरको रुपमा गरेका नवीनतम कामको हो, जसले सरोकारवाला स्थानीय जन-जनमा सकारात्मक उर्जा दिएको छ । निराशाहरू आशामा परिणत भएका छन् । बेरोजगारहरूले रोजगारी पाएका छन् । उद्यम गर्न चाहनेहरूले अवसर देखेका छन् । समग्र नगरको पर्यटन आर्कषणका कारण आम्दानी बढेको देखिन्छ । त्यसमाथि ठाउँकै इज्जत, प्रतिष्ठा र आकर्षण बढेको छ । मेयरको रुपमा थापाले अघिल्लो कार्यकालदेखि नै प्रसंशनीय काम गरेका थिए । उनले गरेको कार्यले देश-विदेश सबैतिर चर्चा समेत पाएको छ ।

कुनै समय (२०५० सालमा) बुढी बागमतिमा आएको बाढीले सर्लाहीको बागमति नगरपालिकाआसपास तहसनहस नै पारेको थियो । बाढीले नदीआसपासका जग्गा-जमिन बगाएर बालुवाको उजाड बगर बनाएको थियो । बस्तीहरू बगेका थिए । बाढीपछि धेरैले जग्गा-जमिन बचेर बसाइँसराइ पनि गरेको स्थानीय सुनाउँछन् । बाढीले खोलावरिपरिका धेरैजसो जमिन बगरमा परिणत भएपछि धेरैको खुशी लुटिएको थियो ।

तर यसबीच खोला किनारलाई ब्यवस्थित तटबन्धन गरिएको छ । बगरमा परिणत भएको उजाड भूमिमध्ये (१२१ विघा जग्गा) मा भब्य ताल बनाइएको छ । सो ताल अवलोकन गर्दा जो-कसैले फेवाताल बिर्सन्छन् । ताल विशाल र सुन्दर देखिन्छ । महाकवि देवकोटाले ‘नेपाल सुन्दर, शान्त र विशाल छ’ भनेर कल्पेका थिए । वास्तवमै महाकविका सुन्दर भाव र उच्च चेतना मेयर थापामा पनि रहेको ताल नियाल्दा महसूस हुन्छ । ताल पुगेपछि जो-कसैले मेयर थापाको तारिफ गर्छन् ।

तालको नाम स्थानीयले नै मेयरको कामलाई सम्मान गर्दै ‘भरत ताल’ राखिदिएको संकथन छन् । ‘भरत ताल’ बनाइनु अघि त्यस ठाउँ झाडी-जङ्गल र बगर थिए रे । तस्करहरूले रुख काटेर बेच्ने धन्दाहरू चल्थे रे । जब भरत थापा मेयरको रूपमा उदाए, त्यसपछि उनले लाखौँ पर्यटकहरू भित्र्याउने, माछा पालन गरेर मनग्य आम्दानी गर्ने, पिकनिक स्पटहरू बनाउने, रमणीय उद्यमहरू बनाउने योजनाहरू बुने । महत्वकाङ्क्षी लक्ष्यसहित ताल बनाउने निर्णय गरे । उनले त्यो काम आफ्नो पहिलो कार्यकालमै लगभग पूरा गरेका थिए । अहिले देशका विभिन्न ठाउँहरूबाट मात्र नभएर भारतलगायत अन्य देशहरूबाट समेत ताल हेर्न पर्यटकहरू आउन थालेको स्थानिय सुनाउँछन् । १२१ बिघा जग्गामा निर्मित सो ताल तराई मधेशकै सबैभन्दा ठुलो ताल भएको बताइन्छ ।

सो ताल बनेसँगै सर्लाहीको बागमती नगरपालिकाको मात्रै नभएर जिल्लाकै आर्कषण बढेको स्थानीयको बुझाइ छ । बसाइँ सरेर गएकाहरू पनि फर्कन थालेका र जग्गा-जमिनको भाउ समेत बढ्दै गएको स्थानीय अटोचालक केदार माझी बताउँछन् । तालले स्थानीय स्तरमा घनिभुत रुपमा रोजगारी सिर्जना गर्दै लगेको अर्का स्थानीय राम माझी बताउँछन् । पर्यटकीय हिसाबका रोजगारीहरू सिर्जना भएका देखिन्छन् । तालवरपर ३०–४० ओटा होटलहरू खुलिसकेका छन् । हाल २५ वटा ‘वोट’ तालमा सञ्चालित छन् । ३ सय रुपैयाँमा ‘वोट’ चढ्ने सुविधाले उनीहरूका आम्दानी उकासेका छन् । स्थानीय अटोचालकहरूले काम पाएका छन् । तालमा माछापालन समेत गरिएकोले नगरपाललिकाको आम्दानी बढ्ने भएको छ । पूर्वपश्चिम राजमार्गको मुल सडकबाट ताल जाने बाटो र तालको वरिपरि पूरै पिच गरिएको छ । सर्सती हेर्दा ‘भरत ताल’लाई एउटा नमुना पर्यटकीय योजनाको रुपमा लिन सकिन्छ ।

सो ताल र तालनजिकै नगरपालिकाले नै बनाएको ‘फन पार्क’ पर्यटकीय हिसाबले अझ उत्कृष्ट छ । कृत्रिम रुपमै ४-५ बर्षमै खडा गरिएको ‘भरत ताल’ र बागमति नदीकिनारैमा ५ बिघा सरकारी जग्गामा बनाइएको ‘फन-पार्क’ देशकै योजनाविदहरूलई चक्मा दिने खालका छन् । विकासका योजना बनाउनेहरूले त्यसलाई एकचोटी अवलोकन गर्नु राम्रै हुनसक्छ ।

भन्नेहरूले सुरुमा विकास बजेट जथाभावी खर्च गऱ्यो पनि भने होलान् । केही गर्न चाहनेको खुट्टा तान्ने र भाँजो हाल्ने त नेपालीहरूको संस्कारै भइसकेका छ । त्यसमाथि विकासका गतिविधिहरू माथि पनि अति राजनीतिकरण गरिने परिपाटी, आफ्नोले गऱ्या ठीक तर अरुले गरेको बेठीक देख्ने स्वार्थी जञ्जालहरूले समाजलाई अधोगतितिर धकेलिरहेको छ ।

त्यसकारण अप्ठेराहरू त पक्कै झेलेहोलान् मेयर थापाले । तर उनको काम नियाल्दा स्यालुट गर्न मन लाग्छ ।

निर्माणमा १ अर्ब बढी खर्च भइसकेको ‘भरत ताल’ बहुउद्देश्यीय योजनाको रुपमा अघि बढाइएको मेयर थापाले बताउँदै आएका छन्, जसले त्यस ठाउँको ठुलो सम्भावना उजागर गरेको छ । बहुउद्देश्यीय परियोजनाअन्र्तगत तालमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न अत्याधुनिक वनभोज स्थल, जंगल सफारी, शिव-पार्वतीको मन्दिरसहित सुमेरु पर्वत, फनपार्क, मिनी क्यासिनो सहितको होटलहरू निर्माण भइरहेको बताइन्छ । बार्षिक ६० लाख पर्यटक आर्कषण गर्नेगरी संरचना निर्माण गरिएको बताइएको छ । अहिले नै तालमा ५–६ सय जनाले रोजगारी पाएका पनि छन् ।

तालले पर्यटकीय रुपमा मधेशको मात्रै नभएर पुरै देशको र अन्तर्राष्ट्रको समेत ध्यान खिचेको देखिन्छ । ताल सामाजिक सञ्जालहरूमा भाइरल हुँदै आएको छ । तालले वर्षेनि ठुलो सङ्ख्या पर्यटक भित्रएर आम्दानी गर्ने अवसरको सिर्जना गरेको छ । उजाड जमिन र खेर गइरहेको खोलाको पानीको सदुपयोग भएको देखिन्छ । ताल बनेसँगै आसपासमा सिंचाइ सुविधा पुग्ने देखिन्छ, त्यसले पर्यावरण संरक्षणमा पनि टेवा पुग्न सक्ला । वृक्षारोपणका कामहरू पनि भएका देखिन्छन् । तालआसपासमा ३० ओटा पिकनिक स्पट, चौतारा र प्रतिक्षालयहरू समेत बनिरहेका देखिन्छन् । पर्यटनको सो महत्वकाक्षी योजनाले अझै पुर्णता त पाइसकेको छैन । पुर्णता पाएसँगै त्यसले सबैको ध्यान खिच्ने सहजै अनुमान लगाउन सकिन्छ । तालका कारण ६ किलोमिटर दुरीमा अवस्थित रौतहटको नुनथर क्षेत्र र सर्लाहीको बागमति-११ मा पर्ने हरिहर क्षेत्रमा घुम्न आउने पर्यटहरू घुइँचो लाग्न थालिसकेको स्थानीय सुनाउँछन् ।

मधेशको उग्रचण्डी ग्रमीबीच स्थानीयले शितल खोज्न अन्त टाढा जानु परेको छैन । साथै मधेशको सौन्र्दय जीवित राख्न तालले ठुलो भुमिका खेलेको देखिन्छ । नगरपालिकाले भरत ताललाई स्वच्छ, सफा तथा हरियाली एवं फुलबारीमय बनाउनुपर्ने आवश्यकता पनि छ । सफा र सुन्दर पनि हुनसक्यो भने सो तालले निकै राम्रो पर्यटकीय हब बन्न सक्छ ।

खोलाको बगर रहेको, उपयोगमा नआएको सरकारी जग्गालाई हिन्दुस्तानमा बगी जाने खोलाको पानी हालेर भब्य ताल बनाइनु र पर्यटकीय हिसाबले हिरा बनाउनु आफैमा एउटा बेजोड काम हो ।

वास्तवमा विकासको ‘भरत थापा मोडल’ नेपालको हकमा सबै ठाउँमा आवश्यक देखिन्छ । तर यहाँ त बहुआयामिक सम्भावनाहरू कोरल्ने विकासको ‘भरत थापा मोडल’ होइन राज्यको अर्बौं राजस्व स्वाहा बनाउने ‘भ्यु टावर मोडल’ को अनुशरण ज्यादा छ । झापाको दमकमा बनेको ३ अर्ब लगानीको ‘भ्यु टावर’ होस् वा देशका हरेक जसो स्थानीय तहमा बनेका होचा-अग्ला ‘भ्यु टावर’हरू हुन्- त्यसले उपलब्धि दिने केही हैन । किनकि नेपालमा भ्यु टावरहरू भन्दा अग्ला पहाड छन् हिमाल छन् । त्यसकारण भ्यु टावरहरूमा हुने लगानी करिव वालुवामा पानी हालेसरह नै हो । हामीलाई चाहिने मेयर भरत थापा मोडल हो, जसले अनगिन्ती रोजगारी, आयआर्जन, आर्कषणहरू सिर्जना गरोस् । युवाहरूलाई देशमै केही गर्न प्रोत्साहन गरोस् ।

भरत थापाले जस्तै हरेक जनप्रतिनिधिहरूले आ-आफ्ना क्षेत्रमा भएका सम्भावनाहरूलाई एकएक गरी चिन्न सक्नुपर्छ । र, त्यसको अठोटका साथ कार्यान्वयन गर्न जरुरी छ । चाहँदामा गर्न सकिन्छ भन्ने उदाहरण भरतले दिएका हुन् । विकास भनेको कछुवा गतिमा होइन खरायो दौडमा हुन जरुरी हुन्छ । जनताले आफ्नै जीवनकालमा सुविधासम्पन्न विकास देख्न र अनुभूत गर्न पाउनुपर्छ । यसर्थ हरेक जनप्रतिनिधिहरूले बागमतीका मेयरबाट सिक्न सकुन् । राजनीति वास्तवमा अरुका लागि, जनताका लागि गरिनु पर्छ । नेताले आफ्नै लागि राजनीति गर्ने होइन । राजनीति विकास र समृद्धि ल्याउने कुरासँग जोडिनुपर्छ । राजनीति भनेको उच्चस्तरको समाजसेवा हो । जसले समाज र राष्ट्रका लागि दिन सक्दछ वा जान्दछ, उसको हो जीवन्त राजनीति । मेयर थापा कुशल राजनीतिज्ञ हुन् असल समाज सेवक हुन् । अरुहरूले उनीबाट सिक्न जरुरी छ ।

उनको नगरपालिकाभित्र सबैजसो ठाँउमा कालोपत्रे भइसकेका देखिन्छन् । सरकारी विद्यालयहरूको गुणस्तर बढाएर विद्यार्थीको भिड लाग्ने बनाएका छन् । स्वास्थ्यक्षेत्रमा पनि उत्तिकै काम गरेको सुनिन्छ । अन्यत्र जता जाँदा पनि आफना जनप्रतिनिधिहरूले काम नगरेका गुनासाहरू सुनिन्थ्यो, तर बागमति नगरपालिका र उनले विकास गरेको पर्यटन गन्तब्य नियाल्दा सबैले मेयर भरतको प्रसंशा गान गाएको पाइयो । अनौठो लाग्यो, मेयर हुन् त भरत थापा जस्ता !