नेपाल पर्यटन बोर्ड : सिइओ जोशीविरुद्ध पूर्वसिइओद्वारा सर्वाेच्चमा मुद्धा

नेपाल पर्यटन बोर्ड : सिइओ जोशीविरुद्ध पूर्वसिइओद्वारा सर्वाेच्चमा मुद्धा


नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका दीपकराज जोशीविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा परेको छ । यसअघिका सिइओ धनञ्जय रेग्मीले आफूलाई सिइओ नबनाएको भन्दै सर्वाेच्चमा मुद्धा दायर गरेका हुन् ।

गत बिहीबार बोर्ड सञ्चालक समिति बैठकले जोशीलाई सिइओमा नियुक्त गरेको थियो । यसअघिका सिइओ रेग्मीले बोर्डमा ‘बेथितिको चाङ’ नै लगाएका थिए । रेग्मीको मनोमानीले पर्यटन क्षेत्रको विकासका लागि योगदान दिनुपर्ने बोर्ड आफू र आफ्ना मतियारलाई पोस्नमै मस्त भएको भन्दै चौतर्फी विरोध हुने गरेको थियो ।

तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईलाई ‘चढाएर’ कार्यकारी अधिकृत नियुक्ति पाएका रेग्मीको अनियमितताले परकाष्टा नाघेपछि छानविन आयोग नै बन्यो र, त्यो आयोगले उनलाई अवकास दिने निर्णय गरेको थियो । तर, रेग्मी अदालत गए र स्टे अर्डर लिइ पुनः बहाली भएका थिए । त्यसपछि उनको अनियमतिता थप बढेको थियो ।

रेग्मीले काठमाडौंको चन्द्रागिरीमा भौगोलिक सम्मेलनको नाममा २० लाख रुपैयाँ खर्च गरेका थिए । उनै रेग्मीले पर्यटनसित मेल नै नखाने भौगोलिक सम्मेलनको नाममा पोखरामा पनि ६० लाख रुपैयाँ खर्च गरेका थिए ।

उनको गत माघ १५ गते कार्यकाल ४ वर्ष पूरा भएको थियो । त्यसपछि सिइओ नियुक्ति प्रकृया सुरु भएको र बोर्डले जोशीलाई सिइओ नियुक्ति गरेको हो ।