पछिल्लो समय विशेष चर्चामा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) श्यामलाल ज्ञवालीलाई आज सेवाबाट (२५ भदौ) विदाई गरिएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उमेर हदबाट सेवा निवृत्त भएका एआइजी ज्ञवालीलाई बिदाइ गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक कुँवरले सङ्गठनबाट सुम्पिएको जिम्मेवारी ज्ञवालीले उच्च व्यावसायिकता, सङ्गठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका काम गरेको अभिव्यक्ति दिए ।
अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्तिसुरक्षा व्यवस्थापन, नीतिनिर्माण, सङ्गठनिक सुदृढीकरणका साथै सङ्गठनको रणनीतिक कार्ययोजना कार्यान्वयनमा ज्ञवालीले अतुलनीय योगदान पुऱ्याएको भनी प्रशंसा गर्दै महानिरीक्षक कुँवरले ज्ञवालीलाई मायाको चिनो पनि प्रदान गरे ।
सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले आगामी दिनमा पनि सङ्गठनलाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।
ज्ञवाली विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भइ प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी दर्जागत उमेरहदका कारण भदौ २६ गते सेवानिवृत्त हुन लागेका हुन् ।
प्रतिक्रिया