- द्रोण अधिकारी, भद्रपुर (झापा)
दक्षिणी झापाको कचन कवल-३ मा रहेको दुर्गाभिट्टा सामुदायिक वन समूहले जलथल वनमा रहेको जैविक विविधताको संरक्षण गर्दै घाइते वन्यजन्तुको पालनपोषण समेत गर्दै आइरहेको छ । वि.सं. २०५८ देखि सरकारी स्वामित्वको जलथल वनको २५४ हेक्टर क्षेत्र समुदायमा ल्याएर मासिन लागेको जैविकता र लोपोन्मूख जनवारको संरक्षण गर्दै हरित आन्दोलन चलाइरहेको वन समूह दुर्गाभिट्टा सामुदायिक वन हो ।
उच्च पहाडी भेगदेखि समथल तराइको हावापानीमा पाइने १५० बढी प्रजातिका काठ-दाउरायोग्य रूख-विरूवा तथा ५५० बढी वनस्पतिका प्रजातिको सामूहिक स्वरूप रहेको जलथल वनको दक्षिणी अवशेषमा अवस्थित दुर्गाभिट्टामा भण्डै सय प्रजातिका काठ-दाउरायोग्य रूख-विरूवा पाइने गर्छन् ।
उच्च पहाडमा पाइने कटुस, चिलाउनेदेखि सन्सारमै लोप हुन लागेको साइकस प्रजातिको कलवलसम्मका वृक्ष यस वनक्षेत्रमा पर्याप्त पाइन्छन् ।
समितिका संस्थापक अध्यक्ष भीमप्रसाद लुईंटेलले दिएको जानकारीअनुसार वन समूहमा आउनुअगाडि रूख गन्नसक्ने झारपातको घेरामा सीमित थियो भने २५ वर्षको अभियानमा रैथाने प्रजातिका विरूवा हुर्किएर छिर्न नसक्ने पट्टेर भइसकेको अवस्था छ । लुईंटेलका अनुसार २५ वर्षअगाडि हरिण, मृग, बँदेल, हात्ती लगायतका जनवार निकै कम देखिन्थे, तर अचेल जताततै देख्न सकिने अवस्था छ ।
चारकोशे झाडीको एउटा सानो अवशेषका रूपमा रहेको जलथल वन नेपालको सुदूरपूर्वको एकमात्र जैविक विविधता बोकेको प्राकृतिक सम्पदा मानिन्छ । पूर्वी दक्षिणी झापाको भद्रपुर, कचनकवल, हल्दिवारी तथा बाह्रदशी गाउँपालिकाको सिमानासित गासिएको यस वनभित्र पाइने जैविकताको संरक्षणका लागि स्थानीय सरकार मुख्य जिम्मेवार हुनुपर्ने थियो । तर स्थानीय उपभोक्ता समितिका अनुसार सरकारी तवरबाट जलथल वनको संरक्षणमा खासै लगानी गरिएको छैन । यसको एउटा ज्वलन्त उदाहरण दुर्गाभिट्टा वनले घाइते अवस्थामा फेला परेका हरिण तथा मृग र निल गाईलाई उपचार र खानपान आफ्नै प्रयासमा गरिरहेको छ । स्थानीय सरकारसित घाइते वन्य जन्तु राख्न सुरक्षित टहरा बनाइ दिन माग गर्दा सुनुवाइ नभइ वर्षौं बितिसकेको छ ।
नेपालमा रहेको वनक्षेत्रमध्ये विरलै मानिएको जैविक विविधताको वृहद स्वरूप भएको एक मात्र वन क्षेत्रभित्र जलथल वन पर्दछ । एशिया माहादेशमा रहेका वनहरू मध्येमा अधिक जैविक विविधता संरक्षित भएको मानिएको जलथल जंगल पछिल्ला वर्षहरूमा वनमारा प्रजातिका लहराले घेरेर संकटमा पर्दै गएको छ । यस्तो संकटसित पनि वन समिति एक्लै लड्नुपर्ने बाध्यता रहेको गुनासो आइरहेको छ ।
वनभित्र रहेका पानीका मुहान सुक्दै जाँदा जलचर तथा स्थल प्राणीको आहारा व्यवस्थापनमा पनि संकट पैदा भइरहेको छ । यस वनमा रैथाने रूपमा बस्न थालेका झापाका दर्जनौं हात्ती आहारा र पानीको अभावकै कारण आसपासका गउँ बस्तीमा पसेर अन्न बाली नष्ट गर्ने तथा जनधनको क्षति गर्ने क्रम बढिरहेको छ । मिचाहा प्रजातिका झार तथा लहराका कारण चरिचरण अभावमा परेका हात्ती, मृग, बँदेल, निलगाई लगायत स्थल प्राणी संकटको सामना गरिरहेका छन् । यी जनवार गाउँ बस्तीमा पसेर अन्न बाली खान थालेपछि अन्न बाली जोगाउने क्रममा किशान र जंगली जनावारबीच द्वन्द्व हुँदा मानिस र जनवार दुवै पक्षको ज्यान जाने अवस्था बढिरहेको छ ।
वनसम्बद्ध विज्ञहरूका अनुसार जलथल वन क्षेत्रमा १७० किसिमका चरा, १५० किसिमका पुतलीहरू रहेका छन् । सरिश्रिप प्रजातिअन्तर्गत अत्यन्त विषालु गोमन, करेत सर्पदेखि अजिङ्गरका ठूला-साना प्रजातिसम्मको बसोबास रहेको पाइन्छ । यस्तै गोहोरो, सुनगोहोरो, भानेमुंग्रो, छेपारो तथा शालकसम्मका प्रजातिको पनि बासस्थानका रूपमा जलथल वनको पहिचान रहेको छ । त्यस्तै कटुस, लटहर, बेत, सतिसाल जस्ता दुर्लभ वनस्पति, बदेल, हरिणजस्ता वन्यजन्तु यस वनको रैथाने प्रजातिमा पर्दछन् । केही वर्षयता सालक, बाँदर जस्ता वन्यजन्तुको संख्या कम हुँदै गएको छ । यी सवै अवस्था सम्झेर दुर्गाभिट्टा सामुदायिक वन समूहले रैथाने वन संरक्षण गर्दै रैथाने वन्य जन्तुको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
जलथल जंगललाई हात्ती करिडोरको रूपमा विकास गर्न सकिने संभावना देखिन्छ । हात्तीका लागि उपयुक्त हावापानी भएको यस वनमा झापामा आइपुग्ने भारतीय क्षेत्रका पाहुना हात्ती समेत बास बस्न आउने गरेका छन् । ६१०० हेक्टरमा फैलिएको जलथल वन भित्र २२ वटा वन समूहहरू रहेका छन् । यी समूहहरूले रूख जोगाएका भए पनि जैविकता बचाउन भने सकेको अवस्था छैन । पछिल्लो पटक २२ वटा समूह मध्येमा रहेको दुर्गाभिट्टा सामुदायिक वन समूहले जैविकता बचाउने अभियान चलाइ रहेको छ । स्थानीय प्रजातिभन्दा अन्य आयातित प्रजातिका रूख रोप्न नहुने अभियान चलाएर रैथाने वन जोगाउने कार्य समितिले गर्दै आइरहेको छ ।
यस अभियानसित समूहले अप्ठ्यारोमा परेका वन्य जन्तु बचाउने काम पनि गरिरहेको छ । अहिलेसम्म १४ वटा घाइते तथा अशक्त मृगको उद्धार गरेर उपचार गर्दै संरक्षण गरेको वन समूहले ४ वटा मृग बचाएर पनलेको छ भने बिचमा एउटा त्यही वन समूहमा संरक्षित माउबाट जन्मिएर ५ वटा रहन पुगेका छन् । त्यस्तै एउटा निल गाई पनि संरक्षण गरेर समूहले पालिरहेको छ । ती वन्य जन्तुको रेखदेख र खानपानका लागि समूहले आफ्नै लगानीमा दुईजना हेरालुलाई पूर्ण रोजगार दिएर राखेको छ । उनीहरूले घाँसपानी दिँदै रेखदेख गरिरहेका छन् ।
रकम अभावले संरक्षणमा रहेका वन्य जन्तुका लागि घामपानीबाट जोगाउन व्यवस्थित टहरो भने बनाउन नसकिएको उपभोक्ता केशव कौशिक बताउँछन् ।
हेरालु मदन दर्जीका अनुसार घाँसका अलावा महिनामा एक बोरा चोकर तथा मकैको पिठो संरक्षित गरेर राखिएका वन्य जन्तुलाई खुवाइने गरेको छ । त्यसका लागि लाग्ने खर्च समितिले नै धान्नु पर्ने बाध्यता छ । सरकारी पक्षलाई काठ दाउरा उपभोग वापत वार्षिक लाखौं राजश्व तिर्ने वन समितिलाई राज्य पक्षले स्तर उन्नतिका लागि लगानी भने नगरेको समितिका पदाधिकारीको गुनासो छ ।
प्रतिक्रिया