एमाले सचिवालय बैठक : वार्षिक कार्ययोजना पारित

एमाले सचिवालय बैठक : वार्षिक कार्ययोजना पारित


नेकपा (एमाले)ले वार्षिक कार्ययोजना पारित गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार (२८ भदौ) बसेको सचिवालय बैठकले पोलिटब्युरो बैठकले दिएको सुझावका आधारमा कार्ययोजना पारित गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।

नेता पोखरेलका अनुसार कार्ययोजनामा विभिन्न १८ वटा विषय समेटिएको छ । पार्टी सदस्यता नवीकरण र अभिलेखीकरण, नियमित अधिवेशन, बाँकी रहेका जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने विषय कार्ययोजनामा समेटिएको छ । सबै तहको अधिवेशन मङ्सिर मसान्तभित्र सम्पन्न गरिसक्ने गरी योजना बनाइएको उनले बताए ।

पार्टी प्रवेश गरेका र विभिन्न कमिटीबाट बिदा भएकालाई तीन महिनाभित्र जिम्मेवारी दिइने कुरा कार्ययोजनामा उल्लेख गरिएको छ । यस्तै पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनका लागि विधि बनाइएको छ । पार्टी एकता कसरी निमार्ण गर्न सकिन्छ भन्ने कुरालाई आधार बनाएर कार्ययोजना बनाइएको महासचिव पोखरेलको भनाइ छ ।

पार्टी स्कुल अभियानको रुपमा सञ्चालन गर्ने र प्रत्येक वर्ष पार्टीका सदस्यले अनिवार्य रुपमा कुनै न कुनै तहको पार्टीको स्कुलमा सहभागि भई प्रशिक्षित हुनुपर्ने विषय कार्ययोजनामा उल्लेख गरिएको छ । कार्ययोजनामा सरकारले गरेका कामलाई जनस्तरमा लैजाने र पार्टी कार्यालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने जोड दिइएको छ ।

photo: rss