राप्रपाद्वारा चालिस वर्षमुनिका २० जना युवा पार्टीको केन्द्रीय सदस्य पदमा छनोट

राप्रपाद्वारा चालिस वर्षमुनिका २० जना युवा पार्टीको केन्द्रीय सदस्य पदमा छनोट


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन राप्रपा कार्ययोजनाअन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेअनुसार मंगलबार (१ असोज) २० जनालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको छ ।

वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा छनोट समिति गठन गरी छनोटको विभिन्न मापदण्डका आधारमा लिइएको अन्तर्वार्तापछि समितिले १० जना पुरुष र १० जना महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पुरुष १० जनातर्फ दार्चुलाका अशोकसिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौंका विनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका इञ्जिनियर गोपीकृष्ण चौलागाईं, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीतकुमार मिश्र, काठमाडौंका समीर शर्मा र युके प्रवासका डा. डेभिड थापा रहेका छन् ।

यसैगरी, महिला १० जनातर्फ धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा, सुनसरीकी नजियाँ खातुन मियाँ, ललितपुरकी इञ्जिनियर सजिना कार्की, सल्यानकी अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी इञ्जिनियर दीपा श्रेष्ठ, मिस नेपाल वर्ल्ड २०२४, काठमाडौंकी आश्माकुमारी केसी र हुम्लाकी तारा जैसी रहेकी छन् ।