नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न- ‘पुँजीबजार किन अस्थिर भइरहेको छ ?’

नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न- ‘पुँजीबजार किन अस्थिर भइरहेको छ ?’


उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् ।

आज (२ असोज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुगेका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै कारोबार रकम र नेप्से परिसूचकमा देखिएको अस्थिरता बारे चासो व्यक्त गरे ।

‘केही समयअघि मात्र नेप्से परिसूचक तीन हजार अङ्कभन्दा माथि र कारोबार रकम रु ३० अर्ब हाराहारी पुगेकोमा अहिले परिसूचक दुई हजार पाँच सय ७० हाराहारी र कारोबार रकम रु ५/६ अर्बमा खुम्चिएको छ’, अर्थमन्त्री पौडेलले भने, ‘किन यस्तो भइरहेको छ भन्नेबारे शीघ्र र स्पष्ट जवाफ खोजौँ ।’

वर्तनमान सरकार गठन भएपछि राजनीतिक स्थिरताको सन्देशसँगै पुँजीबजारमा पनि सुधार देखिएको भए पनि अहिले फेरि बजार घट्दै जानुको कारणबारे अर्थमन्त्री पौडेलको चासो थियो । “स्थिर र बलियो सरकार छ । बैंक वित्तीय संस्थामा ब्याजदर घटेको छ, तर तीन हजारको बिन्दुसम्म पुगेको बजार टिक्न सकेन, यस्तो किन भइरहेको छ भन्ने जवाफ चाहन्छु”, उनको भनाइ छ ।

अर्थमन्त्री पौडेलले पुँजी बजारलाई दिगो, विश्वसनीय र प्रविधिमैत्री बनाउन सुधारका थप क्रियाकलाप अघि बढाउन निर्देशन दिनुका साथै पुँजीबजारमा हुने इन्साइडर ट्रेडिङजस्ता अवाञ्छनीय गतिविधि रोक्नका लागि चनाखो हुन पनि उनले नेप्सेलाई निर्देशन दिए ।

अर्थमन्त्री पौडेलसँगै राजस्व सचिव दिनेशकुमार घिमिरे, नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बराल, अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्यलगायतको टोली नेप्सेको कार्यालयमा निरीक्षण लागि पुगेको थियो ।

पुँजीबजारको विद्यमान अवस्थाको जानकारी, नेप्सेले गरिरहेका काम कारबाही तथा सुधारका लागि थाल्नुपर्ने पहलका विषयमा कर्मचारीसँग छलफलपछि राजस्वसचिव घिमिरेले पुँजीबजार सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । नेप्सेको आन्तरिक संरचनामा सुधार, दक्ष कर्मचारी व्यवस्थापनलगायतका काममा प्राथमिकतामा रहने उनको भनाइ छ ।