पठन संस्कृतिको विकास गर्न विषेश पुस्तक प्रर्दशनी

पठन संस्कृतिको विकास गर्न विषेश पुस्तक प्रर्दशनी


पठन संस्कृतिको विकास गर्ने उद्देश्यले साझा प्रकाशन शाखा राजविराज (सप्तरी)ले असोज २ बुधबारदेखि विषेश पुस्तक प्रर्दशनी शुरु गरेको छ । प्रर्दशनीको उद्घाटन मधेश प्रदेशका सांसद एवम् प्रदेशका पूर्व शिक्षामन्त्री महेशप्रसाद यादवले गरेका छन् ।

प्रर्दशनीको उदघाटन गर्दै सांसद यादवले प्रर्दशनीबाट जिल्लाको शैक्षिक गुणस्तर सुधारमा मद्दत पूग्ने धारणा ब्यक्त गरे । आमनागरिकको घर घरमा पुस्तक जाने र पढ्ने बानीको विकास हुनुका साथै दबिएर रहेका विशिष्ट सम्पदा र बौद्धिक सम्पतिको संरक्षणका लागि पनि यस्ता प्रर्दशनी आवश्यक रहेकोमा उनले जोड दिए ।

पठन संस्कृति हराउँदै गएको वर्तमान समयमा पुस्तक प्रर्दशनीले ठूलो योगदान पु¥याउने भन्दै यादवले यस्ता प्रर्दशनीमा विद्यार्थीको सहभागिता बढाउन सके झनै राम्रो हुने र यसका लागि शिक्षक र अभिभावकले पनि भुमिका खेल्नुपर्नेमा जोड दिए ।

जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका यादवले बेला बेलामा पुस्तक प्रर्दशनी हुनु सकारात्मक रहेको र यसले विद्यार्थीमा ज्ञानबृद्धि हुनुका साथै लेखकको पहिचान स्थापित गराउन समेत योगदान गर्ने बताए ।

साहित्यकार, पत्रकार, शिक्षासेवीसहित सर्वसाधारणको शेयर रहेको साझा प्रकाशनले प्रत्येक वर्ष विजयादशमीको अवसर पारेर विशेष छुटमा बृहत पूस्तक प्रर्दशनीको आयोजना गर्दै आएको साझा प्रकाशन राजविराज शाखाका प्रमुख मनोज कुमार माझीले बताए । यही असोज १५ गतेसम्म चल्ने प्रर्दशनीमा विभिन्न विधाका ६ हजार थान पुस्तक राखिएको छ । उक्त पुस्तकको मूल्यमा २० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको माझीले बताए ।