पुडासैनी आत्महत्या प्रकरणमा बचेका व्यक्ति सहकारी काण्डमा पनि उम्केलान् ?

पुडासैनी आत्महत्या प्रकरणमा बचेका व्यक्ति सहकारी काण्डमा पनि उम्केलान् ?


भनिन्छ नि, ‘झुठ टिक्दैन, सत्य डग्दैन !’ झुठको खेती कुनै न कुनै दिन उजागर हुन्छ नै । पत्रकार शालिकग्राम पुडासैनीले आत्महत्या गर्नुअगाडि एउटा भिडियो बनाएर रवि लामिछानेको असली अनुहार राज्य र जनताको सामुन्ने ल्याइदिएका थिए । मिडियाकर्मी बनेर रविले गरेका गलत कर्म र उनलाई मर्न बाध्य बनाइएका विषयबारे उनले सो भिडियोमा बोलेका छन् । उनी ‘बेग्लै’ प्रवृत्तिका व्यक्ति हुन् भनेर पुडासैनीले त्यतिबेलै राज्य र जनतालाई सचेत गराइदिएका थिए । तर, उनको कुरा कसैले पत्याएन, जुन आज सत्य सावित हुँदै गएको छ । रविका कारण मर्न बाध्य भएको भन्दाभन्दै पनि अदालतले सफाइ दियो । प्रमाणलाई कागजको खोस्टो बनाइयो । पत्रकार पुडासैनीको केसमा अनुसन्धान गर्न उनलाई हिरासतमा राख्दा चितवनका स्थानीयवासी रविको समर्थनमा उत्रिए ।

कसैको छोरा, कसैको श्रीमान् मरेको छ भन्ने चितवनबासीले सोचेनन् । छानबिन नै प्रभावित हुनेगरी उनीहरुले रविको पक्षमा आवाज उठाइदिए । अन्ततः रविलाई सफाइ दिइयो । २०७९ मंसिर ४ गते चितवनका जनताले उनैलाई निर्वाचित गरेर सदनमा पनि पठाए । उनको नागरिकता र राहदानी काण्ड शुरु भयो । दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले उनको पद खुस्काइदियो ।

२०८० वैशाख १० गते त्यहाँ पुनः निर्वाचन भयो । चितवनका स्थानीयले फेरि पनि उनैलाई जिताएर पठाए । पुनः चितवन निर्वाचन क्षेत्र नम्बर २ मा चुनाव गराउनुपर्ने अवस्था आउने देखिएको छ । सहकारी छानबिनसम्बन्धी संसदीय छानबिन विशेष समितिले उनलाई कारबाहीका लागि सिफारिस गरेको छ । सहकारीको पैसा मिडियामा ल्याएर अपचलन गरेकोमा दोषी ठहर गर्दै समितिले कारबाही गर्न भनेको हो ।

उनमाथि कारवाही हुने निश्चय नै छ । उनी कारबाहीमा परेपछि त्यहाँ फेरि निर्वाचन गराउनुपर्छ । जनताले तिरेको कर बारम्बार ‘वालुवामा पानी’ भएको छ । यता, चितवनबासीले पनि पटक-पटक दुःख पाउनुपरेको छ । पत्रकार पुडासैनीको जन्मथलो नुवाकोट र कर्मथलो काठमाडौं भएपनि चितवनमा गएर आत्महत्या गरेका थिए । उनी पनि नेपाली नागरिक थिए ।

नेपालको संविधानले त उनलाई पनि बाँच्ने अधिकार दिएको थियो । तर, रविले बाँच्न दिएनन् । रविलाई कारबाही गर्नुपर्छ, पुडासैनीलाई न्याय दिनुपर्छ भन्नुको साटो चितवनबासी रवि बचाउन सडकमा उत्रिए । अब पनि उत्रिन्छन् कि !? किनकि, उनीसहितले लाखौं बचतकर्ताको ६५ करोड रुपैयाँ अपचलन गरेको पुष्टि भएको छ । देशभरका जनताले चितवनबासीलाई सोध्छन्, ‘तपाईंहरूले कस्तो व्यक्तिलाई मतदान गर्नुभएछ ?’

रवि एकपछि अर्को गर्दै विभिन्न काण्डमा मुछिएका छन् । एउटा काण्ड सेलाउन नपाउँदै अर्को सार्वजनिक भइहाल्छ । जतिपटक बचेपनि कसूर गर्ने व्यक्ति कुनै न कुनै दिन कानुनको कठघरामा उभिनैपर्छ । रविको हकमा पनि त्यही भएको छ । उनी पटकपटक उम्किए, अब उम्किएलान् जस्तो देखिन्न । पुडासैनीकै केसमा रविलाई त्यतिबेलै कारबाही गरेको भए न चालक मर्थे, न लाखौँ बचतकर्ताको घरबास उठ्थ्यो, न बारम्बार चुनाव गराउनुपर्थ्यो !

जनताले तिरेको कर अर्बौं रुपैयाँ खर्च भइसक्यो । यसको जिम्मा कसले लिने ? कसैले लिनुपर्ला नि ? अब पनि रविलाई कारबाही गर्नुहुन्न भनेर जनता सडकमा आउँछन् कि ? पावर र पैसाको आडमा जोगिएका रविले अब उल्टो गिन्ती शुरु गरे हुन्छ । ढिला भएपनि पुडासैनीको आत्माले शान्ति पाउने भयो । मर्ने बेलामा कसैले पनि झुठ बोल्दैन । अगाडि मृत्यु देखेका व्यक्ति किन डराउने ?

तर, त्यतिबेला सबैलाई पुडासैनी झुठ्ठो लागे । रविलाई फसाउन खोजियोसम्म भनियो । मिडियाहरू रविको पक्षमा लागे । अझैपनि लाग्छन् कि ? एउटा व्यक्तिले मर्दाखेरि बनाएको भिडियोलाई ‘फेक’ साबित गराइयो । उनले पावर र पैसाको अगाडि प्रहरी प्रशासन र अदालत डगमगायो । बुढापाकाले भन्थे- बाउबाजेले गरेको अपराध तीन पुस्तासम्मले भोग्नुपर्छ ।

रविले त आफ्नै पालामा भोग्ने भए । बुढापाकाले भन्न त अरुको आँशु पनि लाग्छ भन्थे । पुडासैनीलाई न्याय दिनुपर्छ भनेर त्यतिबेला कुनै नागरिक समाज, अभियन्ता, संघसंगठनहरु बोलेनन् । किनकि उनी त गरिब परिवारमा जन्मिएका थिए । सामान्य कृषि पेशा गरेर उनको परिवारको गुजारा चल्थ्यो । आफ्नो छोरा बित्दा ती बुबाआमाको मनमा के बित्यो होला ? कसैले सोचेन ।

त्यतिबेला रवि सही हुन् भन्ने व्यक्तिहरु नै आज रविलाई कारबाही हुनुपर्छ भनेर बोलिरहेका छन् । सरकारले पनि उनलाई कारबाही गर्न प्रक्रिया अगाडि बढाइसकेको छ । ‘अपराध’ गर्नेहरु ढिलोचाँडो कानुनको कठघरामा उभिनैपर्छ । रात रात नै हुन्छ, दिन दिन नै छ । दिनलाई रात बनाउन खोज्नेहरु कतिञ्जेल बच्छन् ? कुरा यति हो कि जनताको आँखामा पर्दा हाल्न सक्दासम्म जोगिन्छन् । पर्दा उत्रिनेबित्तिकै जनताले कारबाहीको आवाज उठाउँछन् ।

विगतमा देशको राजनीतिक परिवर्तन गर्दा रविको कुनै योगदान थिएन । हुन त उनी अर्काले तयार पारिदिएपछि गएर फाइदा उठाउने स्वभावका हुन् । नेपालमा बस्न असुरक्षित हुन्छ भनेर २०५८ सालमा उनी अमेरिका पुगे । अमेरिकी नागरिक बने । घरायसी कारणले उनी २०७१ सालमा नेपाल फर्किए, त्योपनि ‘भिजिट भिसा’मा । अमेरिकी नागरिक बनिसकेका उनले कानुनको चरम उल्लङ्घन गरे । उनको पुरानो नागरिकता खारेज भइसकेको थियो, तर त्यही नागरिकताको दुरुपयोग गरे । नेपालको कानुनलाई त उनले धोती लगाइदिए ।

टेलिभिजनमा काम गरे । उफ्री-उफ्री चिच्याउँथे । टिभी कार्यक्रममार्फत् अर्कालाई नियम-कानुन र संविधान सिकाउँथे । जनताको कुरा उठाएजसो गरेर उनले एउटा प्रभुत्व जमाए । जनताको विश्वासको यसरी नाजायज फाइदा उठाउँछन् भन्ने कसलाई के थाहा ? जनताकै आडमा उनले जनतालाई ठगे । उनी कस्ता व्यक्ति रहेछन्.. सबैले देखिहाले !

एउटा व्यक्तिले जनतादेखि लिएर राज्यसम्मलाई क्षति पुग्यो । नेपाली जनता सीधा छन् । कसैले दुई शब्द मिठो बोलिदियो भने विश्वास गरिहाल्छन् । हाम्रो आवाज उठाइदियो भनेर मख्ख पर्छन् । तर, उनीहरुको स्वार्थ बुझ्दैनन् । नेपालीको सोझोपनको फाइदा धेरैले उठाइसके । यो-त्यो गर्छु भन्छन्, पदमा पुग्छन्, धोका दिन्छन् । तैपनि हामी पुनः विश्वास गर्छौं ।

हामी पढेका व्यक्तिले अनपढझैँ बनिदिँदा रविजस्ता केही बाठाटाठाले फाइदा उठाए । जनतालाई आफूमाथि पुग्ने भऱ्याङ बनाए । रविको घटनाबाट सबैले के बुझ्नुपर्छ भने सँधै सत्यको जीत हुन्छ । चाहे त्यो ढिलै होस् । कुनै व्यक्ति सत्य छ भने त्यो वर्षौंपछि पनि बाहिर आउँछ । त्यतिबेला रविको पावरमा दबिएको पत्रकार पुडासैनीको मुद्दा अब कुनै अधिवक्ता, नागरिक समाजले ब्यूँताइदिन्छन् कि । कसैले पहल गरिदिन्छन् कि ।

नेपाली आमाको कोखबाट जन्मिएको व्यक्तिले नेपाली कानुनअनुसार न्याय पाउनुपर्छ । कानुन सबैलाई बराबर लाग्छ । त्यस्तै मुद्दामा कोहीले सजाय पाउने र कोही उम्किने नहोस् । त्यतिबेला एकको दोषी रवि अहिले लाखौं बचतकर्ताको दोषी बनेका छन् । कानुनको उपहास गर्नेलाई सरकारले कारबाही गरेरै छाडोस् । ‘निर्दोष नफसोस्, अपराधी नउम्कियोस्’ भन्ने नीतिमा सरकार कतिको उत्रिँदो रहेछ ? हेर्न बाँकी छ ।