मोदी-ओली ‘साइडलाइन’ वार्ताको समय निश्चित

मोदी-ओली ‘साइडलाइन’ वार्ताको समय निश्चित


संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच साइडलाइन वार्ता हुने निश्चित भएको परराष्ट्र मन्त्रालयसम्बद्ध सुत्रले जानकारी दिएको छ ।

दुई प्रधानमन्त्रीबीच भेटवार्ताका लागि विभिन्न कोणबाट पहल भएपनि निश्चित हुन सकेको थिएन । तर, शुक्रबार भारतीय पक्षबाट द्विपक्षीय भेटवार्ताका लागि मोदी तयार रहेको सन्देश दिइएको छ । बताइएअनुसार प्रधानमन्त्री केपी ओली र समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कको स्थानीय समयअनुसार आइतबार साँझ ५ बजे साइडलाइन भेटवार्ता हुने भएको छ ।

ओली-मोदी साइडलाइन भेटवार्ताको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री डा. आरजु राणालगायत परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुले निकै कसरत गर्नुपरेको बुझिएको छ । केपी ओली चौथो पटक प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पहिलो भेटवार्ता हुन लागेको हो ।

यसै सिलसिलामा अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् । मोदी-बाइडेन भेटमा अमेरिकाले अमेरिकामा रहेका भारतका २९७ बहुमूल्य पुरातात्विक बस्तुहरू भारतलाई हस्तान्तरण गर्ने भएको छ । यी बस्तु तस्करी र अन्य गैरकानूनी माध्यमबाट अमेरिका पुगेको बताइएको छ । यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् । यो जानकारी प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट एक्समा पोस्ट गरेका छन् ।

अमेरिकी राष्ट्रपतिसँगको तस्बिर सेयर गर्दै प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘सांस्कृतिक सम्बन्ध र सांस्कृतिक सम्पदाको अवैध तस्करीविरुद्धको लडाइलाई बलियो बनाइँदैछ । भारतमा २९७ अमूल्य पुरातात्विक वस्तुहरू फिर्ता सुनिश्चित गरेकोमा म राष्ट्रपति बाइडेनप्रति धेरै आभारी छु ।’