नेपालको धार्मिक मूल्य-मान्यता : हिन्दूराष्ट्र र राजसंस्थाको अन्त्य, राजनीतिक षड्यन्त्र र भविष्यको मार्गचित्र

नेपालको धार्मिक मूल्य-मान्यता : हिन्दूराष्ट्र र राजसंस्थाको अन्त्य, राजनीतिक षड्यन्त्र र भविष्यको मार्गचित्र


नेपाल संसारकै एकमात्र हिन्दू राष्ट्र थियो, जो आफैंमा धर्मनिरपेक्ष जस्तै थियो । सबै धर्मालम्बीहरू एकापसमा मिलेर बसेका थिए । धर्मको आधारमा नेपालमा कुनै त्यस्तो अप्रिय घटना घटेका थिएनन् । तर, यस्तो देवभूमि र पुण्यभूमिबाट हिन्दू राष्ट्र किन समाप्त भयो ? यसको पछाडि एउटा डरलाग्दो कथा छ । त्यो कथामात्र नभएर ठूलो षड्यन्त्र थियो । एउटामात्र हिन्दूराष्ट्र कसरी हिन्दूराष्ट्र रहेन ? कसरी त्यहाँ गणतन्त्र आयो ? कसरी राजतन्त्र समाप्त भयो ?

धार्मिक मूल्य र मान्यता कुनै पनि समाजको नैतिकता, सामाजिक आचरण, र सांस्कृतिक पहिचानको आधार हुन् । नेपाल जस्तो धार्मिक विविधताले भरिएको मुलुकमा यी मूल्यहरूले शान्ति, स्थिरता र एकतालाई कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । विशेष गरी हिन्दू धर्मका मूल्य र मान्यताहरू, जसले सदियौंसम्म नेपाली समाजलाई नैतिक र आध्यात्मिक मार्गदर्शन प्रदान गरेका छन्, जसले अहिले धेरै चुनौतीहरूको सामना गरिरहेका छन् । नेपालमा धर्मको स्थानलाई पछिल्लो केही दशकमा नयाँ राजनीतिक शक्तिहरू, विदेशी हस्तक्षेप, र आन्तरिक द्वन्द्वले हल्लाइदिएको छ । नेपालको हिन्दू राष्ट्रको अन्त्यको पछाडि धेरै गहिरो कारणहरू छन्, जसले देशको धार्मिक पहिचानलाई धमिलो बनाउँदै ठूलो राजनीतिक बदलाव ल्याएको छ । नेपालको सन्दर्भमा, धार्मिक मूल्यहरू केवल व्यक्तिगत आस्थाका रूपमा मात्र नभई सामाजिक जीवनको अभिन्न अङ्ग बनेका छन् । विशेषगरी, हिन्दू धर्मका केहि प्रमुख मूल्यहरू समाजमा नैतिकता, अनुशासन र आत्मसंयमतालाई प्रोत्साहित गर्ने कसी हुन् ।

यहाँ पंक्तिकार प्रमुख हिन्दू धार्मिक मूल्य र मान्यताहरूलाई केलाउने प्रयास गर्दैछ ।

१. सत्य र अहिंसा

सत्यको मार्गमा हिँड्नु हिन्दू धर्ममा एक उच्चतम आदर्श हो । सत्य नै धर्मको आधार भएकोले, सत्य र अहिंसा समाजमा पारदर्शिता, इमानदारी, र न्यायको संरचना निर्माण गर्न महत्त्वपूर्ण ठानिन्छ । अहिंसा केवल व्यक्तिगत व्यवहारमा सीमित नभइ समाजमा शान्ति र मेलमिलापको माहोल बनाउन महत्त्वपूर्ण छ ।

२. धर्म (कर्तव्य)

धर्मको अर्थ केवल धार्मिक आस्था नभइ कर्तव्य पनि हो। व्यक्तिको आफ्नो धर्मअनुसारको कर्तव्य पालन गर्नु अत्यन्त आवश्यक ठानिन्छ । हिन्दू धर्ममा जीवनका हरेक पक्षमा धर्म पालन अनिवार्य मानिन्छ, जसले समाजमा सबैलाई आफ्नो जिम्मेवारी पूरा गर्न प्रेरित गर्छ । यसले पारिवारिक, सामाजिक र राष्ट्रिय जीवनलाई नैतिक आधारमा अघि बढ्न मद्दत पुऱ्याउँछ।

३. कर्म र कर्मफल

‘कर्म गर, फलको आशा नगर’ भन्ने सिद्धान्त हिन्दू धर्मको केन्द्रबिन्दु हो । कर्मको महत्त्वमा विश्वास राख्ने यस सिद्धान्तले मानिसलाई आफ्नो कामप्रति इमानदार र उत्तरदायी बन्न सिकाउँछ । यसले समाजमा नैतिकता र इमानदारीको वातावरणलाई बलियो बनाउँछ, किनकि हरेक व्यक्तिलाई थाहा हुन्छ कि आफ्नो कर्मको फल उसैले भोग्नुपर्छ ।

४. सहिष्णुता र एकता

धार्मिक सहिष्णुताको भावना हिन्दू धर्मको महत्त्वपूर्ण विशेषता हो । यसले अन्य धर्म र सम्प्रदायप्रति आदर र सम्मान देखाउने शिक्षामा जोड दिन्छ । नेपालजस्तो धार्मिक विविधताले भरिएको मुलुकमा सहिष्णुता र सहअस्तित्वको भावना समाजलाई एकताबद्ध बनाउन मद्दत पुऱ्याएको छ।

५. आध्यात्मिक उत्थान

धार्मिक मूल्यहरू केवल समाजको नैतिकता र अनुशासनमा सीमित छैनन्, ती व्यक्तिगत आत्मा र समाजको आध्यात्मिक उन्नयनमा पनि केन्द्रीत छन् । योग, ध्यान र आध्यात्मिक साधनाहरूले समाजमा आत्मिक शान्ति र सामञ्जस्य कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।

कस्तो थियो त धार्मिक मान्यताहरूको भूमिका ?

नेपालको धार्मिक मान्यताहरूले समाजमा गहिरो सांस्कृतिक प्रभाव पार्दै आएको छ । ती समाजलाई नैतिक र आध्यात्मिक मार्गदर्शन मात्र प्रदान गर्दैनन्, साथै सांस्कृतिक पहिचानको संरक्षणमा पनि महत्त्वपूर्ण छन् । धार्मिक मान्यताहरूले निम्न भूमिका खेल्छन् –

१. नैतिक मार्गनिर्देशन

धार्मिक मान्यताहरूले मानिसलाई राम्रो र नराम्रोको भेद गर्न सिकाउँछ । यी नैतिक आदर्शहरूले मानिसलाई सही मार्गमा हिँड्न र समाजलाई नैतिक रूपमा बलियो बनाउन प्रेरित गर्छ । यसले समाजमा अनुशासन र इमानदारीलाई अघि बढाउन मद्दत पुऱ्याउँछ।

२. सहिष्णुता र सामञ्जस्य

धार्मिक सहिष्णुता नेपालजस्तो विविधताले भरिएको समाजमा विशेष महत्त्वपूर्ण छ । यहाँ विभिन्न धार्मिक समुदायहरूबीचको मेलमिलाप र शान्तिपूर्ण सहअस्तित्व धार्मिक मान्यताहरूले प्रेरित गरेको हो। यसले धार्मिक विविधतामा एकता र शान्तिको वातावरण सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

३. सांस्कृतिक पहिचानको रक्षा

धार्मिक मान्यताहरूले नेपालका मठ-मन्दिर, पर्व-उत्सव र रीतिरिवाजहरूलाई जीवित राख्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । ती संस्कृतिको रक्षा र संरक्षणका अभिन्न अङ्ग हुन्, जसले नेपालको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई सशक्त बनाएको छ।

४. समाजमा शान्ति र स्थिरता

धार्मिक मान्यताहरूले समाजमा शान्ति र स्थिरता कायम राख्न मद्दत पुऱ्याउँछ । तिनले समाजमा द्वन्द्व र विभाजनलाई रोक्न, मेलमिलाप र सहअस्तित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । नेपालमा शान्ति र स्थिरता कायम राख्न धार्मिक मान्यताहरूको योगदान सधैं उल्लेखनीय रहेको छ।

हिन्दूराष्ट्रको अन्त्य, राजनीतिक षड्यन्त्रको पृष्ठभूमि पनि केलाउने हो भने-

नेपालको हिन्दू राष्ट्रको पहिचानलाई समाप्त गर्न राजनीतिक षड्यन्त्रहरू, आन्तरिक संघर्षहरू र विदेशी हस्तक्षेपहरू मुख्य कारण हुन् । नेपालको धार्मिक पहिचानलाई नष्ट गर्नमा भारतको रणनीतिक योजना र माओवादी विद्रोहले ठूलो भूमिका खेलेका छन् । यहाँ प्रमुख घटनाक्रमहरूको ऐतिहासिक विश्लेषण प्रस्तुत गरिएको छस्

१. भारतको भूमिका

भारत र नेपालको धार्मिक, सांस्कृतिक, र ऐतिहासिक सम्बन्ध शताब्दीयौं पुरानो हो । तर, भारतको स्वतन्त्रता पश्चात नेपालको हिन्दू राष्ट्रको संरचना भारतीय नेताहरूलाई खासै मन परेन । जवाहरलाल नेहरूले नेपालमा धर्मनिरपेक्षताको समर्थन गरे र नेपालको राजतन्त्रलाई आलोचना गरे । नेपालमाथि भारतीय हस्तक्षेपको आरम्भ यहीँबाट भयो ।

२. जवाहरलाल नेहरूको नेपाल प्रति रवैया

भारतको स्वतन्त्रतापछि जवाहरलाल नेहरू १९४६ मै प्रधानमन्त्री भइसकेका थिए । १९४७ पछि नेपालका महाराजाले बारम्बार भारतसँग निकटता कायम गर्न खोजेको देखिन्छ। नेपालले पटक पटक भारत संग नजिक हुन कोशिश गर्यो तर बारम्बार नेहरूको सरकार र नेहरू आफैंले त्यसलाई अस्वीकार गरे ।

वास्तवमा, जवाहरलाल नेहरूलाई नेपालको दुईवटा कुरा मन परेको थिएनस् पहिलो, नेपालको राजतन्त्र, र दोस्रो, यसको हिन्दू राष्ट्र हुनु । यही कारणले जवाहरलाल नेहरूसँग बीपी कोइरालासँग पनि खटपट भएको थियो । नेहरूलाई जहिले पनि लाग्थ्यो कि नेपालको स्वरूप उनको विश्वव्यापी सोचसँग मेल खाँदैन । सबैलाई थाहा छ उनले नेपाललाई एक तिरस्कारपूर्ण दृष्टिले हेर्थे । यसैले नेपालका सबै प्रयासहरू, विशेषगरी राजपरिवारका प्रयासहरू, भारत सरकारले बेवास्ता गरिरह्यो । जब भारतबाट कुनै समर्थन नपाएपछि, नेपालले आफ्नो आवश्यकताहरूका लागि चीनसँग सम्बन्ध बढाउन थालेको थियो । चीनसँग सम्बन्ध बढाएपछि चीनले नेपाललाई विभीन्न क्षेत्रमा सहयोग गरेको पाइन्छ ।

३. नेपालको चीनसँगको सम्बन्ध बिस्तार

जब भारतबाट कुनै समर्थन नपाएपछि, नेपालले आफ्नो आवश्यकताहरूका लागि चीनसँग सम्बन्ध बढाउन थालेको थियो । चीनसँग सम्बन्ध बढाएपछि चीनले नेपाललाई विभीन्न क्षेत्रमा सहयोग गरेको पाइन्छ । हुन त राजसंस्थालाई जति नै गाली गरे पनि राजा महेन्द्र र वीरेन्द्रले नेपालको समृद्धिको लागि पहल नगरेका होइनन् । वीरेन्द्र चीन जानुअगाडि उनले स्याफ्रुबेसी-केरूङ जोड्ने बाटो बनाउन सकियो भने मुलुकलाई फाइदा हुन्छ भन्ने कुरा व्यक्त गरेका थिए भने पहिलो चोटी १९५६ मा चीनले ६ करोड भारुको नरम ऋण प्रदान गऱ्यो । त्यसपछि १९६० मा चीनले १० करोड भारुको आर्थिक अनुदान दिएको थियो । त्यही वर्ष पछि नेपालले चीन-नेपाल मैत्री सन्धिमा हस्ताक्षर गरेपछि नेपालमा चीनको दूतावास खुलेको थियो ।

त्यतिबेलै त चीनले काठमाडौं र कोदारीबीच ११४ किलोमिटरको अरनिको राजमार्ग, १९७० मा काठमाडौं-भक्तपुरबीचको १६ किलोमिटर लामो राजमार्ग बनाइदियो । यी बाहेक पनि चीनले पृथ्वी राजमार्ग, काठमाडौं-भक्तपुर ट्रली बस सेवा, काठमाडौंको रिङरोड, पोखरा-सुर्खेत, पोखरा-बागलुङ राजमार्गहरू बनाएर सहयोग गरेको थियो । हेटौंडा कपडा उद्योग, बाँसबारी छाला-जुत्ता कारखाना, ललितपुरमा इँटाटायल कारखाना, गैंडाकोटमा भृकुटी कागज कारखाना , लुम्बिनी चिनी मिल,र वीरेन्द्र कन्भेन्सन सेन्टर चीनको सहयोगमै सम्पन भएको थियो। यसरी नेपाल चीन संग नजिक भएर विकासको काम भै्रहेको देखेर भारत भने खुसी थिएन ।

यसरी नेपाल चीनसँग नजिकिने वातवरण बिस्तारै बन्दै गयो । उता नेपाललाई हेर्ने दृष्टिकोण नेहरूको भने अन्तिम समयसम्म पनि परिवर्तन भएन । नेहरूको निधनपछि लालबहादुर शास्त्री र इन्दिरा गान्धीले स्थिति सुधार्न प्रयास गरे तर विभिन्न कारणले सफल हुन सकेन । नेपाल र भारतको सम्बन्धमा ठूलो समस्या भने राजीव गान्धीको समयमा आएको देखिन्छ ।

४. राजा वीरेन्द्र र राजीव गान्धीबीचको तनाव

राजीव गान्धीको समयको एउटा महत्वपूर्ण घटना सन् १९८८ मा भएको थियो । उनी पहिलो चोटी सार्क सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए । दोस्रो भ्रमणमा उनकी पत्नी सोनिया गान्धी पनि साथ लिएर आएका थिए ।

इटालियन मुलकी सोनिया गान्धीले पशुपतिनाथ मन्दिरमा जाने इच्छा राखिन्, तर पशुपतिनाथ मन्दिरको व्यवस्थापनले उनलाई उनी क्रिश्चियन भएको कारणले मन्दिरभित्र प्रवेश गर्ने अनुमति दिन अस्वीकार गर्‍यो, त्यो कुरा राजीव गान्धीलाई मन परेन । राजीव गान्धीले नेपालका महाराजा वीरेन्द्रसँग भेटेर सोनिया गान्धीलाई मन्दिरमा प्रवेश गर्न अनुमति दिलाउन अनुरोध गरे । राजा वीरेन्द्रले स्पष्ट शब्दमा मन्दिरको व्यवस्थापनमा नेपालको सरकार वा राजदरबारको कुनै हस्तक्षेप छैन, पशुपतिनाथको भट्टहरुले नै सबै व्यवस्थापन गर्छन् भनेर भनिदिए । यति मात्र कहाँ हो र ? राजा वीरेन्द्रले मन्दिरका ठूला पुरोहितहरू र व्यवस्थापन हेर्ने मानिसहरू सबै तपाईंको देश भारतका हुन्, त्यसैले तपाईंका देशका मानिसलाई बुझाउनुहोस् भनेर जवाफ दिए । यो मामलामा मैले सहयोग गर्न सक्दिनँ भनेपछि राजीव गान्धी र सोनिया गान्धीले यसलाई अपमान ठाने । भारत र नेपालबीचको सम्बन्ध तनावपूर्ण बन्नुको मुख्य कारण यो पनि थियो । राजीव गान्धीको राजनैतिक सुझबुझ कस्तो थियो भनेर सुब्रह्मण्यम स्वामीको भनाइहरूबाट पनि प्रष्टै हुन्छ ।

५. भारतले नेपाललाई लगाएको नाकाबन्दी

नेपाल अहिलेसम्म भएका सबै नाकाबन्दीको कारण भने जहिले पनि नेपाल र चीनको सम्बन्ध नै रह्यो । पहिलो नाकाबन्दी भारतले नेपाललाई २०१९ सालमा लगाएको इतिहासकारहरु बताउँछन् । त्यसपछि २०२७ सालमा नेपालमाथि इन्दिरा गान्धी नाकाबन्दी लगाइन् । नेहरूले नेपाललाई हेर्ने दृष्टिकोण उनको छोरी सत्तामा आउँदा पनि परिवर्तन भएको थिएन । राजिव गान्धीको पालामा २०४५ सालमा फेरि अर्को नाकाबन्दी नेपालले खेप्नुपऱ्यो । यो सबैभन्दा लामो नाकाबन्दी थियो । यो नाकाबन्दीका कारण नेपालले चीनबाट ‘एन्टी एयरक्राफ्ट गन’ चीनबाट ल्याओ भन्ने भएता पनि सोनिया गान्धीलाई पशुपति छिर्न नदिनु पनि थियो । नेपालले २०७२ सालमा नयाँ संविधान जारी गरेपछि भारतले अघोषित नाकाबन्दी लगाएको थियो।

६. माओवादी विद्रोह र विदेशी शक्तिहरूको प्रभाव

नेपालमा माओवादी विद्रोहको उदयको पछाडि मुख्यतया धर्मनिरपेक्ष गणतन्त्र स्थापनाको एजेन्डा थियो । माओवादीहरूले धर्मनिरपेक्षता र गणतन्त्रको पक्षमा लडाइँ सुरु गरे । माओवादी विद्रोहको क्रममा भारत लगायतका विदेशी शक्तिहरूको भूमिकाले पनि नेपालमा राजतन्त्रको पतन र हिन्दू राष्ट्रको अन्त्यमा सहयोग पुऱ्यायो । भारतले माओवादीहरूलाई राजनीतिक प्रवाहमा ल्याउन भूमिका खेल्यो, जसले नेपालमा नयाँ संविधानमार्फत धर्मनिरपेक्षतालाई संवैधानिक मान्यता प्रदान गरायो।

संसारमा अहिले १९५ वटा राष्ट्र हरु छन् भने तीमध्ये लगभग २५ देखि ३० देशमा संघीयता छ । देश विकास हुन प्रजातन्त्र सुदृढ हुन संघीयता नै चाहिन्छ भन्ने छैन । हाम्रो जस्तो सानो मुलुकको विकास र समृद्धि संघीयताबिना पनि सम्भव छ तर पश्चिमा मुलुकहरूले हाम्रो जस्तो सानो मुलुकमा संघीयता भयो भने के हुन्छ भनेर प्रयोग गर्नकै लागि पनि संघीयता थोपरेको देखिन्छ ।

७. नयाँ संविधान र धर्मनिरपेक्षताको घोषणा

नेपालको नयाँ संविधान (२०७२)ले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा परिभाषित गऱ्यो। यससँगै नेपालमा हिन्दूराष्ट्रको अन्त्य भयो, र धर्मनिरपेक्षतालाई कानूनी मान्यता प्राप्त भयो । संघीयता र धर्मनिरपेक्षताको अवधारणा विदेशी शक्तिहरूको प्रत्यक्ष प्रभावमा आयो । नेपालका केही राजनीतिक दलहरूले पनि यो नयाँ संरचनालाई समर्थन गरे, जसले गर्दा नेपालको पुरानो धार्मिक पहिचान हरायो ।

कुनैबेला एसडी मुनीले आफ्नो लेखमा नेपालमा राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैन, भारत सँग राम्रो सम्बन्ध राख्न नेपालले प्रजातन्त्र र राजतन्त्रमध्येबाट एक रोज्नुपर्छ भनेपछि नेपाल विस्तारित गणतन्त्र स्थापित हुने परिथिति सृजना भएको थियो । राजसंस्था सकिएपछि हिन्दूराष्ट्र हटाउन अरू युरोपियन मुलुकहरू पनि लागेको प्रष्ट देखिन्छ । पछि गएर प्राध्यापक एसडी मुनिले माओवादीले भारतीय हितप्रतिकूल हुनेगरी कुनै काम नगर्ने लिखित कसम खाएपछि मात्र भारतले माओवादीलाई सहयोग गरेको थियो भनेर भनेका थिए ।

त्यसबेला माओवादीका नेताहरूको भारतसँग राम्रो सम्बन्ध थियो । हातहतियार भारतबाट आउँथ्यो । माओवादीको गुरिल्ला ट्रेनिङ पनि भारतकै भूमिमा हुने गर्थ्यो । ११ वर्ष चलेको माओवादीको सशस्त्र युद्ध मनमोहन सिंहको नेतृत्वमा कांग्रेस आईको सरकारले वि.सं. २०६२ मंसिर ७ गते तात्कालिक सात राजनीतिक दल र माओवादीबीच दिल्लीमा १२बुँदे सम्झौता गरेर माओवादीलाई राजनीतिको मुलधारमा ल्याइदियो । त्यही १२बुँदे सहमतिलाई ‘यचुरी फर्मुला’ पनि भनिन्छ । सोही सहमतिले देश संघीयतामा गयो । नेपालबाट राजसंस्था हटाइयो र एकमात्र हिन्दू राष्ट्र हटाएर धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो । सोनिया गान्धीलाई आफ्नो अपमानको बदला पूर्णरूपमा लिने मौका मिल्यो । त्यसबेला प्रधानमन्त्री मनमोहन सिंहले यचुरीलाई हिन्दूराष्ट्र हटाउन प्रयोग गरेका थिए ।

हुन त सीताराम यचुरीले भारतले नेपाललाई लगाएको नाकाबन्दीको बारेमा संसदमा नै आवाज नउठाएका होइनन् । उनले नेपालमाथि लगाइएको नाकाबन्दी भारतको लागि सबैभन्दा ठूलो कूटनीतिक गल्ती हो भनेर भनेका थिए । नेपालमा माओवादी आन्दोलन शुरु गर्न सहयोग गर्ने उनी प्रमुख पात्र थिए । उनी भारतमा गिर्दै गएको कम्युनिष्ट आन्दोलनलाई नेपालबाट विस्तार गर्न चाहन्थे । स्मरण रहोस् सीताराम यचुरी सन् २०१५ देखि कम्युनिष्ट पार्टीका महासचिव थिए । अहिले पनि उनीलाई संसारकै एकमात्र हिन्दुराष्ट्र नेपालबाट ‘हिन्दु’ शब्द हटाउने ब्यक्तिको नाममा चित्रित गरिन्छ।

राजनीतिमा खासै अगाडि नदेखिएका प्रोफेसर नरहरि आचार्य र गगन थापाको समूह राजसंस्थाको विरोध र गणतन्त्र ल्याउनुपर्छ भनेर एक्कासी राजनीतिक वृत्तमा उदाए । बाइबल र माओवादका लेखक अर्जुन ज्ञवालीका अनुसार नेपाली कांग्रेस फुट्दाखेरि केही विदेशी संघसंस्थाले, जुलिया चाङ ब्लकको कृपाले शेरबहादुर देउवासँग लगनगाँठो गाँसेकी आरजु देउवालाई अगाडि बढाएर देउवासँग नजिकिएर कांग्रेसको एउटा समूहलाई राजसंस्थाको विरुद्ध संगठन गर्न शुरू गरेको भन्ने कुरा पनि इतिहासकारहरु बताउँछन् । यहाँहरुलाई स्मरण होला, नेपाली कांग्रेस (प्रजातान्त्रिक)ले इराकमा अमेरिकी हमलाको समर्थन गरेको थियो ।

अर्जुन ज्ञवाली भन्छन्, ‘अहिले कांग्रेका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र युवा नेता गगन थापा सिआईएको बौद्धिक शाखा कार्टर सेन्टर सँग नजिक भएका मान्छेहरु हुन् । उनिहरुले पनि नेपालबाट हिन्दू राज्य हटाउन अप्रत्यक्ष रूपमा सहयोग गरेको देखिन्छ । गगन थापाको बारेमा विकीलिक्समा नै अमेरिकी सरकारलाई भरपर्दो सूचना दिने व्यक्ति भनेर लेखिएको थियो भने विश्वप्रकाश शर्माको बुवाको डा. तुलसी गिरीसँग घनिष्ट सम्बन्ध थियो भनिन्छ। क्रिश्चियन मिसिनरीका लागि काम गर्ने भएका कारणले दुवै महामन्त्रीलाई नेपाली मिडियाले कहिले पनि खुलेर विरोध गरेन । नेपाललाई धर्मनिरपेक्ष बनाउन थुप्रै नेताहरुले ठूलो धनराशि लिएको कुरा कांग्रेसी वृत्तमा अहिले पनि चलिरहेको छ।’

नेपालको राजनीतिक परिदृश्यमा, विशेष गरी राजतन्त्रको पतन र माओवादी विद्रोहको उदयमा भारतको बाह्य खुफिया एजेन्सी रिसर्च एण्ड एनालिसिस विंग (RAW) को भूमिकाको विवरण दिँदै RAW का पूर्व विशेषसचिव भूषणले नेपालको हिन्दू राजतन्त्रबाट धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्रमा संक्रमणलाई आकार दिने गोप्य कार्यहरूमा आफ्नो अनुभव र अन्तरदृष्टिबारे लेखिएको पुस्तक Insight Nepal ले धेरै कुरा प्रष्ट पारेको छ।

फरक-फरक समूहको नेपाललाई हेर्ने दृष्टिकोण स्वार्थरहित थिएन । कसैलाई गणतन्त्र, संघीयता चाहिएको थियो, कसैलाई राजसंस्था हटाइनु थियो, कसैलाई हिन्दू राष्ट्र हटाएर धर्मनिरपेक्ष बनाउनु थियो । ई. सबै कुराहरु प्राप्त गर्ने नेपालमा राजनीति गर्ने कठपुतली राजनीतिज्ञहरुलाई प्रयोग गरियो । नेपाललाई एउटा ठूलो प्रयोगशाला बनाइयो र उनीहरुले चाहेको कुरा सबै पूरा भयो । यता नेपाली नागरिक हरु बत्तिमुनीको अँध्यारोमा जीवन बिताउन बाध्य भए । यत्रा ठूला परिवर्तनपछि पनि हामी हाम्रा आधारभूत आवश्यकताबाट वञ्चित हुनु लज्जास्पद विषय हो ।

नेपालको धार्मिक मूल्य र मान्यताले समाजको नैतिक र सांस्कृतिक आधार सुदृढ पार्दै आएको छ । तर, पछिल्लो समय, राजनीतिक र विदेशी हस्तक्षेपले हिन्दूराष्ट्रको पहिचानलाई संकटमा धकेल्ने काम भयो । नेपालको हिन्दूराष्ट्रको समाप्ति, भारतसँगको विवादित विषय र माओवादी विद्रोहको परिणाम हो । यस घटनाक्रमले स्पष्ट पार्छ कि नेपालले धार्मिक विविधता र सांस्कृतिक धरोहरको संरक्षण गर्दै भविष्यमा एकता र शान्ति कायम राख्न आवश्यक छ ।

आशा छ, नेपालका नागरिकहरूले यी चुनौतीहरूको सामना गर्दै एक नयाँ सुरुवात गर्न सक्षम हुनेछन्, जहाँ सकारात्मक धार्मिक मूल्य र मान्यताहरूको सम्मान गर्न सकिनेछ । भने धर्मका नाममा हुने गरेका गलत अभ्यासहरुलाई विवेक प्रयोग गरेर छाड्दै जाने सामाजिक संरचना निर्माण हुनेछ ।