देउवा, केपी, प्रचण्ड : तपाईंहरू कहिले बाँच्ने ?

देउवा, केपी, प्रचण्ड : तपाईंहरू कहिले बाँच्ने ?


धेरैलाई लागेको हुँदो हो हाम्रा ‘शीर्षस्थ’ नेताहरूले गज्जबको जिन्दगी बाँचिरहेका छन् । यो पङ्क्तिकारले हेर्दा त सात दशक पारीको उमेरमा उहाँहरूले लिनै नपर्ने भार लिएर वास्तविक जिन्दगी बाँच्न पाउनुभएको छैन । यो उमेर त आफू राजकाजमा प्रत्यक्ष संलग्न हुने नभइ आफूपछिको पुस्तालाई अघि बढाएर आफ्नो अनुभवको आधारमा अर्ति-बुद्धि दिने समय हो । आफूले देखेर पूरा नभएका कतिपय सपनाहरू हुनसक्छन्, यदि ती मुलुकको हितमा छन् भने ‘मैले यो कारणले गर्न सकिनँ, तिमीहरूले यसरी गर’ भन्ने समय हो । आफूले राजकाज गर्दा भोगेको अनुभवको अभिलेखीकरण गर्ने समय हो । लेख्ने इच्छा र सीप हुनेले आफै लेख्ने, नभए अरुलाई लेखाउने या बोलेर भिडियो ‘डकुमेन्टेसन’ गर्दापनि हुन्छ । जीवनभरका दुःख-सुखलाई समेटेर आरामले शान्तिपूर्वक जीवन बाँच्ने समय हो ।

नेता शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को वरिपरि नेपालको राजनीति घुमेको धेरै भयो । राजनीतिको दाउपेचमा उहाँहरूले आरामले सुत्न नपाउनुभएको पनि धेरै भयो जस्तो लाग्छ । नेता प्रचण्डको मुहार र बोलीमा सधैं एक प्रकारको त्रास देखिन्छ । शेरबहादुर देउवा धेरै बोल्नुहुन्न तर उहाँले पनि अब धेरै तनाव लिनुभन्दा बाँकी रहेको समय आफ्नो युगको अभिलेखीकरण गर्न लगाएर शान्तिपूर्वक जीवन बाँच्दा हुन्छ । महत्वकाङ्क्षा बिनाको जीवन कति आनन्दमय हुन्छ भन्ने कुराको अनुभव कहिले गर्नु ? प्रधानमन्त्री केपी ओली नथाक्नुभएको भए न्युयोर्कमा एउटा प्रश्नको अर्कै जवाफ दिनुहुने थिएन । प्रश्नको जवाफ दिने कुरामा उहाँ निकै रणनीतिक नेता हो । तर, स्वास्थ्य र उमेरले गर्दा जतिबेला पनि ‘फ्रेस’ भएर प्रस्तुत हुन सक्नुभएन । उहाँलाई जलवायु परिवर्तनसम्बन्धी एउटा प्रश्न गरिएको थियो तर जवाफमा आफ्नो देशको भूगोल कति सुन्दर छ भनी ब्याख्या गर्नुभयो । अरुले हेर्दा वाह… अमेरिकामा यताबाट उता, विश्वका ठुला मानिससँगको भेटघाट, तामझामपूर्ण जीवन… क्या गज्जब भन्ने लागेपनि उहाँ आफैलाई भने थकित शरीरलाई जबर्जस्ती घिसार्दै हिँड्न कति गाह्रो भएको होला अनुमान गर्न सकिन्छ । जतिसुकै जीवन बाँचु-बाँचु लाग्ने ठाउँमा पुगेपनि शरीरले आफ्नै ‘सिस्टम’ले काम गरिरहेको हुन्छ, जुन कुराको अनुभूति ब्यक्ति स्वयंले बाहेक अरुले गर्न सक्दैन ।

सार्वजनिक जीवनमा भएपछि मनभित्र जे भएपनि हाँस्नै पऱ्यो, खुशी झैँ देखिनै पऱ्यो । आफूलाई ठिक नभएपनि कार्याकर्ता र जनताका अगाडी ठिकठाक छु झैँ देखाउनु पऱ्यो । यस्तो ‘फेक’ जीवन बाँच्दाबाँच्दै तपाईंहरूको जीवन सकिन लाग्यो । आफू शक्तिमा बसिरहने चाहनाले तपाईंहरूले आफ्नो वास्तविक जिन्दगी बाँच्न नपाएको धेरै भयो । मान्छे भेट्नुपर्ने भएकाले बिहान उठेर आफ्नो लागि ध्यान गर्ने चिन्तनमनन गर्ने समय छैन । दिनभरीको दिनचर्या कसलाई के गर्ने, कता गर्ने, सत्तामा कसरी पुगिन्छ, सत्तामै भए हट्ने पो हुँ कि… साथमा अफिसियल कामहरूकै वरिपरि घुम्ने नै भयो । रातिसम्म मानिसहरूसँगको भेट, कुराकानी, फोन… आफूलाई मन लागेको पुस्तक कतिबेला पढ्ने ? ब्यक्तिगत जीवन कहिले बाँच्ने ? आफू वरिपरि त कामकै कारणले जोडिएका मानिसहरू छन्, आफ्नोपनको महसूस कहिले गर्ने ? आफूवरिपरि मानिसहरूको झुण्ड भइरहेको देख्न चाहने र नमस्कार, सलाम खाइरहने चाहनाले मान्छेलाई मान्छे बनेर बाँच्न नदिँदोरहेछ । यद्यपि एक्लै बसेर आफूलाई फर्किएर हेर्ने हो भने जिन्दगी बाँचेको अनुभूति भने त्यस्ता कुराले दिँदैन ।

सुशील कोइरालाले जिन्दगीको उत्तरार्द्धमा आफू अशक्त अवस्थामा हुँदा पनि सजिलो ओछ्यान लाएर आनन्दले सुत्न नपाइ देहत्याग गर्नुपऱ्यो । उहाँको शरीरले आराम खोजिरहेको थियो तर उहाँलाई प्रयोग गरेर आफ्नो महत्वकाङ्क्षा पूरा गर्नेहरूले आनन्दले बस्न दिएनन् । परिणामतः रोगले थलिएको अशक्त शरीर जबर्जस्ती घिसार्दाघिसार्दै उहाँले यो संसार छोडेर जानुभयो । गिरिजाप्रसाद कोइरालाको सवालमा अलि फरक परिस्थिति थियो । जीवनको उत्तरार्द्धमा उहाँ राष्ट्रपति बन्न चाहनुहुन्थ्यो । आफू राष्ट्रपति बन्ने चाहनाकै कारण उहाँले राजसंस्थाको अन्त्यलाई ‘ठिकै छ’ को रूपमा लिनुभयो । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई यदि राष्ट्रपति पदको चाहना नहुन्थ्यो त यो देशमा गणतन्त्र यति चाँडै आउने थिएन । समयक्रममा राजसंस्था रहँदैनथ्यो होला तर यति चाँडो जाने थिएन । प्रचण्डले धोखा दिएर अरुलाई नै राष्ट्रपतिको उम्मेद्वार नबनाउनुभएको भए गिरिजाप्रसाद अरु केही वर्ष बाँच्नुहुन्थ्यो कि भन्न सकिन्छ । उहाँलाई एकातिर धोखाको पीडा थियो, अर्कोतर्फ राजसंस्था फालेको आत्मग्लानी । मुलुकमा पहिलो राष्ट्रपतिको निर्वाचनपछि उहाँको मुहारमा विगतको झैँ चमक नदेखिएरै देहान्त भयो । प्रचण्डले राष्ट्रपतिको सपना देखाउनुअघिसम्म उहाँ कुनै न कुनै रूपको राजसंस्थाको पक्षमा हुनुहुन्थ्यो । महत्वकाङ्क्षाको अगाडि मानिसका ‘इथिक्स’ र सिद्धान्त कसरी मर्दारहेछन् भन्ने कुराको उदाहरणका रूपमा पनि यो घटनालाई लिन सकिन्छ ।

हरेक मानिसको जीवनमा मृत्यु निश्चित छ । तर, त्यो मृत्यु कहिले आउँछ, कसरी आउँछ कसैलाई थाहा हुँदैन । प्रायः मानिसले आफुलाई असुरक्षित महसूस गर्ने पनि मृत्युको भयकै कारणले हो । अहिले नेताहरूले वरिपरि सुरक्षाकर्मीका डफ्फा लिएर हिँड्नुको कारण पनि मृत्यु प्रतिको भय नै हो । नत्र आफ्नै जनतासंग त्यति धेरै डराउनु पर्ने अवस्था हामीकहाँ छैन । मृत्यु मानिसको जीवनमा सबैभन्दा ठुलो सत्य र त्रास हो । मृत्युको भयबाट मुक्त मानिस नभएका होइनन्, छन् । तर त्यो तहसम्म पुग्न मानिसले धेरै ठुलो मेहेनेत गर्नुपर्ने हुन्छ । पहिलेका मानिसहरू जीवनको उत्तरार्द्धमा धार्मिक स्थलमा देहत्याग गर्नका लागि काशी, वनारसतिर जान्थे । त्यसलाई मृत्युको तयारी भन्न मिल्छ । भयमुक्त जीवन बाँच्नको लागि आफूले आफैलाई समय दिएर चिन्तन गर्नुपर्ने हुन्छ । यस्तो चिन्तन तपाईंहरूले कहिले गर्ने ? सधै एकप्रकारको भय र त्रासमा बाँचेको जिन्दगी पनि के जिन्दगी ?

पूर्वीय दर्शनले मानिसले बाँच्ने समयलाई चार आश्रममा विभाजित गरेको छ, ब्रम्हचर्य, गृहस्थ, वान र सन्यास आश्रम । सुरुको २५ वर्ष ब्रम्हचर्य जतिबेला स्कुल, अध्ययन लगायतका कामहरू गरिन्छ । २५ देखि ५० वर्षसम्मलाई गृहस्थ आश्रम भनिएको छ, विवाह, सन्तान, जीवीकोपार्जनका कार्यलगायतका काम यसमा पर्छन् । यस्तै, ५० देखि ७५ वर्षको समयलाई ‘वानप्रस्थ’को भनिएको छ । वान अर्थात् जंगल र प्रस्थको अर्थ प्रस्थान । तर, जंगलतर्फ प्रस्थानको अर्थ जंगलमै गएर बस्नु होइन, एकान्तमा बस्ने, आफूलाई चिन्ने कुरा हो । हामी सबैको जीवनमा वानप्रस्थान अर्थात् ५० देखि ७५ वर्षको समय आफूले आर्जन गरेको अनुभवलाई मनन गर्दै विभिन्न कार्यमा लगाउने समय हो । यो नीतिगत र ब्यवहारिक ज्ञान बाँड्ने, चिन्तन मनन, लेखन गर्ने निकै महत्वपूर्ण समय हो । सन्यासी जीवनको अभ्यासका लागि पूर्व तयारी गर्ने समय पनि हो । मानिसको जीवनमा ७५ वर्षपछिको समयलाई सन्यास आश्रम भनिएको छ । यस समयमा कुनै उद्योग नगर्नु, बाहिर र भित्र पवित्र रहनु, हिंसा नगर्नु, सत्य बोल्नु, कसैमाथि रिस नगर्नु, क्रुर नहुनु, सहनशील हुनुलगायतका नियमहरू उल्लेख गरिएको छ । यसको अर्थ जिन्दगीभरी जे-जे गऱ्यौं, गऱ्यौं, जीवन साह्रै छोटो छ, संसार छोड्ने निश्चित छ, कसैलाई नदुखाइ उत्तरार्द्धमा सजिलोसँग बाँच है भनेको हो । अरुले खायो, लायो त्यो त मैले पो गर्नुपर्थ्यो मार्काको सोचले मानिसलाई सहज जीवन बाँच्न दिँदैन । तपाईंहरू त म हुँदाहुँदै यसले सत्ता लिने ? भन्ने होडबाजीमै उत्तरार्द्धको समय बिताइरहनु भएको छ । शान्तिपूर्वक अन्तिम सास फेर्नका लागि आफूलाई लोभ, मोह जस्ता कुराबाट अलग राख्नु आवश्यक छ । यसो गऱ्यो भने संसार छोड्दा केही लिएर जान नसकेपनि केही सन्देश भने अवश्य छोड्न सकिन्छ ।

प्रायः हामी सबैलाई आफूले जिन्दगीमा संसारै धानी रहे जस्तो लाग्छ । म नभए त यो कसले गथ्र्यो र ? म छु र पो यो सबै भइरहेको छ भन्ने लाग्छ । खासमा हामी नहुँदा पनि यो संसार यसैगरी चलि रहनेछ जसरी अहिले चलेको छ । हामीमध्ये धेरैलाई म नहुँदा पनि यो संसार यसैगरी चल्ने ? भनेर ‘इगो’ मा ‘हर्ट’ हुन सक्छ, तर वास्तविकता यही हो । हामी नहुँदा पनि हाम्रो देश, परिवार, आफन्त, निकटवर्ती, प्रियजनहरू र यो संसार चलिरहेको हुनेछ । मानिस जतिसुकै पढेलेखेको, पदमा पुगेको, धन-सम्पत्ति भएको, नभएको, विद्वान्, ज्ञानी या मुर्ख जे भए पनि हामी कति समयका लागि यो पृथ्वीमा छौँ या हामीसँग कति समय छ भन्ने कसैलाई थाहा हुँदैन । जिन्दगीको सबैभन्दा ठुलो रहस्य र सत्य मृत्यु हो । मानिसको जीवनको सबैभन्दा ठूलो सीमितता भनेको पनि मृत्यु नै हो । हरेक मानिस एक दिन मर्छ तर कहिले मर्छु भन्ने थाहा हुँदैन । त्यसैले सधै पदको चाहनामा देखावटी जीवन बाँच्दाबाँच्दै मर्नुभन्दा कम्तिमा जीवनको उत्तरार्द्धमा वास्तविक जीवन बाँच्ने कोशिसचाहिँ गर्नुपर्छ ।

महाभारतमा यक्षले युधिष्ठिरलाई गरेका प्रश्नहरूमध्ये एक थियो- सबैभन्दा ठुलो आश्चर्य के हो ? जवाफमा युधिष्ठिरले भनेका छन्- ‘मृत्यु जीवनको अन्तिम सत्य हो तर मानिसहरूलाई आफ्नो जीवनको अन्तिम सत्य मृत्यु हो भन्ने लाग्दैन, त्यो नै सबैभन्दा ठुलो आश्चर्य हो ।’ हो, यो ठुलो आश्चर्य नेताहरूमा मात्र नभई धेरै थोरै हामी सबैमा लागु हुने गरेको छ । वृद्ध अवस्थामा देशका दुई पूर्व प्रधानमन्त्री, एक बहालवाला र हुनेवाला पनि प्रधानमन्त्रीहरूलाई मैले यति लेख्ने धृष्टता गरेँ । अरुले जे-जे ठानेँ पनि वास्तविकतामा तपाईंहरूले राम्ररी अकाशमा जुन नहेरेको पनि धेरै भयो होला, शरीरले घाम नतापेको पनि वर्षौं भयो होला… ताजा हावाको स्पर्श महसूस नगरेको पनि धेरै भयो होला… एसीको नक्कली हावा भन्दा बाहिर, बनावटी सम्बन्ध र देखावटी आफन्त भन्दा बाहिरको जीवन जुन तपाईंहरूले बाल्य अवस्थामा बाँच्नुभएको थियो । एकपल्ट फेरि जीवनको अन्त्यतिर बाँचेर हेर्नुस् त जीवनको वास्तविकता र यो संसार कति फरक छ ।