विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकीको प्रवेशद्वारनजिक ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकलयात्री श्याम साहको उपचारका क्रममा आज (१८ असोज) मृत्यु भएसँगै क्षतिपूर्तिको मागसहित आफन्तजन विरोधमा उत्रेका छन् ।
चौकीतर्फबाट आइरहेको ना४ख २४८३ नं को ट्रकले बिहीबार साँझ ठक्कर दिँदा घाइते भएका साइकलयात्री साहको उपचारका क्रममा मृत्यु भएको खबर सार्वजनिक भएसँगै क्षतिपूर्तिका मागसहित आफन्तजन विरोधमा उत्रेका हुन् ।
विरोधका लागि सडकमा उत्रेका मृतकका आफन्तजनलाई सम्झाउने प्रयास गर्दा पनि भीड नियन्त्रणमा नआएपछि स्थितिलाई सामान्य बनाउन बाध्य भई १० राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताएका छन् । अहिले सो क्षेत्रका स्थिति सामान्य रहेको, कोही पनि घाइते नभएको र कसैलाई पनि पक्राउ नगरेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका सन्दर्भमा आवश्यक सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिएका छन् ।
प्रतिक्रिया