नवरात्र पर्व एक साधना अनेक

नवरात्र पर्व एक साधना अनेक


चाडपर्व मानव जीवनको एक साधनामय महोत्सव हो । सम्बन्धभित्र लुकेको आत्मीयता साटासाट गर्ने भातृत्व र एकताको पर्व हो । संस्कृति, रीतिरिवाज र चाडपर्व हाम्रो सभ्यता, संस्कार र परम्परा हो । यही सभ्यता, संस्कार र परम्पराले गर्दा नै हामीले विश्वमा छुट्टै अस्तित्व कायम राखेका छौँ । हाम्रो प्रमुख दायित्व भनेको वैदिक संस्कृतिको संरक्षण र तत्प्रतिपादित कर्मको अनुसरण र सदाचारको परिपालन गर्नु हो । दशैँ ज्ञानरूपी दीयो बालेर अन्धकाररूपी अज्ञानतालाई परास्त गरी आत्मारूपी मन्दिर उज्यालो पार्ने पर्व हो । काम, क्रोध, लोभ, मोह अहङ्काररूपी रावण र महिषासुर जस्ता दुर्गुणहरूको बलि दिएर परमानन्द प्राप्त गर्ने महोत्सव हो नवरात्र । वर्षा ऋतुको बिदाइ गर्दै शरद् ऋतुको आगमनले ढकमक्क रङ्गिचङ्गि फूलहरू फूलेका, खेतमा लहलह धानका बालाहरू झुलेका, वर्षा थामिएको , मौसम परिस्थिति अनुकुल न जाडो छ, न गर्मी किसानहरूलाई पनि खेतबारीबाट फुर्सद मिलेको, मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो समय मात्र नभए र नातासम्बन्धलाई गाढा बनाउने समय हो यो पावन दशैँ । सम्बन्धमा थप इटा थप्नेकाम चाडपर्वले गरेको हुन्छ । दशैँमा लगाइने टीका विचार शुद्धिको प्रतीक र जमरा दीर्घायूको प्रतीक हो।

काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, इर्ष्या, द्वेष, छल, कपट यी दस प्रकारका विकारमाथिको विजय नै विजयादशमी हो । विकारबाट ग्रसित मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त र मात्सर्यले चुर भएको हुन्छ । शारदीय नवरात्रको साधनाको प्रभावले यी गुणहरूमाथि विजय प्राप्त गरि सुख, शान्ति र समृद्धि प्राप्त होस् भन्ने भाव दशैँको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद र मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधिपात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपना, लोभीपना, मोह, अहङ्कार जस्ता दुर्भावना उत्पन्न हुन्छन् । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा चढाउँ अर्थात् त्यागौँ भन्ने शास्त्रिय मान्यता हो । तर मानिसले ती प्रतिनिधिपात्रलाई नै बलिको रूपमा चढाउन थाले र प्रसादस्वरूप खान थाले । आफूभित्र भएको विकार फाल्नु यस पर्वको मूख्य ध्येय रहेको छ।

दशैँ वैदिक कालदेखि नै चलिआएको पर्व हो । समय कालखण्डसँगै यस पर्वसँग विभिन्न विजय उत्सवहरू जोडिएका छन्। देवीको महिषासुरमाथिको विजय, रामको रावणमाथिको विजय र राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहको विभिन्न राज्यमाथिको विजय आदि रहेका छन् । अन्यायमाथिको विजयको प्रतीकको रूपमा पनि यस पर्वलाई लिइन्छ । यसपर्वमा विशेषतः दैविक शक्तिको पूजा आरधना हुन्छ । शिवकी पार्वती, विष्णुकी वैष्णवी, बह्माकी सावित्री, इन्द्रकी ऐन्द्री आदि दैवी शक्तिहरू रहेका छन् । यस शारदीय नवरात्रमा प्रमुख देवीको शक्तिको रूपमा दुर्गादेवीको नौ स्वरूपको पूजा आरधना र साधना गरिन्छ । मन्त्र, तन्त्र, यन्त्र तीनै प्रकारबाट देवीको साधना गरिन्छ । घट अर्थात् कलशलाई सुख, समृद्धि र ऐश्वर्यदायक तथा मङ्गलकारी मान्ने गरिएको छ। घटको पूजा गर्नुले घरको सबै विपददायक तरङ्गरू नष्ट भएर सुख, शान्ति र समृद्धि आउने धार्मिक विश्वास रहेको छ । तसर्थ, घटस्थापना गरी शक्तिस्वरूपा जगदम्बा भगवतीको आराधना नवरात्रमा गरिन्छ।

शैलपुत्री

सम्भावनाको प्रतीक हिमालय पुत्री एक हातमा त्रिशुल र अर्को हातमा कमल फूल भएकी शैलपुत्री सुख, शान्ति ऐश्वर्यको प्रतीक मानिन्छ । शितलता, अचल र उच्चतम मानसिक स्थितिको प्रतीक । त्रिशुलको डण्डा दृढ निश्चयको प्रतीक हो । पर्वत समान अचल, दृढ सङ्कल्प, प्रतिकुल परिस्थितिमा पनि स्थिर हुन र अर्न्तमुखी हुन सहयोग गर्दछ । त्रिशुल अर्थात् आध्यात्मिक, आदिदैविक र आदिभौतिक तीनप्रकारको तापको प्रतिनिधि गरेको छ। यो तीन तापबाट मुक्तभई कमलको फूल जसरी प्रफुल्ल रहनु पर्छ । स्थिर, शान्त, मौन, अटलको साधना नै शैलपुत्री देवीको ध्यान गर्नु हो । मूलाधार चक्रको सक्रियतानै प्रथम दिवसको साधना हो ।

ब्रह्मचारिणी

चुम्बकीय शक्तिको प्रतीक एक हातमा जपमाला र कमण्डलु लिएकी देवी ब्रह्मचारिणी साधनाको प्रतीक देवी हुन् । देवीको साधना गर्दा मानिस संयम हुन्छ र पवित्रता अनुभव गर्न सक्षम हुन्छ । सुख, शान्ति र समृद्धिको कामना सहित साधनाई सिद्ध गर्नको लागि ब्रह्मचारिणी रूपको ध्यान गरिन्छ । स्वाधिष्ठान चक्रको सक्रियतानै द्वितीया दिवसको साधना हो ।

चन्द्रघण्टा

ध्वनिशक्तिको प्रतीक, शान्त, चम्किलो र शौम्य, सजकताको प्रतीक चन्द्रघन्टा दशभुजा भएकी देवी हुन् । दशभुजामा रहेको अस्त्र विभिन्न प्रतीकको रूपमा लिइन्छ । चन्द्रमा शान्तिको प्रतीक हो भने घण्टा ईश्वरीय ज्ञानको प्रशारणको प्रतीक हो। सुख शान्ति र समृद्धिको कामना सहित साधनालाई सिद्ध गर्नको लागि ब्रह्मचारिणी स्वरूपको ध्यान गर्छौं । देवीको वाहन सिंह पराक्रम र निर्यताको प्रतीक मानिन्छ। निर्भयता र पराक्रमलाई धारणा गरेर स्वयंभित्रको दुर्भावनाम दुर्गुण र दूराचाररूपी आसुरी सम्पदालाई समाप्त गरि आफूमा सद्भावना, सद्गुण, सदाचारको अभिवृद्धि गर्नुनै देवीको पूजा आरधना हो । मणिपुर चक्रको सक्रियता नै तृतीय दिवसको साधना हो ।

कुष्माण्डा

रासायनिक शक्तिको प्रतीक, अष्टभुजा भएकी सूर्यसमान तेजस्वी कमण्डलु, धनुष, वाण, कमलपुष्प, अमृत पूर्ण कलश, चक्र, गदा, जपमाला लिएकी देवी पवित्रता उत्साह वा प्रेरणाको प्रतीकको रूपमा आराधना गरिन्छ । निराशा, दुःख, पीडाले ग्रसित अन्धकारमय जीवनमा एक मुस्कानले नयाँ उत्साह ल्याउछ र एक नयाँ संसार निर्माण गर्न सकिन्छ भन्ने सन्देश हो प्रेरणा हो । मृत्यु, रोग र कमजोरीबाट मुक्ति दिने देवीको रूपमा पनि कुष्माण्डा देवीको साधना गरिन्छ । अनाहत चक्रको सक्रियता नै चतुर्थ दिवसको साधना हो ।

स्कन्दमाता

आकर्षणको प्रतीक, ज्ञानशक्ति र कर्मशक्तिको प्रतीक ज्ञान र विद्वताको लागि स्कन्दमाताको पूजा आरधना र साधना गरिन्छ । विषम परिस्थितिलाई सहर्ष स्वीकारेर प्रेम, स्नेह, स्वीकार्यताको साथ समास्याको समाधान गर्नु नै स्कन्दमाताको साधना हो । विशुद्धि चक्रको सक्रियता नै पञ्चम दिवसको साधना हो ।

कात्यायनी

ब्रह्माण्डीय केन्द्र शक्तिको प्रतीक, गुप्त रहस्यको प्रतीकको रूपमा कात्यायनी देवीको पूजा आरधना र साधना गरिन्छ । सम्पूर्ण मनोकामना पूर्ण गर्ने देवीको उपासना, आराधना र साधना गर्नाले धर्म, अर्थ, काम र मोक्षको प्राप्तिका साथै रोग, शोक, सन्ताप र भय नष्ट हुन्छ । उपासना, साधना परमानन्द प्राप्तिको प्रमुख राजमार्ग हो । आज्ञचक्रको सक्रियता नै षष्ठ दिवसको साधना हो ।

कालरात्री

प्रसारण शक्तिको प्रतीक, मानिसभित्र भएको अन्धकारमाथिको विजयबाट प्राप्त परमानन्दको अन्तिम स्वरूप, कालमाथिको विजय नै कालरात्री देवीको आरधना हो । आफूभित्र भएको राग, द्वेष, अहङ्कार आदि असुर शक्तिमाथिको विजय प्राप्त गर्न कालरात्री देवीको साधना गरिन्छ । सहस्रारचक्रको सक्रियता नै सप्तम दिवसको साधना हो ।

महागौरी

प्रकाश शक्तिको प्रतीक, सौन्दर्य र करूणा र कठोर साधनाको प्रतीक महागौरीको शान्त स्वरूपको ध्यान गरिन्छ । सबैको कल्याणकारी देवीको स्वरूपमा उपासना र आरधना गरिन्छ ।

सिद्धिदात्री

विद्युत्तीय शक्तिको प्रतीक, शङ्ख, चक्र, गदा, कमल पुष्पयुक्त देव, दानव, गन्धर्वआदिद्वारा शोभित दिव्य एवं सम्पूर्ण आनन्दको परमानन्ददायी देवीको स्वरूपमा उपासना, आरधना र साधना गरिन्छ ।

उपासना, आरधना गर्ने सबैभन्दा उत्तम समय हो शारदीय नवरात्र । अशान्ति, मनको चञ्चलता, अज्ञानता, रोग, कष्ट आदिलाई नौ दिन सम्मको साधनाबाट मुक्त भईन्छ । नवदुर्गा देवीको साधनाले सम्पूर्ण कष्ट नष्ट भई कल्याणपद प्राप्त हुन्छ ।

वास्तवमा वैदिक काल साधना, सिद्धि र सामर्थ्य, शक्ति र सौर्यको सङ्गम काल थियो । मन्त्र, तन्त्र र यन्त्रको त्रिवेणी थियो । त्यही सङ्गमबाट विभिन्न पर्वहरूको सुरुवात भयो । त्यस मध्ये दशैँ पनि एक हो । बडादशैँ सनातन परम्परा, संस्कार, संस्कृति, धर्म, आस्था र विश्वाससँग जोडिएको विषयमात्र नभएर वैज्ञानिक महत्त्वले पनि भरिपूर्ण पर्व हो । जमराले त्यही वैज्ञानिकतालाई प्रदर्शित गरिरहेको छ। महाकाली, महालक्ष्मी र महासरस्वती तीन देवीको प्रतीकको रूपमा समाज, मन र व्यवहार विज्ञानसँग सम्बन्धित रहेको छ । यो पर्व आडम्बरी, खोक्रो, मूल्यहीन हुँदैहोइन, यो विशुद्ध धार्मिक, सामाजिक, सांस्कृति र वैज्ञानिक महत्तम मूल्य बोकेको साधनामय पर्व हो ।

  • थाँक्रे-७, धादिङ