ओलीको पाँचौंं कृति ‘दिव्य दृष्टि’ सार्वजनिक

ओलीको पाँचौंं कृति ‘दिव्य दृष्टि’ सार्वजनिक


  • द्रोण अधिकारी, झापा

लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि लामो समयदेखि क्रियाशील झापा भद्रपुरका इन्द्रप्रसाद ओलीले लागूपदार्थ दुर्व्यसन न्यूनीकरणसम्बन्धी चेतनामुलक पुस्तक दिव्य दृष्टि प्रकाशित गरेका छन् ।

चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक, राष्ट्रिय हिन्दु एकता मञ्चका अध्यक्ष समेत रहेका ओलीको यो पुस्तक पाँचौ कृतिका रूपमा प्रकाशित भएको हो ।

कृतिभित्र कहिलेदेखि र कहाँबाट नेपाली समाजमा लागूऔषधको प्रकोप प्रवेश गऱ्यो भनेर खोज्ने प्रयास गरिएको छ । नेपालमा लागूऔषध ल्याउने र नेपाली युवा युवतीहरूलाई दुर्व्सनी बनाउने काम हिप्पी-जिप्सीहरूबाट स्थापित भएको मानिन्छ । विदेशी पर्यटक सहज आवत जावतको वातावरण बनेपछि यो विनाशकारी कुलतले खासगरी देशको भविष्यका कर्णधार युवा पिँढीलाई नष्टभ्रष्ट तुल्याउने अवस्था बढ्दो छ । सही समयमा लागूऔषध दुर्व्यसनका बारेमा सही जानकारी नभएको कारण धेरै युवा युवतीहरू लागू औषध दुर्व्यसनको लतमा फसेका छन् । ड्रग्स माफियाहरू आफ्नो संञ्जाल फिजाउनका लागि गाउँ समाज हुँदै विद्यालय तहसम्म डुलन्ते विक्रेता खटाएर अर्बौंको व्यापार गरिरहेका छन् । खासगरी १५ देखि १९ वर्ष उमेर समूहका किशोर–किशोरीलाई लागूपदार्थको दुर्व्यसनमा फसाउन सफल भएका माफियाहरूले आफ्नो कालो व्यपार फष्टाउन सफल भइरहेको चिरफार गर्ने प्रयास लेखकको छ ।

दुर्व्यसन रोकथाम गर्ने आवश्यकता दुर्व्यसनी भएका पीडित घरपरिवारले गरिरहेको भए पनि समाज र राष्ट्रको नेतृत्व गर्ने अगुवाहरूको प्राथमिकतामा नपरेका कारण लागूऔषध कारोवार तीव्र गतिमा वृद्धि भइरहेको पुस्तकले संकेत गरेको छ । लागूऔषध प्रयोगका कारण विनाशतिरको गन्तव्य तय गरिरहेको युुवापिँढीलाई यो विनासकारी सङ्क्रमणरूपी डढेलोमा होमिनबाट जोगाउन सकिएन भने भोलिको नेपाल ‘जिउँदा लासहरूको देश’ नबन्ला भन्न सकिने अवस्थामाथि चिन्ता गरिएको छ ।

लागु पदार्थको जीवनघाती कुलतमा फसेका छोराछोरीका अभिभावकहरूका पीडा र मानसिक यातनाका भारीहरू देखेर कुलतमुक्त छोराछोरीका अभिभावकहरू पनि त्यस्तै हुने हो कि भनेर समाजमा संत्रस्त छन् । रक्सीबाट सुरू हुने लागु पदार्थको दुर्व्यसन चरेस तथा हिरोइनमा गएर जीवनकै अन्त्य हुन्छ । विनाशकारी आचरण बनाएर जीवन लीला समाप्त पार्ने युवा युवतीको संख्या दिनदिनै बढ्दै जानु देशका लागि भविष्य अन्धकार हुनु हो । दुर्व्यसनको कारण आर्थिक, सामाजिक र पारिवारिक विचलन समेत भोग्नु पर्छ । एउटा व्यक्तिको गलत आचरणले सयौं व्यक्तिमा नकारात्मक प्रभाव व्यहोर्नुपर्ने हुन सक्छ । यी तथ्य खोज्ने काम पुस्तकले प्रयास गरेको छ ।

पुस्तकमा लागूपदार्थका कारण सुदुर पूर्वको झापा पछिल्लो दशकयता निकै आक्रान्त भएको देखाउन खोजिएको छ । भारतसित खुल्ला सिमाना जोडिएको झापा लागूपदार्थ ओसारपसार गर्ने सहज मार्ग बनाएर कारोवार गर्नेदेखि प्रयोग गर्ने दुर्व्यसनीसम्मको संख्या उच्च भएको जिल्लामा पर्दछ । छिमेकी भारतीय वजारमा नेपाली युवा युवतीले सहजै खरिद गर्न पाउने लागूऔषध नेपालतिर प्रतिबन्धित भए पनि उतै खाएर फर्कने युवा युवतीको संख्या झापामा बढी रहेको पनि पुस्तक मार्फत संकेत गरिएको छ ।

यसअघि उनले लागूऔषधसम्बन्धी नै विभिन्न पुस्तकहरु प्रकाशित गरेका थिए । नेपाल प्रहरीमा लामो समय सेवारत रही लागूऔषध दुर्व्यसन नियन्त्रणको क्षेत्रमा २०५६ सालदेखि उनी क्रियाशील छन् । प्रहरी नायव निरीक्षक पदबाट उनले २०६२ सालमा स्वेच्छिक अवकास पाएका थिए । त्यसयता झापामा रहेर लागूऔष दुर्व्यसनविरूद्ध विभिन्न चेतनामुलक कार्यक्रम गरिरहेका ओली धार्मिक जागर अभियानमा समेत कृयाशील छन् ।