सञ्चालनमा आयो हेटौँडा-भीमफेदी-काठमाडौं सडक

सञ्चालनमा आयो हेटौँडा-भीमफेदी-काठमाडौं सडक


हेटौँडा-भीमफेदी-काठमाडौं सडक सातादिनपछि सञ्चालनमा आएको छ । हेटौँडा-भीमफेदी हुँदै काठमाडौं भित्रने सडकखण्डमा पर्ने सिमखोला र फाखेलस्थित सडकमा डाइभर्सन बनाएर बाटोको मर्मत सकिएपछि आइतबार (२० असोज)साँझबाट सडकमा सवारी आवतजावत सञ्चालन भएको हो ।

बागमती प्रदेश सरकार मातहतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिएअनुसार मर्मत सम्भार भएसँगै हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीका हेटौँडा-फाखेल-काठमाडौं, हेटौँडा-कुलेखानी-चखेल-मातातीर्थ, हेटौँडा-कुलेखानी-मार्खु-चित्लाङ-चन्द्रागिरि-काठमाडौं सडक सञ्चालनमा आएको छ ।

‘सडक मर्मत गरेर तत्काल सवारीसाधन सञ्चालन भए पनि अझै पूर्ण रुपमा सडक मर्मत सम्पन्न भइसकेको छैन’, निर्देशक पोखरेलले भनेका छन्, ‘सडकमा अझै केही काम गर्न बाँकी रहेकाले सोमबार पुनः केहीबेरका लागि सो सडकमा सवारी चलाउन रोक्नुपर्ने हुन्छ ।’

यही असोज १० गतेदेखि १२ गतेसम्म आएको वर्षासँगै कुलेखानी ड्यामको पानीले सिमखोला पुलमा करिब एक सय मिटरमा क्षति पुऱ्याएको थियो । फाखेलतर्फको महालक्ष्मी खोला पुल र आसपासको करिब सात सय मिटर सडक बगाएको थियो ।