अध्यक्ष ओलीद्वारा विवादास्पद ब्यापारीको दान स्वीकार ! चौतर्फी आलोचना !!

अध्यक्ष ओलीद्वारा विवादास्पद ब्यापारीको दान स्वीकार ! चौतर्फी आलोचना !!


नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एक विवादास्पद ब्यापारीबाट दान स्वीकार गर्नुभएपछि त्यसलाई लिएर चौतर्फी आलोचना र आलोचनात्मक टिप्पणी भएका छन् । दशैँको महाअष्टमीको दिन पारेर अध्यक्ष ओलीले विवदास्पद मीनबहादुर गुरुङ्गको तर्फबाट करिब दुई अर्बको दान स्वीकार गर्नुभएको हो ।

कलङ्की खसीबजार नजिकै हालको बजारमूल्य अनुसार सत्तरी करोडको दश रोपनी जमिन र त्यसमा एक अर्ब भन्दा बढी नगद खर्च गरेर दशदेखि पन्ध्र तलासम्मको कार्यालय भवन (टावर) बनाइदिने गुरुङ्ग दम्पत्तीको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै अध्यक्ष ओलीले गत शुक्रबार भवन निर्माणको शिलान्यास गर्नुभयो ।

ललिता निवासको नाममा रहेको सरकारी जमिन कब्जा प्रकरणका दुई मुख्य योजनाकारमध्ये एक मीनबहादुर गुरुङ्गविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ । ज्ञातब्य छ, बालुवाटारस्थित ललिता निवासको नाममा रहेको शय रोपनी भन्दा बढी सरकारी जमिन कब्जा सम्बन्धमा अनुसन्धानको प्रक्रिया स्वयम् केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको थियो । तत्पश्चात नेता नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको बेला गत वर्ष मीनबहादुरलाई पक्राउ गरि हिरासतमा राखेर थप अनुसन्धान गरिएको थियो र, गुरुङ्गले कब्जा गरेको अर्बौं मूल्यबराबरको जमिन सरकारकै स्वामित्वमा लैजान प्रक्रिया सुरु गरिएको थियो । श्रेष्ठको कदमप्रति ओलीले आपत्ती जनाउँदै आउनुभएको र उहाँले गुरुङ्गको प्रतिरक्षा गर्न अस्वाभाविक किसिमले सक्रियता दर्शाउनुभएको थियो ।

संसददेखि सडकसम्म मीनबहादुरका पक्षमा केपी ओली उभिनुको रहस्य अहिले आएर उद्घाटित हुन पुगेको छ । यसरी विवादास्पद ब्यापारीबाट दान स्वीकार भएपछि सरकारले कब्जा जमिनको स्वामित्व आफूमा ल्याउन इमान्दार पहल गर्छ कि गर्दैन भन्ने प्रश्न खडा भएको छ भने नेकपा एमालेको प्रतिष्ठा र विश्वसनीयतामा समेत गम्भीर धक्का पुगेको छ ।

दानका नाममा ग्रहण गरिए पनि आम जनताले यसलाई घुसका रूपमा बुझेका छन् । एमाले जस्तो जिम्मेवार दल अब ब्यापारीको इच्छा र योजनाअनुसार चल्ने सम्भावना बढेको बताइन थालेको छ ।