नेपालमा जेठ २८ मा भित्रिएको मनसुन २६ असोजमा बाहिरियो

नेपालमा जेठ २८ मा भित्रिएको मनसुन २६ असोजमा बाहिरियो


यस वर्षको मनसुन आज (२६ असोज) देखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन आजदेखि पूर्णरूपमा बहिर्गमन भएको हो ।

शनिबार अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि आज बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको जनाएको हो ।

यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौं उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमा आंशिकरूपमा मनसुन बाहिरिएको थियो । आज भने मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो ।

यसपालि मनसुन ढिलो गरी जेठ २८ मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन सुरु भएकोमा ६ दिनपछि पूर्णरूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।