रारामा के छ, के छैन ?

रारामा के छ, के छैन ?


जहाजको समय टक्कै मिल्यो भने काठमाडौंबाट बिहान ६ बजे घर छोडेको मान्छे १० बजे रारा पुगिँदोरहेछ । ७ बजेर २० मिनेट जाँदाको फ्लाइट थियो काठमाडौंबाट नेपालगञ्ज । बिहान ८ं.३० मा नेपालगञ्ज पुगियो । त्याहाँबाट ९ बजे मुगुको ताल्चा विमानस्थलका लागि हिँडेको जहाज आधा घण्टामा पुग्यो । ताल्चाबाट मिली भन्ने रमाइलो ठाउँसम्म गाडी जाँदोरहेछ । मिलीमा गाडीबाट ओर्लिएर २० मिनेट जति हिँडेपछि आफूअघिल्तिर ठ्याक्कै रारा आइपुग्छ ।

मिली आफैमा सिनेमामा देखिएका दृष्य झैँ लाग्ने ठाउँ रहेछ, युरोपका जंगलतिर देखिने जस्ता रुखहरू, फराकिलो चौर । सुन्दर रारालाई आँखाले हेर्दा एकपल्ट आफूलाई चिमोट्न मन लागेको थियो, सपना त होइन नि… भनेर ! आफ्नै देशमा यस्तो ठाउँ पनि छ भनेर एकछिन त अवाक झैँ बनिने रहेछ । वरिपरि जंगलको बीचमा विशाल रारा ताल… गहिरो कति होला हेरेर कल्पना नै गर्न नसकिने… १६७ मिटर गहिरो । सुरुमा हेर्दा निलो गाढा रङ्गको देखिएपनि राराको पानीले रङ्ग फेरिरहँदोरहेछ । घरि फिक्का जस्तो, घरि गाढा, घरि निलो, घरी अलिक हल्का सेतो जस्तो, बस्दै जाँदा पानीले रङ्ग फेरेको स्पष्ट देख्न सकिन्छ । वारिबाट पारी हेर्दा आर्मी क्याम्प र दुई वटा होटेल नजिकै जस्तो देखिने, तर पारी पुग्न डुङ्गामा ४५ मिनेट देखि १ घण्टासम्म लाग्दोरहेछ ।

ताल्चा विमानस्थलबाट हिँडेर जाँदा करिब ३ घण्टामा रारा पुगिँदोरहेछ, जाँदा गाडीमा गएपनि फर्किंदा पैदल हिँडियो । जंगलैजंगलको रमाइलो बाटो । एयरपोर्टबाट गाडीमा रारा जाँदै गर्दा बाटोमा उडेको धुलोले घाँटी क्याक्क पारेको थियो । त्यति ठुलो पर्यटन स्थलसम्म पुग्ने बाटोलाई पिच किन नगरेको ? प्रश्नले मन र मष्तिष्कमा ठाउँ लिइरह्यो । जुन प्रश्नले होटल या बस्ने ब्यवस्थालाई लिएर पनि मनमा ठाउँ लिइरहेको छ ।

रारालाई लिएर मनमा प्रश्न त कति उठ्छ कति ! यतिका समयसम्म धुलाम्य बाटो किन राखेको ? कि त बाटो बनाउनै हुन्नथ्यो, बनाएपछि पिच गर्नुपर्थ्यो । यतिका समयसम्म एउटा गतिलो होटल बन्न किन नदिएको ? यसबीचमा धेरै ब्यवसायीले रारामा होटल बनाउन खोजेको भन्ने सुनिन्छ तर सरकारले अनुमति नदिएका कारण होटलहरू बनाउन दिइएन । कारण, वातावरण प्रदुषित हुनसक्ने भएकोले भनिएको रहेछ । प्रदुषण गरेमा के गर्ने ? कति फाइन तिर्ने ? या अनुमति खारेजीसम्मको के-कस्तो सजाय तोक्ने भन्ने सरकारको काम हो । प्रदुषण हुन्छ भनेर होटल बनाउन नदिने अनि त्यहाँ रहेको एउटा होटेल जसको कुनै प्रतिस्पर्धा नभएकाले सफाई, सुविधा, खाना धेरै कुरामा यति टाढा भएपछि यस्तै हो भनेर कम्प्रोमाइज गर्नुपर्ने.. त्यस्तो पनि हुन्छ ?

सम्बन्धित ठाउँमा बसेर नीतिगत काम गर्ने मानिसमा अलिकति मात्रै भिजन हुँदो हो त अहिले मौसम राम्रो भएको बेला ताल्चा एयरपोर्टमा दिनमा कम्तिमा २० वटा फ्लाइट राख्दा पनि कम हुनुपर्ने हो । तर, कुनै सुविधा र योजना नभएका कारण राराले सदियौँदेखिको आफ्नो सौन्दर्य प्रदर्शन गरेर देशलाई आर्थिक समृद्धिमा जुन स्तरको टेवा पुऱ्याउनुपर्ने हो.. त्यो सकेको छैन । यसमा विगतदेखि वर्तमानसम्मका हाम्रा नीति निर्माण तहमा बसेर काम गर्ने नेता र कर्मचारी दोषी छन् । रारा पुग्ने जो-कोहीलाई लाग्छ- यस्तो ठाउँ अन्य देशमा भएको भए केसम्म हुन्थ्यो होला ?

सुर्खेतबाट कालीकोट, जुम्ला हुँदै मुगु पुग्ने बाटो पनि छ । कर्णालीको जनजीवनलाई नजिकबाट हेर्दै रारा पुग्छु भन्ने योजना बनाउनेहरूका लागि बाटोको यात्रा सही हुन सक्छ । तर छोटो समयमा पुगेर, हेरेर, यात्रा गरेर फर्कन्छु भन्नेहरूका लागि मौसमले साथ दियो भने हवाइयात्राबाट रारा घुमेर तीन दिनमा काठमाडौं फर्कन सकिनेरहेछ । नेपालगञ्जबाट ताल्चा विमानस्थलसम्मको यात्रामा देखिने पहाडहरू रोमाञ्चकारी लाग्छन् । सदियौँदेखि ती पहाडहरू त्यस्तै छन्, चट्टान र प्रकृति त्यस्तै छ, फेरिएका छन् त केवल यात्रा गर्ने मानिसहरू । विमानस्थल पुग्नुअघि नै अकाशबाट रारा ताल देखिँदोरहेछ । पाइलटलाई सोधिएन तर राराको माथि पुगेपछि पाइलटले तालमा हेर्दैनन् भन्ने रहेछ । तालतिर हेऱ्यो भने तालले जहाजलाई तल खिच्छ भन्ने रहेछ । पूर्व अधिराजकुमारी प्रेक्षा चढेको हेलिकोप्टर रारा तालमै हराएको थियो । सैनिक क्याम्पको कम्पाउण्डमा चियाखाजा खाएर काठमाडौंका लागि उडेको अधिराजकुमारीको टिम केही क्षणमै रारामा हराएको थियो । उक्त दुर्घटनालाई लिएर त्यतिबेला काठमाडौंमा अनेक हल्ला गरेपनि त्यो नितान्त दुर्घटना भएको र जहाज राराको पानीबाट माथि उठ्नै नपाइ तल झरेको प्रत्यक्षदर्शीहरूको भनाइ छ । उक्त घटनापछि रारा भन्दा अलिक माथि रहेको मन्दिरमा समय-समयमा क्षमापूजा गर्ने गरिएको रहेछ ।

रारामा के छ भनेर हेर्दा मन लोभ्याउने, मानिसलाई आकर्षित गर्ने सुन्दरता छ । वरिपरि जंगल बीचमा ताल… रङ्ग फेरिइरहने पानी… के के हो के हो झैँ लाग्ने रहस्यमयी स्थान जहाँ मानिस एकपल्ट होइन पटक-पटक जान चाहन्छ । राराको सुन्दरता हामीले महसूस गर्न त सक्छौँ नै, ब्यवसायिक दृष्टिकोणबाट हेर्दा राराले नेपालको आर्थिक समृद्धिमा ठुलो टेवा पुऱ्याउन सक्छ । बाह्य र आन्तरिक दुबै पर्यटकका लागि रारा जिन्दगीमा एकपल्ट जानैपर्ने गन्तब्य बन्नसक्छ ।

बाटो, यातायात र बासस्थानको मात्रै सही ब्यवस्थापन गर्न सक्यो भने रारामा धेरै कुरा छ र हुनेछ । रारामा नभएका र हुनुपर्ने कुराचाहिँ धेरै छन् । सबैभन्दा आधारभुत कुरा त बस्ने ब्यवस्था नै छैन । सुविधासम्पन्न नभएपनि हुन्छ तर सफा होटल होइन होटेलहरूको आवश्यकता छ । सरकारले जग्गा लिजमा दिँदा नै वातावरणीय शर्तहरू राख्न सक्छ, जुन शर्तहरू पूरा गर्नेले मात्रै होटल बनाउँछ । यस्ता होटल या बासस्थानहरू बनुन् जहाँ स्थानीय खानेकुरा पाइयोस् । अहिले त रारामा पुगेर पनि चाउचाउ, बिस्कुट नै खाने हो ।

राराको वरिपरि अहिले साइकल रुट बनाउनका लागि ढुंगा ओछ्याइएको छ, जसका कारण घोडा र मान्छे दुवैलाई हिँड्न अप्ठ्यारो छ । घोडा रारा पुग्ने यातायातका साधन मात्र होइन त्यहाँ पुगेका पर्यटकलाई फोटो खिच्नका लागि आकर्षण पनि हुन् । हामीकहाँ कुनै पनि काम समयमा हुँदैन । ओछ्याइएका ती ढुंगामा समयमै पीच नहुँदा स्थानीयले दुःख पाइरहेका छन् । त्यसैले सुन्दर राराको ढुंगाले बिझाएर हिँड्न कठिन हुने किनार हिँड्दै गर्दा रारामा सबैभन्दा पहिला गर्नुपर्ने चाहिँ साइकल लेनको पीच नै हो जस्तो लाग्यो । यद्यपि डुङ्गा चढ्न लाइफ ज्याकेट लाउँदै गर्दा यी लाइफ ज्याकेट साह्रै पुराना र झुत्रा भएछन्, सबैभन्दा जरुरी त यहाँ लाइफ ज्याकेटको रहेछ भन्ने लागेको थियो ।

मानिसको जीवनमा यात्रा प्रायः कुनै न कुनै ‘लेसन’ दिने खालको नै हुन्छ । जिन्दगी आफैमा सिकाइ हो, बाँचुञ्जेल कुनै न कुनै कुरा सिक्न पाइरहने… ! यसपटकको यात्रामा पनि एउटा सिकाइ के भयो भने काठमाडौंबाट रारा जान हिँड्नुभएका वन तथा वातावरण मन्त्रालयका एक वरिष्ठ अधिकारी नेपालगञ्ज एयरपोर्टमै छुट्नुभयो । राराका लागि आफ्नो बैंकक भ्रमण छोडेर बिहान सबेरै नेपालगञ्ज पुग्नुभएका उहाँ एयरपोर्टमै वर्तिर-पर्तिर कतै हुनुहुन्थ्यो । ताल्चा जानका लागि प्लेनमा हामी टीम नै चढ्यौँ । प्लेनमा नेपाली सेनाकी एक मेजरबाहेक अरु सबै रारामा हुने जलवायु सम्मेलनमा भाग लिन हिँडेको वन तथा वातावरणमन्त्रीसहितको टोली थियो । सानो प्लेनमा चेढेको एकछिनमै एयर होस्टेजले जहाजका नियम बताउँदै गर्दा अर्का कर्मचारीले ‘सर छुट्नुभयो… एकछिन एकछिन..’ भनेर रोक्न खोज्नुभयो, तर जहाज ग्राउण्डमा हिँड्न थालिसकेको थियो । हामी सबैले रोक्न अनुरोध गर्दागर्दै जहाज ग्राउण्ड छाडेर अकाशतिर उड्यो । यदि जहाजको ढोका लाउनुअघि नै मान्छे छुटेको थाहा पाएको भए रोक्न मिल्ने रहेछ । ढोका लाएर टावरसँग कनेक्ट भइसकेकाले जतिसुकै भीआइपी भएपनि जहाज रोक्न नमिल्ने रहेछ । साथी छुटेपछिको यात्राको माहोल अलि फरक हुने नै भयो ।

रारा यात्राले मनमा धेरै प्रश्न, जिज्ञासाहरू उब्जाएको छ, त्यसमध्येको एउटा चाहिँ राराको किनारैकिनार फर्कंदै गर्दा त्यति घना जंगलमा चराको आवाज पटक्कै सुनिएन किन होला ? यो पनि भनौँ- जीवनमा यात्रा त धेरै गरियो तर राराबाट फर्किएको एक साता बित्दासम्म पनि त्यहाँका दृष्यहरू आँखाबाट हट्न सकेका छैनन् ।

यो पनि हेर्नुहोस्-