रारामा के भयो ?

रारामा के भयो ?


‘रारा’को बारेमा कल्पना गर्दा ‘माइण्ड’मा दुईवटा कुरा एकैपल्ट आउने गर्थ्यो, मविवि शाहको कविता ‘रारा कि अप्सरा ?’ र अधिराजकुमारी प्रेक्षाको हेलिकोप्टर दुर्घटना… ! कविता पढ्दा र रारा पुग्नेहरूले पोष्ट गरेका तस्बिरहरू हेर्दा अहिल्यै गइहालुँ जस्तो, दुर्घटना सम्झिँदा डरलाग्दो ! कविता पहिल्यै पढेको, दुर्घटनाचाहिँ पछि भएको… ! राजा महेन्द्रले राराको ब्याख्या गर्न आफ्नो कलम नै नचलेको कवितामा लेख्नुभएको छ । हुन पनि राराको ब्याख्या गर्न शब्दहरू कमै हुने रहेछन्, भावको पनि अभाव हुने रहेछ ।

राराको बारेमा जानकारी राख्ने सबैलाई शायद जिन्दगीमा एकपल्ट पुग्ने चाहना हुन्छ, तर अवसर जुरिरहेको हुँदैन । वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत संस्था ‘साथसाथै’ले यसपटक यो अवसर जुरायो । कर्णालीमा सुन्दर ठाउँहरू धेरै छन्, चन्द्रमामा दाग देखिए झैँ कर्णालीको सुन्दरताभित्र दुःखहरू पनि त्यत्तिकै छन्, त्यसमध्येको एउटा दुख प्राकृतिक विपत्ति हो । केही समययता प्राकृतिक विपत्तिमा थप मद्दत पुऱ्याइरहेको छ जलवायु परिवर्तनले । प्राकृतिक विपत्ति र जलवायु परिवर्तनबीच गहिरो सम्बन्ध छ । मुगु जिल्लामा अवस्थित रारालाई बिम्ब मानेर जलवायु परिवर्तनमा सजगता अपनाउने बाचा र सन्देशका लागि कर्णालीलाई केन्द्रित कार्यक्रम गरिएको थियो ।

कर्णालीका स्थानीय जनप्रतिनिधिहरूले आफ्ना अनुभवसहित योजना सुनाए । स्थानीयले आफ्ना भोगाइहरू बताए । स्थानीय बिर्खबहादुर रोकाया ‘धामी’को भनाइ थियो- ‘पहिला-पहिला हिउँ पर्दा हिउँले खाएकाले मेरो औंला छैन, तर हेर्दाहेर्दै अहिले त हिउँ नै पर्दैन ।’ हिउँ नपर्दा अन्नबाली कम भएको, बन्यजन्तु डढेलोले मर्ने गरेको, पानीका मुहानहरू सुक्दै गएको, पानी नहुनुको असर मानिसलाई मात्र नभइ बन्यजन्तुलाई पनि परेको, मौरीहरूले गाउँ र जंगल छोडेको जस्ता कुराहरू उनले राखेका थिए । स्थानीयसँग समस्या मात्र हुँदैन, समाधान पनि हुन्छ । सल्लाका रुखहरूले जंगल रुखो बनाएको र पानी सोसेका कारण अब सल्ला हटाएर जंगलमा माटो, प्रकृति र मानिसलाई राम्रो गर्ने रुखहरू लगाउँ भन्ने सुझाव पनि आयो ।

मुगु, जुम्ला, दैलेखलगायतका जिल्लासँगै सिन्धुपाल्चोकको हेलम्बु र सोलुको खुम्बु पासाङ्गल्हामु गाउँपालिकाबाट पनि जनप्रतिनिधिहरूको सहभागिता थियो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले हेलम्बुमा स्याउ फल्थ्यो तर अहिले फल्दैन भन्नुभयो । गाउँमा डढेलो लाग्न थालेपछि आफूले डढेलो लगाउने मान्छे पत्ता लाउनेलाई ५० हजार पुरस्कार घोषणा गरेपछि अहिले डढेलो लाग्न छोडेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो- ‘कतिपय हाम्रा धर्म-परम्परा प्रकृति संरक्षणका लागि राम्रा छन् । श्रीमद्भागवत गीताको तेश्रो अध्यायमा ‘यज्ञ गर’ भनिएको छ । यज्ञ गर्नु भनेको बत्ति बाल्नु हो । घिउमा बत्तिले बादल फुटाएर बायुमण्डलमा राम्रो प्रभाव पर्ने रहेछ ।’ अध्यक्ष निमाले हेलम्बुलाई नमूना गाउँपालिका बनाउन विभिन्न प्रयासहरू गरिरहनुभएको छ । उहाँसँग आफ्नो गाउँपालिकाका लागि मात्र होइन देशकै समस्याहरू समाधान गर्ने उपायहरू धेरै छन् ।

सोलुखुम्बु पर्यटकका लागि आकर्षणको केन्द्र हो । अक्टुबर, नोभेम्बर पर्यटकका लागि सही समय थियो । सोहीअनुसार कार्यक्रमहरू तय गरेर विभिन्न देशबाट मानिसहरू आउँथे, तर अहिले अकस्मात पानी परेर बाढी आउने, मौसम बिग्रने हुन थाल्यो । पर्यटकका लागि सही समय कहिले हो छुट्याउनै गाह्रो पर्ने भो । खुम्बु पासाङ्गल्हामु गाउँपालिकाकी उपाध्यक्ष टासी ल्हामु शेर्पाको भनाइ छ- बेमौसमी बाढी बस्तीमा पस्न थाल्यो, पर्यटक भित्रिने बेलामा मौसमका कारण जहाज पुग्न नसक्ने अवस्था आयो । कृषिक्षेत्रमा थप असर पुगिरहेको छ । जलवायु परिवर्तनका कारण हाम्रा योजनाहरू परिवर्तन गर्नुपर्ने ठाउँमा हामी पुग्यौँ तर के गर्ने ? कसो गर्ने ? स्पष्ट भिजन बनाउन त्यति सहज छैन । टासीलाई लाग्छ, स्थानीय सरकारले मात्र गरेर नहुँदो रहेछ ।

जलबायु परिवर्तनले बिस्तार–बिस्तार हामीलाई धेरैतिरबाट गाँजिरहेको छ । चैतमा गुराँस फुल्छ भनेर हामीले पढेको हो । हाम्रा पाठ्यक्रममा गुराँस फुल्ने मौसम चैत्र, बैशाख भनिएको छ तर अहिले माघ फाल्गुणमा गुराँस फुल्न थाल्यो । पाठ्क्रममा राखिएका यस्ता धेरै कुराहरू गलत साबित हुन थाले । कतिबेला के हुन्छ भन्नै नसकिने अवस्था आइरहेको छ । जलबायु परिवर्तनको मुद्दा स्थानीयदेखि प्रदेश हुँदै सङ्घीय सरकारको प्राथमिकतामा अहिले नै परेन भने भविष्यमा हामीले धेरै ठुलो क्षति ब्यहोर्नुपर्नेछ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन, वातावरणसँगै अब जलवायु थपेर वन, वातावरण तथा जलवायु मन्त्रालय बनाउने प्रतिबद्धता रारामा ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो- ‘यो समस्यालाई समाधान गर्न अब शाखाले मात्र नपुग्ने रहेछ ।’ मन्त्रालयमा बसेर नीतिगत काम गरिरहनुभएका डा. माधव कार्की, डा. मञ्जित ढकाल, दीपा वलीलगायतको टीम अहिले संयुक्त राष्ट्रसंघले आयोजना गर्ने २९औँ जलवायु विश्व सम्मेलनको तयारीमा जुटेको छ । मन्त्रालयले प्राविधिक शब्दहरू मिलाएपनि अनुभव र आवाज भने जनताबाटै लिनुपर्छ भन्ने उद्देश्यले साथसाथै संस्थाकी अध्यक्ष प्रजिता कार्की र साथसाथै टीमले मन्त्रालयसँग साझा अभियान सुरु गरेको छ । पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएकी विषयविज्ञ डा. विमला राई पौड्यालले स्थानीय जनप्रतिनिधिहरूसँग गर्नुभएको सहजीकरणबाट आगामी नोभेम्बर १० देखि २२ सम्म अजरबैजानमा हुने कोप २९ का लागि धेरै कुराहरू आएका छन् । डा. पौड्यालसँग जलबायु परिवर्तनका सन्दर्भमा प्राविधिक ज्ञान धेरै छ ।

यस्तै, एलजीबीटीआईक्यूलाई प्रतिनिधित्व गर्ने भूमिका श्रेष्ठ, पर्यटन बोर्डकी संयोजक श्रद्धा श्रेष्ठ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, ब्यवसायी रमिला नेमकुल, मधेशी आयोगकी सदस्य रेनु साहका विविधताले भरिएका धारणाहरू महत्वपूर्ण छन् । उक्त सत्रका सहजकर्ता डा. मञ्जित ढकालका लागि ‘लोकल टु ग्लोबल’ गर्न ती धारणाहरू उपयोगी हुनेछन् । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, प्रेस युनियनका पूर्व अध्यक्ष बद्री सिग्देल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले आफ्नो ब्यवसायिक कार्यसँगै कार्यक्रमलाई सफल बनाउन निर्वाह गरेको संयोजनकारी भूमिका उल्लेखनीय छ । जलवायु परिवर्तनका विषयमा निरन्तर कलम चलाइरहने पत्रकार गोविन्द पोख्रेल, रुद्र सुवेदी, इन्दिरा अर्यालले रारामा बस्दाबस्दै अन्य धेरै रिपोर्टिङ भ्याए । ब्यवसायिक पत्रकारका लागि कुनै पनि ठाउँ आफ्नो कार्यस्थल हो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग विषयगत ज्ञानसँगै जलवायु परिवर्तनका सन्दर्भमा आफ्नो कार्यकालमा केही ठोस काम गरुँ भन्ने चाहना देखिन्छ । यो चाहना पूरा गर्नका लागि उहाँले सम्बन्धित अन्य मन्त्रालय र स्थानीय, प्रदेश र सङ्घबीच संयोजन गर्नुपर्नेछ । माटोसँग सम्बन्धित काम नगरी जलवायु परिवर्तनबाट जोगिन सम्भव छैन । कृषकहरूका अभ्याससँगै नीति बनाउनुपर्नेछ । त्यसका लागि तीन तहकै सरकारले बजेट छुट्याएर काम गर्नुपर्नेछ । हामीकहाँ ‘क्लाइमेट चेन्ज’ भन्ने शब्दलाई निकै प्राविधिक (टेक्निकल) बनाइएको छ र यसमा प्रयोग हुने कतिपय शब्दहरू सर्वसाधारणले बुझ्ने खालका छैनन् । कतिपयलाई यसमा काम गर्न त विज्ञ नै हुनुपर्छ भन्ने पनि छ । कतिले ‘यसले/यिनीहरूले अब क्लाइमेट चेन्जमा बोल्ने ? लेख्ने ?’ भन्दै प्रश्न उठाउने पनि गरेका छन् । क्लाइमेट चेन्जमा काम गर्नका लागि, लेख्न/बोल्नका लागि प्राविधिक शब्दावलीवाला विज्ञभन्दा बढी अनुभव, भोगाइ, सिकाइहरू महत्वपूर्ण छन् । ग्रीन ‘हाउस ग्यास’ वा ‘ग्रीन हाउस इफेक्ट’ नबुझ्नेले सल्लाका रुख हटाएर अब जमिनलाई सजिलो हुने, माटोलाई मलिलो बनाउने रुख रोपौँ भन्न सक्छन् । पानीका मुहान सुकेर टाढा-टाढाबाट पानी बोक्नुपर्ने महिलाहरूले पाएको दुःख र त्यसबाट उनीहरूमाथि परेको असर ‘जेण्डर एण्ड क्लाइमेटचेन्ज’ हो भन्ने थाहा नपाएपनि दुर्गम गाउँमा टाढादेखि गाग्रीमा बोकिने पानी पाठेघर खस्ने कारणमध्येको एक कसरी बन्दैछ भन्न सक्छन् ।

काठमाडौंमा गएको बाढीपछिका खोलाका किनारहरू हेरौँ त… पूरै प्लाष्टिकले भरिएका छन्, जुन प्लाष्टिक मान्छेले प्रयोग गरेका हुन् । माटोलाई रुख चाहिन्थ्यो तर हामीले जताततै बिनायोजना सिमेन्टका घर खडा गरिदियौँ । पिचरोड विकासका दृष्टिले राम्रै होला तर जमिनका लागि त आफ्नो अवसान हो । अहिले आ-आफ्नो टोलमा कसरी पिचरोड पुऱ्याउने भनेर जनप्रतिनिधिको होड चलेको छ । प्राकृतिक विपदका लागि गाउँ-गाउँमा डोजर मुख्य कारण बन्दैछन् । अहिले नै शहरका धेरैजसो बच्चा र युवाहरूलाई पानीको धारा या कुवा हुन्छ भन्ने थाहा छैन । उनीहरूका लागि त पानीको मुहान प्लाष्टिक जार हुन्, पानी त बोतलमा हुने कुरा हो । अबको केही दशकपछिको अवस्था के होला ? ती जार या बोतलमा कहाँबाट ल्याएर पानी भर्ने होला ? यो धेरै नै सोचनीय विषय हो ।

युरिया मलले हाम्रा जमिनलाई जरजर बनाइसकेको छ, अब फेरि जैविक मलतिर फर्कनैपर्छ । बंगलादेशबाट समयमा युरिया मल आएन भनेर अब किसानले चित्त नदुखाउँ, बस्तुपालन गरौँ, मल हालौँ र पुरानै ठाउँमा फर्किऔँ । विशेषज्ञका मात्र नभएर यी सर्वसाधारण सबैका मुद्दा हुन् । क्लाइमेट चेन्ज राजनीतिक मुद्दा हो, आर्थिक, वातावरणीय, परराष्ट्र, पर्यटन, स्वास्थ्य, शिक्षा, भूमि, वन, सूचना, संचार, संघ, प्रदेश, स्थानीय सबैको मुद्दा हो । मान्छेको मात्र नभएर यो प्राणी जगतको मुद्दा हो । सबै प्राणीमा विवेक नहुने हुँदा अन्य प्राणीका लागि पनि मान्छेले नै जिम्मेवारी लिनुपर्ने विषय हो । सबैभन्दा ठुलो त मान्छेकै कारण सिर्जित भएकाले यो नागरिकको मुद्दा हो ।