शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि नशासम्बन्धी र अक्सिजन मात्रा कम हुने समस्याबाट पीडित शर्माको बिहीबार दिउँसो ४ः३० बजे चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँको शनिबार बिहान ९ बजे पशपुति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । शर्माका एक श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । जेठा छोरा क्यानडामा रहनुभएको र उहाँ आउन समय लाग्ने भएकाले शनिबार अन्त्येष्टि गरिने लागिएको हो । हाल उहाँको शव अस्पतालमै राखिएको छ ।
एक वर्षअघि नेपालमा उपचार गर्दा निको नभएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गर्नुभएका शर्माको केही समय मेडिसिटी अस्पतालको आइसियु कक्षमा राखी उपचार गरिएको थियो । उहाँको शरीरमा पुनः अक्सिजनको मात्रा कमी भएपछि उपचारका लागि ओम अस्पताल लगिएको थियो ।
शर्मा त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक हुनुहुन्थ्यो । उहाँले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्षका रुपमा काम गर्नुभएको थियो । यसैगरी प्रा. शर्माले मदन भण्डारी मेमोरियल क्याम्पसको प्रमुख भई लामो समय काम गर्नुभएको थियो ।
नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको संस्थापक महासचिव समेत रहनुभएका शर्माले केही समय उच्च माध्यमिक शिक्षा परिषद्मा उपाध्यक्ष भइ काम गर्नुभयो भने २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट नवलपरासीबाट उम्मेदवार हुनुभएको थियो । शर्मा केही समय त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा सह नियन्त्रक समेत हुनुभएको थियो ।
प्रतिक्रिया