✍ सुनिल उलक

कुनैबेला पोखरामा एक गुरू हुनुहुन्थ्यो । शिक्षक नभएर वहाँ तन्त्र साधनाका गुरू हुनुहुन्थ्यो । वहाँ शायद पुरानो टुकुचेका बासिन्दा हुनुहुन्थ्यो । युवाकालमा भारत जानुभएपछि वहाँ धेरै वर्ष उतै हराउनुभयो । हराउनुभएको ३५-४० वर्षपछि फर्केर नेपाल आउनुभयो । वहाँको नाम मनोहरप्रसाद शेरचन थियो । थकाली भएको कारणले गर्दा वहाँलाई सबैले थकाली गुरू भन्ने गर्दथे ।
तन्त्र साधनाका ज्ञाता वहाँले तन्त्र साधनाबाट थुप्रैको उपचार पनि गर्नुभयो । पोखराको बगरस्थित पृथ्वीनारायण कलेजको माथिल्लो गेटनजिकै बस्नु हुने वहाँ अविवाहित भएपनि एक धर्मछोरीको साथ बस्नुहुन्थ्यो । धर्मछोरीका छोरालाई वहाँले नाती मानेर आफ्नो हक दिनुभएको थियो । तन्त्र साधनाको ज्ञान वहाँले कसैलाई पनि दिनुभएन ।
अन्दाजी वि.सं. १९४७ तिर जन्मनुभएका मनोहर प्रसाद शेरचन १२-१५ वर्षको उमेरमा घरबाट हराउनुभए पनि वि.सं. २०१० तिर नेपाल फर्कनुभएको थियो । नेपालमा विभिन्न स्थानमा बस्दै पछि पोखरा, बगरमा स्थाइ बसोबास गर्नुभयो । १०३ वर्षको उमेरमा २०५० को पौष महिनामा वहाँले इच्छामृत्यु अंगिकार गर्नुभयो । मृत्युवरणको बेला सबैसँग बिदा लिएर वहाँ कोठाभित्र ध्यानमा जानुभयो । केही समयपछि कोठामा वहाँ मृत भइसक्नुभएको थियो । वहाँ बित्नुभएको पनि ३० वर्ष पूरा भइसकेको छ । वहाँको नाति बगरको घर बेचेर अहिले दिपमा बस्नुहुन्छ ।

सायद पुराना थोरैलाई मात्र वहाँबारे जानकारी होला । वहाँसँग रहेका तन्त्र साधनाका महत्वपूर्ण बस्तुहरू जस्तै स्यालको सिङ, दाहिने शंख, एकमुखे रूद्राक्ष, गौलोचन आदि विभिन्न ब्यक्तिले हात पार्न सफल भएका थिए । वहाँको निकटताले यी दुर्लभ वस्तुहरु हेर्ने सौभाग्य पङ्क्तिकारले पनि पाएको थियो । हालै मैले पाएको जानकारीअनुसार यी वस्तुहरु राजपरिवारको संग्रहमा पनि रहेछन् । दाहिने शंख र एकमुखे रुद्राक्ष धेरै नै भेटिएपनि स्यालको सिङ र गौलोचन भने निकै दुर्लभ मानिन्छ । स्यालको सिङ केही समयपछि नेपालको एक सरकारी संग्रहालयमा सार्वजनिक प्रदर्शनमा राखिँदैछ । गौलोचन भने शायद पछि राखिन्छ होला ।
मदिरा अत्यधिक सेवन गर्नुहुने वहाँको लत भएपनि वहाँले मृत्युलाई लामो अवधिसम्म जित्नुभयो । अन्तमा कुनै रोगले नभइ वहाँले इच्छामृत्युबाट संसार त्याग्नुभयो ।
मध्यरातमा मसानघाटमा बसेर साधना गर्नुपर्ने हुँदा जो-कोहीले तन्त्र विज्ञानका कठिन साधनाहरु गर्न सक्दैनन् । मध्यरातमा गरिने यस प्रकारका साधनाहरु मैले नजिकबाट हेरेको छु । पोखराको सेती नदीको मसानघाट र नारायणी नदीको मसानघाटमा साधकहरुका साथ मध्यरातमा पुगेको छु । वैदिक मन्त्रमा भन्दा तन्त्रमा मलाई पनि बढी विश्वास लाग्दछ ।
थकाली गुरु पनि एक महान तान्त्रिक हुनुहुन्थ्यो तर समयसँगै वहाँलाई पोखरेलीले बिर्सिसके । पोखराका एक प्रतिष्ठित ब्यापारीलाई प्यारालाइसिस हुँदा विदेशमा समेत उपचार हुन सकेन, अन्तमा वहाँले तन्त्रको शक्तिले निको बनाइदिनुभएको थियो । कुनै पनि उपचारको नगद नलिने वहाँलाई सो समय ती ब्यापारीले घरमा लाखौँ रुपैयाँबराबरका विभिन्न सामग्रीको सहयोग गरेका थिए ।
प्रतिक्रिया