व्यवसायी लामामाथि आक्रमण : बेलायतनिवासी लक्ष्मी राईविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी

व्यवसायी लामामाथि आक्रमण : बेलायतनिवासी लक्ष्मी राईविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी


काठमाडौंमा रियल स्टेट कारोबार गर्ने नुवाकोटका युवा व्यवसायी विक्रम लामामाथि कार्तिक ११ गते आइतबार बिहान साढे एघार बजे लाजिम्पाटस्थित उनकै कार्यालयअगाडि रहेको पार्किङमा चार जनाको समुहले ज्यान मार्ने उद्देश्यले मरणासन्न हुने गरी रड प्रहार गरे । लाजिम्पाटको मूल सडकको आडमै उक्त घटनापछि अचेत अवस्थामा रहेका लामालाई तत्काल अस्पताल पुऱ्याउँदा उनी बाँच्न सफल भए भने बटुवाहरुले घटनास्थलबाटै नुवाकोट जिल्ला बेलकोटगढीका ३० वर्षीय मार्शल भन्ने शैलेन्द्र तामाङलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए ।

प्रहरीले घटना घटेको १८ दिनपछि घटनामा संलग्न गण्डकी गापा-४, गोरखाका २९ वर्षीय निश्चल सुनारलाई पनि पक्राउ गऱ्यो ।उनीहरूको बयान र घटनास्थलको सिसिटिभि फुटेजबाट घटना घटाउन मुख्य भूमिका खेल्ने ककनी-४, नुवाकोटका अजय लामा र आरुपोखरी-९, गोरखाका दीपक बरामु भने अझै फरार छन् ।

काठमाडौं प्रहरी परिसर प्रमुख वसन्त रजौरेका अनुसार उक्त घटनाका मुख्य योजनाकार र फरार व्यक्तिहरुको खोजी कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको र उनीहरू छिट्टै पक्राउ पर्ने बताएका छन् ।

प्रहरी प्रमुख रजौरेका अनुसार अजय लामा भन्ने व्यक्ति पहिले पनि जेल भुक्तान गरिसकेका र घटनामा संलग्न अन्य व्यक्तिहरुको विषयमा पनि अनुसन्धान भइरहेको बताए । उनले भने- हामी घटना र घटनामा संलग्न व्यक्तिहरुका बारेमा गहिरो तरिकारले अनुसन्धान गरिरहेका छौँ ।

अजयले घटना घटाउनु केही दिनपहिले आफूनजिकका साथीहरुलाई ‘कतैबाट राम्रो सुपारी आएको हुँदा काम फत्ते गर्न तयार रहन’ भनेको पक्राउ परेकाहरुले प्रहरी समक्ष बताएको बुझिएको छ । प्रहरीले भने उक्त सुपारी कोबाट कसरी आयो ? भन्ने विषयमा पनि फरक कोणबाट सुक्ष्मरुपले अनुसन्धान गरिरहेको बुझिएको छ । पीडितका परिवारले भने यो घटनाको मुख्य योजनाकार हाल लण्डनमा बस्ने न्यू लक्ष्मी ज्वेलर्सकी संचालिका तथा सुनचाँदी व्यवसायी लक्ष्मी राई हुनसक्ने तर्फ इंगित गर्दै राईलाई समेत ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् ।

लक्ष्मी, विक्रमको आफ्नै दाइ दिपेश लामाकी पूर्वपत्नी हुन् । यो नाताले लक्ष्मी, विक्रमकी पूर्वभाउजु हुन् ।

पढाइको सिलसिलामा बेलायत पुगेका दिपेश र लक्ष्मीको चिनजान २००९ मा बेलायतमै भयो । चिनजानको दुई वर्षपश्चात सन् २०११ देखि दिपेश र लक्ष्मी ‘लिभिङ टुगेदर’को रुपमा बस्न थाले भने सन् २०१२ मा उनीहरुले बेलायतको अल्डरसटमा न्यू लक्ष्मी ज्वेलरिज भन्ने सुनचाँदी पसल खोले । पसल खोलेको दुई वर्ष पछि दिपेश र लक्ष्मी १६ मे २०१४ मा वैवाहिक सम्बन्धमा गाँसिए । सोहि वर्ष २५ जुलाईमा उनले नेपाली नागरिकता त्याग गरी बेलायती नागरिकता लिइन् ।

छोटै समयमा कारोबार फस्टाएपछि उनीहरुले थप दुईवटा गहना पसल, न्यू लक्ष्मी सिल्भर हाउस, बुटिक र बार समेत संचालनमा ल्याए । लामाको पारिवारिक सुत्रका अनुसार गहना पसलको सम्पूर्ण जिम्मेवारी दिपेशको थियो भने लक्ष्मीको आउजाउ र बसोवास प्रायः नेपालमा हुने गर्दथ्यो । पसलको आम्दानी लगायत अन्य व्यक्तिहरुबाट व्याजमा पैसा लिएर लक्ष्मीले आफू खुसी उदयपुर स्थायी घर भएर काठमाडौं लाजिम्पाट बस्दै आएकी दिदी अम्बिका रासकोटी र अरुसँग मिलेर नेपालमा जग्गा लगायत अन्य कारोवारमा गोप्य रुपले लगानी गर्ने गर्दथिन् ।

लक्ष्मीले नेपालमा व्यापार व्यवसाय गर्ने भन्दै बेलायत र नेपालका विभिन्न व्यक्तिहरुबाट ऋण लिने, लगानीकर्ता समेत खोज्ने र खर्चमा अपारदर्शिता र उनको निजी आनिबानीका कारण जटिल बन्दै गएको वैवाहिक सम्बन्धमा केसी थरका अल्डरसटका नेपालीमूलका तत्कालिन काउन्सिलरसँग रंगेहात भेटेपछि उनीहरुको वैवाहिक सम्बन्ध सदाका लागि अन्त्य हुने तर्फ लाग्यो । दिपेशले सम्बन्धविच्छेदका लागि अदालतमा मुद्धा हालेपछि २० मे २०२२ मा उनीहरुको वैवाहिक सम्बन्धमा पूर्ण बिराम लाग्यो ।

सुत्रका अनुसार बैङ्क र व्यक्तिहरुबाट लिएको निजी ऋणका कारण लक्ष्मीले दिपेशसंगको सम्बन्ध बिच्छेद गर्न चाहेकी थिइनन् । उनले व्यक्तिगत ऋणको दायित्व पनि पतिलाई बोकाउन चाहान्थिन तर विक्रमलगायत परिवारका अन्य सदस्यहरुले त्यस्ता महिलासँग बस्न र कारोबार गर्नुभन्दा सम्बन्ध बिच्छेद गर्न नै उपयुक्त हुने दबाब दिएपछि दिपेशले सम्बन्धबिच्छेदको प्रकृया अगाडि बढाएको बुझिएको छ । यो नै लक्ष्मी र विक्रमबीच दुश्मनीको मुख्य कारण बन्यो ।

त्यसपछि लक्ष्मी विक्रमलाई जसरी भएपनि सिध्याउँछु भन्ने योजनामा लागेको बुझिन्छ । लक्ष्मीले विक्रमलाई सिध्याउन नेपालमा केहि पत्रकार र सत्ताको आडमा अनेकौँ षडयन्त्र गरेको लामाको पारिवार बताउँछ ।

गत वर्ष आश्विन महिनामा पनि लक्ष्मीकै योजनामुताविक तत्कालिन प्रदेशमन्त्रीका एक जना स्वकीय सचिवले लागुऔषध नियन्त्रण ब्युरोमा ‘विक्रम लागुऔषध कारोबारी भएकोले तत्काल पक्राउ गर्न’ बारम्बार दबाब दिएपछि ब्युरोका प्रहरी र तालिम प्राप्त कुकुरले विक्रमको निवासमा खोजतलास गरेको थियो । तर दबाब दिने व्यक्तिले भने जस्तो केही भेटेन ।

घर खानतलासको योजना असफल भैसकेपछि एक हप्तापछि सागर कडायत नामको एक जना व्यक्तिले विक्रमलाई फोन गरेर ‘कसैले गाडीमा लागुऔषध हाल्न लागेको र हालिसकेपछि तुरुन्त प्रहरी पुग्ने योजना रहेको’ बतायो ।

कतै सूचना दिने नै त यो योजनामा संलग्न छैन ? भन्ने आशंका उत्पन्न भैसकेपछि विक्रमले प्रहरीको मद्दत मागे । प्रहरीले निज कडायतलाई पक्राउ गरी लामो समयसम्म केरकार गऱ्यो । योजनामा संलग्न अन्य व्यक्तिको खोजीमा प्रहरीले केहि समय खर्चिए तापनि यो घटनाबीचमै सेलायो ।

यसरी दुबै प्रयास असफल भएपछि गत वर्ष पुनः विक्रमलाई सत्ता र शक्तिको आडमा फसाउन सुनतस्कर हो भन्दै तत्काल पक्राउ गरी अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोमा कतैबाट दबाब दिइयो ।

व्युरोले विक्रमसँग अनुसन्धानका लागि भन्दै पटक-पटक बयान लियो । मोवाइलको परीक्षण समेत गरियो । तर, सुन तस्कर र तस्करीसँग जोडिएको कुनै पनि प्रमाण भेटेन । सिविआई स्रोतका अनुसार विक्रममाथि विभिन्न दृष्टिकोणले अनुसन्धान गर्दासमेत उनमाथि लगाएको आरोप प्रमाणित हुने कुनै अवस्था देखिएन । दुःख दिने नियतले यो गरिएको हुनसक्छ ।

एक प्रहरी अधिकृतका अनुसार लागुऔषधमा फसाउन खोजेको व्यक्ति र सुन तस्कर हो भनेर दबाब दिने व्यक्ति एउटै भएको बताए ।

यसरी विक्रमलाई जसरी भएपनि सिध्याउने योजना मुताविक एकपछि अर्को घटना घटाउन र फसाउन लागेपछि विक्रमले घटनाको जानकारीसहित शान्तिसुरक्षा र जीउधनको रक्षाका लागि ६ महिनाअघि प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान व्युरोमा निवेदन दिएका थिए ।

विक्रम भन्छन् ‘म नेपालमै केही गर्नुपर्छ भनेर सामान्य व्यवसाय, पेशा गरेर बसेको व्यक्ति हुँ । विदेश पलायन हुन चाहेको भए हुनसक्थे तर युवा उर्जा नेपालमै बसेर केहि गरौँ भन्ने सोचअनुरुप सानोतिनो व्यवसाय गर्दै आएको मानिसलाई ज्यान मार्ने उद्देश्यले दिनदहाडै आक्रमण भएको छ । यसको पछाडिको योजनाकार हामीले पहिचान गरिसकेका छौँ । प्रहरीले यो विषयमा सुक्ष्म अध्ययन गरेर घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही हुने छ भन्नेमा म विश्वस्त छु ।’

यसैबीच विक्रमको परिवारले माथि उल्लेखित चारजनासहित पूर्वभाउजु लक्ष्मी राई समेतलाई ज्यानमार्ने उद्योगमा प्रहरीसमक्ष जाहेरी दर्ता गराएका छन् भने प्रहरीले विगतका घटनाहरुमा राईको संलग्नताबारे विभिन्न कोणबाट अध्ययन अनुसन्धान गरिरहेको बुझिएको छ । यदि घटनामा लक्ष्मीको संलग्नता रहेमा प्रहरीले आफ्नो संयन्त्रको प्रयोग गरी जुनसुकै स्थानबाट पक्राउ गर्न सक्ने अनुमान गरिएको छ ।

को हुन् लक्ष्मी राई ?

भोजपुर ठुलोछुम्मा जन्मेकी ५१ वर्षीया लक्ष्मीको पछिल्लो बसाइ धरान–१३ मा छ । नेपालका राजनैतिक व्यक्ति तथा पत्रकारहरुसंग उठबस गरेको आफ्नो फोटो सामाजिक संजालमा राख्दै आफ्नो पहँुच र प्रभाव उच्च तहसम्म भएको देखाउने गर्दछिन् ।

दुई दशकभन्दा बढी समय बेलायतमा बिताएकी राईको वाहिरी जीवन जति सरल र विलासी देखिन्छ भित्री जीवन भने कष्टपूर्ण रहेको उनी निकट बताउँछन् ।

पछिल्लो समयमा केन्द्रीय अनुसन्धान ब्युरोले बेलायती र नेपाली नागरिकता अर्थात् दोहोरो राहदानीको प्रयोगको विषयलाई लिएर उनीमाथि अनुसन्धान थालेको नेपाली मिडियाहरुले समाचार प्रकाशित गरेका छन् ।

जसअनुसार लक्ष्मीले २००४ फेब्रुअरी ४ का दिन पहिलो पटक २१५८४८९ नम्वरको नेपाली राहदानी लिएको र २८ फेब्रुअरी २०१४ मा नविकरण गरेर ०७११३०३४ नम्वरको दोश्रो राहदानी लिएको देखिन्छ ।

त्यसैगरी उनले २५ जुलाई २०१४ मा बेलायती राहदानी लिएको देखिन्छ भने राष्ट्रियतामा बेलायती नागरिक उल्लेख छ ।

यसरी उनको २०१४ मा बेलायती नागरिकको हैसियतले बेलायती राहदानी लिइसक्दा पनि नेपाल आउने जाने क्रममा दर्जनौँ पटक नेपाली राहदानी प्रयोग गरेकोले गोप्य सूचनाको आधारमा ब्युरोले अनुसन्धान थालेको छ । नेपाली कानुनअनुसार दोहोरो नागरिकता वा पासपोर्ट प्रयोग गर्नु दण्डनीय अपराध मानिन्छ ।

त्यस्तै, उनले नेपालमा लगानीका लागि विभिन्न व्यवसायीक योजनाहरू देखाउँदै बेलायतीमा रहेका प्रवासी नेपालीहरुसँग नगद र ऋण गरी दशौँ करोडौँ रकम उठाएको बेलायतका उनी निकट एक जना प्रवासी नेपालीले बताए ।

अहिले भने उनको कारोबार खस्किएको र दिएको रकम फिर्ता माग्न आउनेहरुको लामै लर्को लागेका कारण उनी तनावमा रहेको बुझिएको छ ।

यस बाहेक उनी हुण्डीको कारोबार गर्ने र नक्कली विवाहमार्फत मानिस बेलायत लाने र कामदार आदि भन्दै व्यक्तिसँग मोटो रकम असुल्ने गरेको पनि बुझिएको छ ।

विभिन्न समयमा धेरैसंग घरबार बिगारेकी राई हाल धादिङनिवासी रमेश सिलवालसंग वैवाहिक सम्बन्धमा गाँसिएकोले उनीहरुलाई स्वागत गरेको र बधाई दिएका तस्बिरहरु नेपाली सुनचाँदी व्यवसायी युकेद्वारा बनाइएको सामजिक संजाल ग्रुपमा छ । यो सँगै उनले सिलवालसंग पछिल्लो विवाह गरेको अनुमान गरिएको छ ।

सिलवाल र राईको सम्बन्ध निकट बनाउन पत्रकार ऋषि धमलाको विशेष भूमिका रहेको बुझिएको छ । हाल सिलवाल पनि बेलायत रहेका छन् भने राईले केही समयपहिले आफ्नो फेसबुकमा ‘मेरो पुरानो साथीसंग चिया गफ’ भन्दै पत्रकार धमला र आफ्नो तस्बिर पनि सार्वजनिक गरेकी थिइन् ।