विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ ।
महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई शनिबार (८ मङ्सिर) रु ३० ∕ ३० हजारसहित सम्मान गरेको हो । त्यसैगरी नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान विन्दु रावललाई रु ५० हजार र टोलीका सहायक प्रशिक्षक जानकी भट्टलाई रु ३० हजार नगदसहित दोसल्ला ओढाएर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्मान गरे ।
खेलाडीलाई सम्मान गर्दै मन्त्री थापाले खेलाडीहरुको मेहनतले देशकै प्रतिष्ठा जोगिएको उल्लेख गर्दै प्रदेश सरकारबाट खेलकुदको विकासका लागि पहल गरिने बताए । “प्रदेश सरकारले खेलकुदको विकासका लागि पूर्वाधार विकासमा पहल गर्छ, हाम्रो यहाँ पूर्वाधारको अभावमा पनि खेलाडीहरुले धेरै मेहनत गरेकाले अब सरकार पूर्वाधार विकासमा लाग्छ”, उनले भने ।
जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले सरकारले क्रिकेटको विकासमा जोड दिनुपर्ने बताए । ‘खेलाडीहरुको विकासका लागि क्रिकेट सङ्घले विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ, कञ्चनपुरका थुप्रै खेलाडीले राष्ट्रिय टोलीबाट खेलिरहेका छन्’, अध्यक्ष चन्दले भने ।
खेलाडीका लागि खेलमैदान पहिलो आवश्यकता रहेकाले प्रदेश सरकारले खेलमैदान निर्माणका लागि सहयोग गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘यहाँ ठूलो प्रतियोगिता सञ्चालन गर्नका लागि राम्रो खेलमैदान छैन्, स्थानीय कबर्ड हलमा प्रतियोगिता गराउनुपर्छ, तीनै तहका सरकारले खेलकुदको विकासका लागि पूर्वाधारमा लगानी गर्न आवश्यक छ ।’
होली फेम्ली क्रिकेट एकेडेमीका अध्यक्ष भुपालसिंह विष्टले खेलाडीको हौसलाका लागि सम्मान गरिएको बताउनुभयो । गत महिना युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसिसी १९ वर्ष मुनिको महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो । सन् २०२५ को जनवरीमा मलेसियामा हुने १९ वर्ष मुनिको महिला विश्वकपमा नेपालले सहभागिता जनाउने छ ।
photo: rss
प्रतिक्रिया