अलिखित इतिहासको पानाबाट योगिनी कृष्ण कुमारी

अलिखित इतिहासको पानाबाट योगिनी कृष्ण कुमारी


सुन सुन पाँच सुन सब भाइ
थरहरी पाऱ्यो नरलोकलाई ।
तेत्तीस साल जाँदो फाल्गुनको महिना
यमराजले देखाए कालको ऐना ।

‘श्री ३ महाराज प्रधानमन्त्री जंगबहादुर राणाको सवाई’बाट उद्धृत अंश मेरो मानसपटलमा अझै ताजा छ । बालयोगिनी कृष्णकुमारी मेरी जेठी फुपू जो २०४१ साल मंसिर महिनाको बालाचतुर्दशीका दिन यस धर्तीलाई छाडेर सदाका लागि परलोक जानुभो । खास प्रसङ्ग आउने र जानेको मात्र होइन यो त जुगौँजुगदेखि चलि नै रहेको छ । राणा प्रधानमन्त्री श्री ३ रणोद्दीप सिंहदेखि जान्दै आउनुभएका मेरा हजुरबुबा स्व. पुर्णचन्द्रको युगभन्दा उपल्लो स्तरको चेतना स्तरको प्रसङ्ग हो । जतिबेला सतिप्रथा पुर्णरूपमा जकडिएको मानव समाजको कलंकित विषय भएता पनि सर्वमान्य र अनिवार्य शर्त जस्तै थियो । नेपाली समाजका सम्पुर्ण विवाहित महिलाहरू जो जुनसुकै उमेर समुहका भएपनि गर्भिणी अवस्थामा बाहेक श्रीमान्को मृत्युपछि बाँच्न पाउने हक राख्दैन थिए । महिलाहरूको यस्तो टिठलाग्दो सामाजिक अवस्था त्यसमा पनि सम्पत्ति शिक्षादीक्षाको अधिकार त झनै शून्य !

यस्तो विकराल सामाजिक परिवेशमा समेत आफ्ना छोरीलाई उचित शिक्षादिक्षा दिनमा प्रेरित गर्ने सम्पत्तिको हकसमेत समान रुपले वितरण गर्नुपर्छ भन्ने चेत भएका हाम्रा हजुरबुबाले पुर्विय दर्शनमा आधारित ग्रन्थहरू घरमै गुरु राखेर पढाउनुभएको रहेछ । त्यसैले त हाम्री फूपू कृष्णकुमारी गीता, महाभारत, रामायण, कृष्णचरित्र, चाणक्य नीति विदुरनीति, दुर्गा सप्तसति चण्डी, रुदी, लघुकौमुदी लगायत सवाई स्लोक सबै कण्ठस्त थियो । माथि उल्लिखित सबै ग्रन्थहरू ब्यवहारमा समेत उत्तिकै लागू गर्न सक्ने व्यक्तित्वको विकास आफूमा कायम राख्नुभएकी कृष्णकुमारी आफैं बालविधवा महिला हुनुहुन्थ्यो । पाँच वर्षको उमेरमा विधवा भएर जन्मघरमै बस्नुभएको थियो । सोही घरलाई कर्मथलो बनाएकी ती विदुुषी ज्योतिष र हस्तरेखाको समेत ज्ञाता हुनुहुन्थ्यो ।

शिक्षाको उज्यालोले समाजको अन्धकारलाई चिर्छ भन्ने दृढ विश्वासका धनी पुर्णचन्द्रले छोराछोरीलाई शिक्षा मात्र होइन सिङ्गो घर-परिवारका हालिमुहाली समेत छोरीकै जिम्मामा छाडिदिनुभयो । तत्पश्चात छोरीको प्रबन्ध क्षमताको समेत परख गर्नुहुने तात्कालिन श्री ३ महाराज चन्द्र सम्शेरका निकटस्थसमेत मानिन्थे । उनैले ‘सामाजिक कारुणिकताको उपर कृपादृष्टि दिइ समाजको परिवर्तन महाराजकै हुकुमबाट हुनुपर्छ, त्यसैले यो सतिप्रथा जस्तो मानवसमाजको कलंकलाई उन्मुलन गरिबक्सनुभए अमर होइबक्सन्छ महाराज’ भन्दै सुझावी विन्तिपत्र श्री ३ को जुनाफमा चढाउनुभएको इतिहास बुबाहरूले सुनाउनुहुन्थ्यो । सोही सुझावलाई मध्यनजर गरेर हो वा महाराजको स्वविवेकले हो श्री ३ महाराज चन्द्रशमशेर जंङ्गबहादुर राणाकै शासनकालमा त्यो कुप्रथाको समेत अन्त्य भएको इतिहास सावित छ ।

तात्कालिक महाराजकै निगाहले होला हाम्रा हजुरबुबाले स्थानीय न्यायिक निकाय सम्हाल्नुभइ कोटघर र न्याय प्रशासनसमेत सोही क्षेत्रमा स्थापना गर्नुभयो । यसैगरी माहिला हजुरबुबा भवानीशंकर पाठकले द्वारे पद सम्हाल्नुभएको थियो । शिक्षाको विकाश आफ्नै गाउँघरबाट शुरुआत गर्नुपर्छ भन्ने शोच भए ती ऐतिहासिक स्थानीय शासकहरूले कालान्तरमा स्कुल स्थापना गरी पठनपाठनमा समेत योगदान दिएका थिए ।

उतिबेला पनि हाम्री फूपू कृष्णकुमारी स्थानीय स्कुलमा स्वयम् उपस्थित भएर शिक्षकहरूले राम्रोसँग पढाए/नपढाएको छड्के अनुगमनसमेत गर्नुहुन्थ्यो अरे ! शिक्षक छनौटमा समेत सहभागी हुने साथै विद्यार्थीहरूले समेत के कस्तो अध्ययन गरेका छन् उनिहरूको क्षमता-दक्षता समेत जाँचपडताल गर्ने काम गर्नुहुन्थ्यो भनिन्छ ।

हिसाब र आधुनिक शिक्षाको समेत भेउ पाउनुभएकी उहाँले आफ्नै किसिमले गाउँको तात्कालिक विद्यार्थीहरूलाई जाँच लिने र उनिहरूको क्षमता अनुकुल विभिन्न तौरतरिकाबाट प्रोत्साहन दिने काममा समेत निपुण हुनुहुन्थ्यो भन्ने उतिबेलाका पुस्ता अझै सम्झिरहेका छन् । रामायण स्लोक स्वर मिलाएर गाउने । देविभागवत, गीतालगायतका संस्कृत स्लोकहरू सस्वर अर्थ लगाएर सुनाउने । आवश्यकताअनुसार पात्रो तिथिमिति साइत मुहुर्त जुराउने काममा समेत दखल राख्नुहुन्थ्यो । उहाँका अनगिन्ती अध्ययन-अनुसन्धानले तात्कालिक समाज लाभान्वित भएको थियो भन्नेमा दुईमत रहेन ।

छोरीलाई अर्काको घरमा पठाउने जात हो भन्दै शिक्षा दिन कन्जुस्याइँ गर्ने तात्कालिक समाज एउटा उदाहरण जसले सिङ्गो मानवसमाजको विकासका लागि शिक्षा जस्तो अपरिहार्य विषयलाई त्यो अविकसित र विकराल कालखण्डमा समेत सारा समान विपरीत हुनेगरी निर्णय लिन सक्ने ती होनहार सपुतहरूकै परिवारमा जन्मने मौका मिलेर नै जतिसुकै दुःखका बाबजुद पढ्नुपर्छ भन्ने चेत उतिबेला विकाश त भयो तर बत्तीमुनिको अँध्यारो भनेजस्तो समग्र पछिल्लो पुस्ताले समान रुपमा निरन्तरता दिन नसक्दा त्यो सचेत समाज बिस्तारै पलायनतर्फ उन्मुख भयो । जेसुकै भएपनि आजसम्मको शैक्षिक जनसाङ्खिक आँकडामा भने अग्रणी नै मानिन्छ ।

यसरी, त्यस्तो अन्धकार राणाकालमा समेत आर्थिक सामाजिक वैभवका साथै समाजलाई समेत उज्यालोतर्फ डोऱ्याउन आफैभित्र जागरुक ब्यक्ति र त्यो अग्रसमाजको नमुना यद्यपि जीवितै छ । आजकै दिनमा गएर पनि त्यो समाज र स्थानको अध्ययन गर्न सहजै सकिन्छ । केही विश्वविद्यालयका शोधकर्ताहरूले समेत अध्ययनका लागि सो स्थानमा जाने गरेका छन् । वि.सं. १९१० ताका बनेका फ्रान्स र बेलायती दरबार शैलीका केही घरहरू समेत हेर्नलायक छन् । उचित जिर्णाेद्वारको कमीले होला अलिक फुङ्ग उडेको रंगरुप लिएर भएपनि इतिहास त्यो कालखण्डलाई जिउँदो तुल्याउने त्यस स्थानका पैदल हिँड्न बाटाघाटालाई हेरेर पनि सहजै अनुमान लाउन सकिन्छ । त्यस स्थानमा राजारजौटा लायकका ऐतिहासिक पहुँच भएकाहरूको बसोबास रहेछ । त्यो एउटा इतिहासको विकशित भूमि हो भन्ने प्रमाण हामीले दिइरहनु नपर्ला । इतिहासमा नलेखिएको त्यो समाज र सोही समाजका अग्र नर-नारीहरूलाई एकसाथ सम्झँदै स्वर्गीय फूपू योगिनी कृष्णकुमारीको पुण्यतिथि बालाचतुर्दशीको उपलक्ष्यमा हार्दिक श्रद्धा-सुमन अर्पण गर्दछु ।