विश्व क्रिकेट प्रमुखको रूपमा भारतका जय शाहद्वारा कार्यकाल सुरु

विश्व क्रिकेट प्रमुखको रूपमा भारतका जय शाहद्वारा कार्यकाल सुरु


भारतीय क्रिकेट प्रमुख जय शाहले आइतबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को अध्यक्षका रूपमा आफ्नो कार्यकाल सुरु गर्दै खेललाई ‘नयाँ उचाइमा’ लैजान चाहेको बताएका छन् ।

भारतका शक्तिशाली गृहमन्त्री अमित शाहका छोरा अगस्टमा खेलकुदको विश्व निकायद्वारा निर्विरोध निर्वाचित भइ ग्रेग बार्कलेको उत्तराधिकारी बनेका थिए । बार्कलेले तेस्रो कार्यकाल नचाहेको निर्णय गरेका थिए ।

छत्तिस वर्षको उमेरमा यो पद सम्हाल्ने शाह हालसम्मका सबैभन्दा कान्छो व्यक्ति हुन् ।

‘क्रिकेटमा विश्वव्यापी रूपमा अपार सम्भावनाहरू छन् र म यी अवसरहरू लिन र खेललाई नयाँ उचाइमा लैजान आइसिसी टोली र सदस्य देशहरूसँग नजिकबाट काम गर्न इच्छुक छु’, शाहले एक विज्ञप्तिमा भनेका छन् ।

सन् २०२८ को ओलम्पिकका लागि तयारी भइरहेको र ‘क्रिकेटलाई विश्वव्यापी प्रशंसकहरूका लागि थप समावेशी र आकर्षक बनाउन’ काम गरिरहेको खेलका लागि यो ‘रोमाञ्चक’ समय भएको उनले बताए । ‘हामी बहु ढाँचाको सहअस्तित्व र महिला खेलको विकासलाई गति दिने आवश्यकताका साथ एक महत्वपूर्ण मोडमा छौँ’, उनले भनेका छन् ।

विश्वको सबैभन्दा धनी क्रिकेट बोर्डको प्रमुखदेखि आइसिसीको नेतृत्व गर्न शाहको जबर्दस्त उदयले खेलको विश्वव्यापी प्रशासनमा भारतको प्रभुत्वलाई चित्रण गर्दछ । खेलकुद र राजनीति सँगै चल्ने देशमा शाह प्रधानमन्त्री नरेन्द्र मोदीका दाहिने हात अमित शाहका छोरा भनेर चिनिन्छन् ।

आइसिसी क्रिकेटका लागि विश्वव्यापी प्रशासकीय निकाय हो । यसमा सयभन्दा बढी सदस्य छन् र विश्वकप जस्ता विश्वव्यापी कार्यक्रमहरू आयोजना गर्न जिम्मेवार छ ।

भारतले आयोजक राष्ट्र पाकिस्तानको भ्रमण गर्न अस्वीकार गरेपछि अर्को वर्षको च्याम्पियन्स ट्रफीको भाग्य अधरमै परेपछि आफ्नो नयाँ काममा शाहको सुरुआत एउटा महत्त्वपूर्ण समयमा आएको छ । आइसिसीका स्रोतहरूले यस हप्ताको सुरुमा एएफपीलाई विवाद सुल्झाउने वार्ता अझै जारी रहेको बताएका थिए ।