नेपाल बुद्धिचाल महासङ्घ र भक्तपुर जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजना एवं सूर्यविनायक नगरपालिकाको आर्थिक सहयोगमा मंगलबार (१८ मङ्सिर) देखि भक्तपुरमा नेशनल बी चेस च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाद्वारा उद्घाटन गरिएको सो प्रतियोगितामा ४० पुरुष र २० शीर्ष महिला खेलाडीको सहभागिता रहेको छ ।
नगरप्रमुख थापाले भक्तपुर जिल्लाले बुद्धिचाल खेलको विकास र उन्नतिमा विशेष पहल गर्दै आइरहेका चर्चा गर्दै चेस खेलमा सूर्यविनायक नगरपालिकाले लगानी गर्ने वातावरण बनेको धारणा राखे । प्रतियोगिताबाट छनोट हुने नौ पुरुष र नौ महिला खेलाडीले नेपाल च्याम्पियनका शीर्ष तीन खेलाडीसँग राष्ट्रिय च्याम्पियनका लागि प्रतिस्पर्धा गर्ने खेलकुद विकास समिति भक्तपुरका निवर्तमान अध्यक्ष दीपक थापाले जानकारी दिए ।
आगामी माघको दोस्रो साता २५औँ राष्ट्रिय र १०औँ महिला राष्ट्रिय च्याम्पियन प्रतियोगिता हुनेछ ।
महिलातर्फ पहिलो चरणको खेलमा ओलम्पियाड खेलाडी शान्ति धिमाल झापाकी पुनम प्रसाईंसँग एक अङ्क गुमाउँदै पराजित भइन् । मंगलबारको खेलमा प्रसाईंसँगै कीर्तिपुरका विनिता कपाली, पर्साका सुशीला गुरुङ, चितवनकी लक्ष्मी कँडेल, ईषा गिरी, नयुमा मगर र निहाना श्रेष्ठले १–१ अङ्क जोडेका छन् ।
पुरुषतर्फको चेस प्रतिस्पर्धामा मकवानपुरका पुरुषोत्तम सिलवाल, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, दोलखाका आशिष् फुँयाल, बनेपाका राहुल चौ प्रधान, सुसन आचार्य, धीरेन राई, ललितपुरका सानुराज बज्राचार्य, रौतहटका एफएम रुपेश जैसवाल, झापाका प्रकाशचन्द्र नेपाल, हेटौँडाका सिएम मिलन लामाले खेल जितेर सुरुआति अङ्क जोड्न सफल भएका छन् ।
भक्तपुरका निकेन कुसाथा, ललितपुरका सुरोज महर्जन, काठमाडौँका सिएम नविन तण्डुकार, प्रेमकृष्ण महर्जन, भक्तपुरका राजेश कक्षपति, ललितपुरका सानुभाई महर्जन, विनय थापा र प्रसित खनालले जित हात पार्दै संयुक्त अग्रस्थानमा उभिन सफल भएका छन् ।
पाँच दिनसम्म चल्ने प्रतियोगितामा जम्मा ९ चरणको खेल हुने आयोजक नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिएका छन् ।
photo: rss
प्रतिक्रिया