डाइनामिक ग्रुप नेपालले भद्रपुर (झापा)मा स्वरसम्राट नारायण गोपालको सम्झना गर्दै बृहद साङ्गीतिक कार्यक्रम सम्पन्न गरेको छ ।
ग्रुपमा आवद्ध रहेका राष्ट्रिय तथा स्थानीय गायक-गायिकाहरूले नारायण गोपालका कालजयी गीतहरू गाएर साङ्गीतिक साँझ सम्पन्न गरेका हुन् ।
ग्रुपका अध्यक्ष तथा गायक/संगीतकार अर्जुन खरेलको अध्यक्षतामा सम्पन्न साङ्गीतिक साँझको उद्घाटन भद्रपुर नगरप्रमुख गणेश पोखरेलले गरेका थिए ।
साङ्गीतिक साँझमा अनिता पौडेल, अकिला कुमार झा, युनिक पाण्डे, ज्योति खाती, सिमरन आचार्य, वेदप्रकाश घिमिरे, उमेश पाण्डे, आयुष्मा घिमिरे लगायत स्थानीय गायक गायिकादेखि अर्जुन खरेल, गोविन्द रपभल लगायतले नारायण गोपालका गीत गाएर श्रोतालाई सुनाएका थिए भने मानवीय सेवामा महत्वपूर्ण योगदान दिएको भन्दै मेची प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डा. रामबाबु खड्कालाई समेत सम्मान गरिएको थियो ।
कृति राई र चन्द्रमणि पौडेलले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, भद्रपुर-५ का वडाध्यक्ष बन्धु कार्की, ७ का वडाध्यक्ष अभिषेक ढुंगाना लगायतले मन्तव्य राख्दै गीत/संगीतको माध्यमबाट राष्ट्रको सेवा गरी विशिष्ट पहिचान बनाएका नारायण गोपाल जस्ता स्रष्टाको सम्मानले गौरव बढाउने धारणा राखेका थिए ।
प्रतिक्रिया