काठमाडौं महानगरपालिकाका पूर्वनगरप्रमुख प्रेमलाल (पिएल) सिंहको नेवारी परम्पराअनुसार आज (१ पुस) अन्त्येष्टि गरिएको छ ।
महानगरपालिका-१५ स्थित लखतीर्थमा स्वर्गीय सिंहको अन्त्येष्टि गरिएको महानगरपालिकाका प्रवक्ता एवं १७ नं. वडाध्यक्ष नवीन मानन्धरले जानकारी दिए । स्व. सिंहको पार्थिव शरीरमा उनका भाई इन्द्रलाल सिंहले दागबत्ती दिएका थिए ।
अन्त्येष्टिमा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत वडाध्यक्ष, कार्यपालिका सदस्य एवं महानगरसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, जनसङ्ख्या तथा वातावरण पूर्वमन्त्री तथा काठमाडौं नगरपालिकाका पूर्वनगरप्रमुख ८८ वर्षीय सिंहको काठमाडौंको चाक्सीबारीमा गएराति १ः०० बजे निधन भएको थियो । स्व सिंहले लामो समयदेखि सर्वोच्च नेता गणेशमान सिंह निकट रहेर काम गरेका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सङ्लग्न रहँदा उनी पटक–पटक जेल जानुका साथै भारतमा निर्वासनसमेत हुनुपरेको थियो । प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट सिंह काठमाडौं नगरपालिकाको पहिलो नगरप्रमुख निर्वाचित भएका थिए ।
स्व. सिंहकै पहलमा विसं २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । यसैगरी विसं २०५६ मा उनी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य भएका थिए । स्व. सिंहले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ ।
स्व सिंहप्रति सम्मान प्रकट गर्दै आजै बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले पुस १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । त्यसैगरी पुस २ गते मङ्गलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोकपुस्तिका राख्ने र १३औँ दिनमा काठमाडौँमा शोकसभा आयोजना गर्ने निर्णय गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
photo: rss
प्रतिक्रिया