पीएल दाइले भन्नुभयो- ‘राजनीतिभन्दा बाहिर पनि जीवन छ, नबिर्सिनु !’

पीएल दाइले भन्नुभयो- ‘राजनीतिभन्दा बाहिर पनि जीवन छ, नबिर्सिनु !’


लामो समयको अन्तरालमा काठमाण्डू गएको थिएँ । अर्कोदिन बिहानै पिएल दाइलाई भेट्न चाक्सीबारी पुगेँ । तुरून्तै भेट्न पाएँ र सोधेँ- तपाईंलाई कस्तो छ ?

केही महिनादेखिको बिमारीले गर्दा फेरिएको त्यो हँसिलो अनुहार बिस्तारै आफ्नो स्थानमा फर्कंदै गरेको लाग्यो । स्वर पुरानै थियो । ‘फिल मच बेटर ! तर, अत्यधिक थकाईको अनुभव र रोगले जन्माएको खानाप्रतिको बेस्वादले दिक्दार लागेको छ ।’ पिएल दाइले मलाई बडो अपनत्वका साथ आफूसँगै ओछ्यानमा बसाएर यसरी बताउन्जेल म केही पुराना यादहरूको भेलमा निकै पर पुगिसकेको थिएँ ।

त्यसदिन नरदेवीबाट पैदल हिँडेर हामी बालाजु औद्योगिक क्षेत्रमा रहेको ‘नेबिको’ बिस्कुट फ्याक्ट्री पुगेका थियौँ । पिएल दाइको कुनै परिचित थिए त्यहाँ, चेरी भनेर बोल्नुहुन्थ्यो । फेरि गफिँदै हामी बालाजु, सोह्रखुट्टे, पकनाजोल, लैनचौर, ठमेल, क्षेत्रपाटी, इन्द्रचोक हुँदै न्यूरोड गेटसम्म आइपुगेका थियौँ । हिँडाइ लामो भएको थियो । वि.सं. २०४०/४१ सालतिरको त्यस हिँडाइमा पिएल दाइले बडो बिस्तारका साथ गणेशमानजीको विचार निर्माणको पद्दतिका बारेमा केही कुरा बताउनुभएको थियो । र, बीपी कोइरालाले गणेशमान सिंहको नाजुक आत्मसम्मानको लागि अपनाउने गरेको त्यो भन्दा पनि कलिलो शैलीबारे हाँस्दै भन्नुभा’थ्यो पिएल दाइले- त्यो के ‘ह्याण्डल बिथ केयर’ भन्छन् नि, हो ! बिपीको त्यही शैली अहिले चाहिन्छ गणेशमानजीलाई ‘डिल’ गर्न, बुझ्यौ ?

वि.सं. २०४२ मा नेपाली काङ्ग्रेसले पञ्चायती व्यवस्थाको विरूद्ध शुरू गर्न लागेको सत्याग्रहभन्दा केही महिनापहिले बडो तनाव उब्जेको थियो काङ्ग्रेसको नेतृत्वमा । गणेशमानजी र गिरिजाबाबु बीचको कार्यगत शैलीको कारणले बाहिर बडो ठुलो मतभिन्नता झ्याँङ्गिदै गएको देखिन्थ्यो । राजाले केही दाउ खेलेका थिए । कीर्तिनिधि बिष्टको सल्लाहमा गिरिजाबाबु एकाधपटक राजा वीरेन्द्रलाई भेट्नुभएको थियो । गणेशमानजीलाई यो मनपरेको थिएन । यसले गर्दा सत्याग्रहतर्फ डोरिन लागेका पार्टीका साथीहरूको एकाग्र मनोबल कमजोर हुने गणेशमानजीलाई लागेको थियो । तर, गिरिजाबाबुको विचार भिन्नै थियो । उहाँलाई लागेको थियो, पञ्चायतविरूद्धको लामो सङ्घर्षले साथीहरूमा थकाई पनि छ । केही साथीहरू पञ्चायततिर लागे पनि । राजासँगको यस्तो भेटले नेपाली काङ्ग्रेसको ‘रिकग्नाइजेशन’ बढ्ने छ । शान्तिपूर्ण आन्दोलनमा हामी राजाले पन्छाउन नसक्ने एक पक्ष रहेछौं भन्ने धारणा स्थापित पनि हुन्छ । यसरी सोच्नुहुन्थ्यो गिरिजाबाबु ।

अनि उहाँले जनजीवनका समस्याहरूलाई आधार बनाएर राजाका समक्ष बिन्तीपत्र बुझाउने कुरा प्रस्ताव गर्नुभएको थियो । विद्युत महशुल, भ्रष्टाचार, खानेपानीको समस्या, जनतामा शान्तिसुरक्षाको अभाव आदि कुरा उठाएर गाउँ-गाउँमा गइ एउटै ब्यहोराको निवेदनमा आम जनताको हस्ताक्षर गराउने र सो सबै निवेदनहरू संकलन गरी हस्ताक्षरकर्ताको कूल संख्या उल्लेख गरी राजदरबारमा बुझाउने कुरा थियो गिरिजाबाबुको । तर, गणेशमानजीको चित्त बुझिरहेको थिएन । पञ्चहरू र कम्युनिष्टहरूले यसलाई ‘बिन्तीपत्रको राजनीति’ भनेर प्रचार गरिरहेको थिए । आन्दोलनको लागि काङ्ग्रेसको बढ्दै गएको प्रभावको परिदृश्यमा सत्याग्रहको तयारीलाई बिन्तीपत्रे राजनीतिको आरोप गणेशमानजीको इगोले हम्मेसी स्वीकार्ने विषय थिएन । यसलाई पञ्च र कम्युनिष्टहरूले खुब हौस्याएका थिए । पूरै काङ्ग्रेस वृत्त यसबाट चिन्तित थियो । गणेशमानजी र गिरिजाबाबुका बीच विचारको बुझबुझारथ हुनुपर्ने सबैको चासो थियो । पार्टीभित्र पिएल दाइ र शैलजा दिदी- यी दुई जनामात्र थिए जो दुवै नेताका बीच सहज सम्वादलाई बढाउने सामर्थ्य राख्दथ्यो । म यहीबारेको केही कुरा गर्न त्यसबेला पिएल दाइलाई भेट्न गएको थिएँ ।

‘हेर जेपी, उहाँ गणेशमान त हो । सबैले कहाँ सम्हाल्न सक्छन् र ! यसैले त मैले ‘ह्याण्डल विथ केयर’ भनेको हुँ !’ पिएल दाइले नेपाली काङ्ग्रेसको वीरगंज अधिवेशनको कुरो सुनाउनुभयो । वीरगञ्ज अधिवेशनमा पार्टीका धेरै ठुला नेताहरूको सभापतिमा सुवर्ण शम्सेरलाई समर्थन थियो । गणेशमानजीले सुवर्ण शम्सेरलाई सभापति बनाउन चाहनुभएको थिएन । गणेशमानजीले सुवर्णजीको विरूद्ध कुनै बलियो उम्मेदवार पाउनुभएको थिएन । बिपीले पनि सुवर्णजीलाई नै समर्थन गर्नुभएको थियो । यो पनि गणेशमानजीलाई मन परेको थिएन । बिपीलाई चिन्ता थियो, सभापतिको यस चुनावमा सबैले सुवर्णजीलाई मत दिएर यदि गणेशमानजी एकदमै थोरै मत पाएर पराजित हुनुभयो भने उहाँलाई ठुलो धक्का लाग्नेछ । पैसा र धनका धनीको काङ्ग्रेस भयो । मेरो त्यागको कुनै मान्यता भएन भन्ने कुराले गणेशमानजीलाई बडो दुःखी तुल्याउनेछ । यो ठुलो चिन्ता थियो बिपीलाई । अनि गणेशमानजीले अलिक बढी तथा सम्मानजनक भोट पाउनुस् भनेर बिपीले आफ्ना विश्वासी केही साथीहरूलाई गणेशमानजीको पक्षमा मत दिन अह्राउनुभएको थियो । शायद वि.सं. २०१२ तिरको कुरो हो यो । पिएल दाइले पाउपैदल हिँडिरहेको मलाई सोध्नुभएको थियो- ल भन जेपी, आज काङ्ग्रेसमा को छ र यसरी गणेशमानजीलाई ह्याण्डल गर्ने ?

काङ्ग्रेसभित्रको त्यस समस्याको त्यसबेला समाधान भयो । सबैले सत्याग्रहलाई बढाए । राजासमक्ष निवेदन पनि दिइयो । राजाका प्रमुखसचिव पशुपतिभक्त महर्जनले लाखौं जनताको हस्ताक्षरयुक्त निवेदन बुझ्न मानेनन् । राजदरबारको पश्चिमी गेटको निवेदन शाखामा बुझाइयो ।

अन्ततः गणेशमानजीले काङ्ग्रेस छोडनुभयो । उहाँको देहावसान भयो । चाक्सीबारीबाट गणेशमानजीको पार्थिव देह उठाइँदा र त्यस महायात्रमा हिँड्दा मलाई लागेको थियो- गणेशमानजीको मृत्यूलाई त किमार्थ पन्छाउन सकिन्नथ्यो । तर, यदि त्यसदिन पिएल दाइले भन्नुभएअनुसार बिपीले गणेशमानजीलाई सम्हाल्ने गरेजस्तै त्यसबेलाका नेताहरूले सम्हालिदिएको भए पशुपतिसम्मको गणेशमानजीको यात्रा अझ महान् हुने थियो ।

त्यसदिन रूग्ण पिएल दाइसँगै उहाँको सान्निध्य उहाँकै छेउमा बस्दा मेरो मनमा यी सब कुराहरू उर्लेर आयो ।

पुराना त्यस कुरामा बगेको मलाई थाहै भएन, यसबीच पिएल दाइले आफू गम्भीर बिमारीबाट थलिएर बल्ल आफ्नो हातबाट खाना खान थालेको भन्दै हुनुहुन्थ्यो । अनि मैले गहिरिएर उहाँलाई हेरेँ । आफ्नो बोलचालमा बहुधा अंग्रेजीका वाक्यांशहरू बोल्ने गरेका पिएल दाइ बात-बातमा मेरो नाम लिनुपर्दा जेपी आनन्द बोल्नुहुन्थ्यो । यो नयाँ कुरा थिएन । तर, यसले मेरो उहाँसँगको लामो सम्बन्धको झल्को दिन्थ्यो । अब मलाई जेपी आनन्द भनेर बोलाउनेहरू कमै भेटिन्छन् ।

धेरै बेर कुरा भयो । मेरो गाउँको घर पनि पुगेको सम्झना आयो उहाँलाई । एकसरो धेरै कुराहरू सुनाउनुभयो । सबैभन्दा बढी याद आइरहेको छ, पिएल दाइले भनेको- ‘जेपी, राजनीतिको भन्दा बाहिर पनि जीवन छ, नबिर्सिनु !’ शायद उहाँले यो कुरो मभित्रको मलाई भन्नुभएको थियो । लगभग वर्षदिन पहिले, सायद असोज ९, २०८० को कुरो हो यो ।

म फेरि पनि लेख्नेछु- पिएल दाइ प्रेमलाल सिंहको बारेमा सोचेको थिएँ । आज उहाँको देहावसानको समाचार सुनेँ । शान्तिका साथ त्यहाँ रहनुहुनेछ पिएल दाइ !