संगठित रुपमा सहकारी ठगी गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धान प्रक्रियामा रास्वपा सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवासेको इजलासले लामिछानेलाई हिरासतमा राख्न आठौँ पटक म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले अदालतबाट म्याद थप भएको जानकारी दिएका छन् ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछाने गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
प्रहरीले अनुसन्धान सकेर लामिछाने, सूर्यदर्शन सहकारीका संस्थापक गितेन्द्रबाबु राई (जिवी)सहित ६५ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाए पनि जिल्ला सरकारी वकिलको कार्यालयले हालसम्म अदालतमा मुद्दा दर्ता गरेको छैन ।
लामिछानेविरूद्ध रूपन्देही, काठमाडौं, चितवन र पर्सामा समेत सहकारीको रकम अपचलन गरेको जाहेरी परेकाले प्रहरीले ती स्थानमा समेत लगेर बयान लिइएको थियो ।
प्रतिक्रिया