‘लैङ्गिक एवं यौनिकलगायतको अधिकारका क्षेत्रमा नेपाल विश्वमै उदाहरणीय’

‘लैङ्गिक एवं यौनिकलगायतको अधिकारका क्षेत्रमा नेपाल विश्वमै उदाहरणीय’


परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

परराष्ट्रमन्त्री देउवाले बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गर्नुभएको थियो । जर्मनीमा रहँदा उहाँले यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाउनुभएको थियो ।

सो अवसरमा परराष्ट्रमन्त्री देउवाले लैङ्गिक अल्पसङ्ख्ययकहरूले विश्वभर सामना गर्नुपरेका हिंसा, उत्पीडन र प्रणालीगत असमानताका चुनौतीहरूबारे चर्चा गर्नुभयो । साथै, उहाँले नीतिमा आधारभूत रूपान्तरणको आवश्यकता औँल्याउँदै, नारीवादी परराष्ट्र नीतिले दीर्घकालीन परिवर्तन गर्न सक्ने सम्भावनाका विषयमा चर्चा गर्नुभयो ।

बर्लिनमा आयोजित समानतासम्बन्धी उक्त सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई सम्बोधन गर्दै उहाँले यो नीतिले रूपान्तरणको प्रतिज्ञा र सम्भावना बोकेकाले यसको अनुशरण आवश्यक रहेको बताउनुभयो । जहाँ पितृसत्ता बढी बहिष्करणमुखी र शक्तिकेन्द्रित हुन्छ त्यहाँ समानताको सिद्धान्तले काम गर्छ भन्दै परराष्ट्रमन्त्री डा. राणाले समानताका अन्य नीतिहरुजस्तै नारीवादी परराष्ट्र नीतिले पनि मेलमिलाप, समभाव र समावेशिता अँगाल्ने धारणा राख्नुभयो ।

मन्त्री डा. राणाले भन्नुभयो, ‘नारीवादी परराष्ट्र नीतिले श्रेणीबद्धता र बहिष्करणमा आधारित पितृसत्तात्मक संरचनालाई चुनौती दिने काम गर्दछ । यो नीतिले समावेशिता, सहानुभूति र समानताका सिद्धान्तहरुलाई प्राथमिकतामा राख्दछ र समग्रमा मानव सुरक्षा भन्ने बृहत अवधारणालाई अघि सार्दै कूटनीतिमा सबैलाई समान रुपमा व्यवहार गर्दछ ।’

विभेद र अन्यायको अन्त्य गर्न सतही परिवर्तनले मात्र पर्याप्त नहुने भन्दै सामाजिक मूल्य र मान्यताहरूमा आधारित रूपान्तरण गर्नका लागि नीतिमा समानता आवश्यक रहेकोमा उहाँको जोड थियो ।

मन्त्री डा. राणाले लैङ्गिक एवं यौनिक लगायतका अल्पसङ्ख्यकहरुको अधिकारका क्षेत्रमा नेपाल विश्वमै उदाहरणीय रहेको जिकिर गर्नुभएको थियो ।