पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो


‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीका अनुसार चार लाख ६० हजार नौ सय ४० मात्रा खोप आएको छ, ती खोपलाई अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको र विस्तारै प्रदेशमा पठाइनेछ ।

सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्न थालेको छ । पन्ध्रदिने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिएका छन् । उनका अनुसार १७ लाख ७० हजार मात्र गाभीले नेपाललाई उपलब्ध गराउने छ ।

हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको जनाइएको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ । ह्युमनपापिलोमा भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनाले हुने गर्दछ ।

नेपालमा सबभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको छ ।