राईले नेपालमा गरेको लगानी अवैध ठहरिने !
बेलायतस्थित अल्डरसटनिवासी ‘न्यू लक्ष्मी ज्वलर्स’की सञ्चालिका लक्ष्मी राई र धादिङका रमेश सिलवालविरुद्ध जिल्ला अदालत काठमाडौंले ज्यान मार्ने उद्योग तथा संगठीत अपराध गरेको आरोपमा पक्राउपुर्जी जारी गरेको छ ।
यसरी पक्राउपुर्जी जारी भएसँगै गत कार्तिक ११ मा लाजिम्पाटमा नेपालभूमी रियल स्टेटका प्रबन्ध निर्देशक विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले गरिएको साङ्घातिक आक्रमण तथा संगठित अपराधविरुद्ध पक्राउपुर्जी जारी हुनेहरूको संख्या ६ पुगेको छ भने अनुसन्धानका क्रममा अन्य केही व्यक्तिविरुद्ध पनि पक्राउ पुर्जी हुने देखिएको छ ।
प्रहरीले घटनामा संलग्न शैलेन्द्र तामाङलाई सोही दिन भाग्दै गर्दा सीतापाइलाबाट र निश्चल सुनारलाई गत महिना झापाबाट पक्राउ गरेको थियो । घटना घटाउन सुपारी लिने अजय लामा र दीपक बरामु भने अझै फरार छन् । उनीहरू भारततर्फ भागेको प्रहरीको आशंका छ भने प्रहरी उच्च स्रोतका अनुसार भारतीय प्रहरीको समन्वयमा उनीहरुको खोजी भैरहेको छ ।
काठमाडौं जिल्ला प्रहरी प्रमुख वसन्त रजौरेका अनुसार घटना घटाउन मुख्य भूमिका खेल्ने व्यक्ति फरार रहेको र खोजतलासका लागि विभिन्न निकायसँग समन्वय भैरहेको बताएका छन् । रजौरेले भनेका छन्- ‘हामीले यो घटनालाई अत्यन्त गम्भीर, संवेदनशील र सुक्ष्म रुपले अनुसन्धान गरेर अघि बढिरहेका छौँ । निकट भविष्यमा हामीले यसको सत्यतथ्य सार्वजनिक गर्ने नै छौँ ।’
का.जि. प्रहरी प्रमुख रजौरेले थपे- ‘हाम्रो प्राथमिकता भनेको नागरिकको शान्ति, सुरक्षा र जीउधनको रक्षा हो । गलत गर्नेहरू ढिलोचाँडो कानुनी दायरामा आउनैपर्छ ।’
पिडित लामाको लिखत बयानमा भने यो घटनाको मुख्य योजनाकार बेलायतको अल्डरसट बस्ने आफ्नी पूर्व भाउजु लक्ष्मी राई रहेको र उनकै आर्थिक लगानीमा पटक-पटक आफूलाई फसाउन खोजिएको बताए । फसाउन नसकेपछि अन्ततः ज्यान मार्ने उद्देश्यले करोडौँ रकम खर्च गरेर पेसेवर गुण्डाहरुको प्रयोग गरी घटना घटाएको उल्लेख गरेका छन् ।
लामाले भने- ‘मलाई विगतमा सत्ता र शक्तिका आडमा लागुऔषध कारोबारी र सुन तस्कर भन्दै फसाउन खोजियो । यो काममा लक्ष्मीको योजनाअनुसार पूर्व प्रदेशमन्त्री दीपक मनाङ्गेका स्वकीय सचिव टिका भण्डारीले फसाउन दबाब दिएको कुरा गत वर्ष पक्राउ परेको सागर कडायतले बयानमै उजागर गरेका छन् ।’
विक्रमले विगतमा आफूलाई फसाउन भण्डारीले ठुलै शक्ति, सत्ता र व्यक्तिको परिचालन गरेको प्रमाण आफुसँग रहेको बताए भने यो घटनामा कतै मनाङ्गेको संलग्नता त छैन भन्ने कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।
विक्रमले यो विषयमा भण्डारीसँग कुरा गर्दा ‘केही समय पहिलासम्म लक्ष्मी र आफूबीच दिदीभाइको जस्तो सम्बन्ध रहेको र साझेदारीमा ठमेलमा क्लब किन्न रकम लिएको तर अहिले सम्वन्धमा चिसोपन उत्पन्न भएको’ भन्दै अडियो सुनाएको बताए ।
व्यावसायिक साझेदारी भन्दा पनि आफूलाई सिध्याउन टिकाले पचासौँ लाख रकम लिएको र कसैगरी पनि फसाउन नसकेपछि लक्ष्मीले पैसा फिर्ता मागेको बताउँछन् विक्रम । तर, टिकाले चाहिँ लक्ष्मीसंग आफ्नो भन्दा पनि मनाङ्गेको सम्बन्ध राम्रो भएको बताउँदैआएका छन् ।
प्रहरीका अनुसार अनुसन्धानमा लक्ष्मी, रमेश, मार्सल, निश्चल र फरार अजयहरुबीच बारम्बार टेलिफोन सम्वाद भएको देखिएको देखिएको छ भने सिलवाल र अजयको पनि बारम्बार टेलिफोनमा सम्पर्क भएको देखिएको छ । नेपालमा सिलवालको विभिन्न अपराधिक समुह र व्यक्तिहरुसंग साँठगाँठ रहेको प्रहरीको भनाइ छ भने पछिल्लो समयमा उनी लक्ष्मीसंगै बेलायतमा बस्दै आएका छन् ।
लक्ष्मी नेपालमा बस्दा यिनै सिलवाल गाडीचालक र अंगरक्षक थिए । दुई जना एकआपसमा नजिकिँदै गएपछि लक्ष्मीले सिलवाललाई बेलायत लगेकी हुन् । अहिले बेलायतमा लक्ष्मीले आफूनिकटलाई ‘आफ्नो नजिकको साथी’ भन्दै चिनजान गराउने गरेको हन्सलोप (बेलायत) निवासी एक महिला बताउँछिन् ।
अहिले लाजिम्पाट घटनाका सम्बन्धमा नेपाली मिडियाहरुमा लक्ष्मीको संलग्नता बारे निरन्तर समाचारहरु प्रकाशन भएपछि लक्ष्मीले रमेशलाई न्युलक्ष्मी ज्वेलर्सको नयाँ प्रबन्ध निर्देशक बनाएको र आफ्नो व्यवसायको जिम्मा लगाएको हुँदा ‘उहाँसँग कुरा गर्नुस्’ भन्दै पन्छिने गरेको ग्राहकहरु बताउँछन् ।
लक्ष्मी र उनको कारोबार

सन् २००४ मा बेलायत छिरेकी लक्ष्मीको स्थायी ठेगाना भोजपुर ठुलोछुम्मा-९ छ भने उनी परिवारमा कान्छी छोरी हुन् । उनको नागरिकता अनुसार २९ वर्षको उमेरमा ०६० माघ २६ मा इलाका प्रशासन कार्यालय, धरानवाट २२३७५ नम्बरको नागरिकता लिएको देखिन्छ ।
त्यसैगरी लक्ष्मीले सन् ०४ फेब्रुअरी ९ मा २१५८४८९ नम्वरको नेपाली राहदानी लिएको र राहदानीको म्याद समाप्त भएपछि ०१४ फेब्रुअरी २८ मा ०७११३०३४ नम्वरको दोश्रो राहदानी लिएको सरकारी रेकर्डमा उल्लेख छ ।
त्यसपछि लक्ष्मीले ०१४ जुलाई २५ मा नेपाली राहदानी त्याग गरी २५ जुलाई २०१४ मा ५१९१८२२० नम्वरको बेलायती राहदानी लिएकी थिइन् । उक्त राहदानीमा लक्ष्मीको राष्ट्रियता बेलायती नागरिक भन्ने उल्लेख छ । २०२४ मा राहदानीको म्याद समाप्त भएपछि उनले २५ जुन ०२२ मा १२८१३४०६३ नम्वरको राहदानी लिएकी छन् ।
भोजपुरको सामान्य परिवारमा जन्मेकी लक्ष्मीका पूर्वपति दिपेश र देवरहरूकै कारण उनीहरुले २०१२ मा बेलायतको अल्डरसटमा न्यू लक्ष्मी ज्वैलर्सको नाममा गहना पसल स्थापना गरेका थिए । यो व्यवसायले नै लक्ष्मीलाई बेलायतमा स्थापित गराएको उनका निकटजन बताउँछन् । बेलायतमा सुन पसल भएता पनि उनी भने प्रायः नेपालमा बस्ने र घर-जग्गासम्बन्धी काम गर्ने गरेको लामा परिवार बताउँछ ।
लक्ष्मीले २०१४ मा राष्ट्रियता परिवर्तन गरेर बेलायती नागरिक भैसक्दा पनि ०२२ सम्म नेपाल र बेलायत दुवै देशको राहदानी प्रयोग गरी दर्जनौँ पटक नेपाल आउजाउ गरेको अध्यागमन श्रोतको भनाइ छ । दोहोरो नागरिकता प्रयोग र दुरुपयोगको उजुरीपश्चात केन्द्रीय अनुसन्धान व्युरो (सिविआई) ले उनमाथि अनुसन्धान गरिरहेको बुझिएको छ ।
लक्ष्मीले सन् २०१४ मा बेलायती नागरिकता प्राप्त भइसक्दा पनि नेपालका अड्डा अदालत र व्यवसायमा नेपाली नागरिकता बारम्बार प्रयोग गरेको पाइएको छ । प्राप्त जानकारीअनुसार उनको मनमैजु र गोलढुंगामा रहेको एकलौटी भोगचलन गरेको जग्गा दृष्टिबन्धक रोक्का रहेकोमा फुकुवाका लागि आफ्नै दिदी अम्बिका रासकोटीको नाममा अधिकृत वारिसनामा गराइपाउँ भन्दै वि.सं. २०७७ असोज २७ मा जिल्ला अदालत, काठमाडौमा निवेदन दिएकी थिइन् । उक्त निवेदन जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले भोलीपल्टै प्रमाणित गरेको थियो ।
अधिवक्ता सीतल सवेदीका अनुसार विदेशीलाई नेपालको अचल सम्पत्ति हस्तान्तरण गर्न नपाइने मुलुकी देवानी संहिता ०७४ को दफा ४३२ ले स्पष्ट रुपमा व्यवस्था गरेको छ । यसको उपदफा २ ले कसैले विदशीलाई अचल सम्पत्ति हस्तान्तरण गरेमा त्यससम्बन्धी लिखत स्वतः बदर भइ त्यस्तो सम्पति नेपाल सरकारमा हस्तान्तरण हुने प्रावधान रहेको बताउँछन् । उनले कुनै पनि नेपालीले विदेशी नागरिकता लिइसकेपछि नेपालमा गरिने कारोवारहरु बदर हुने कानुनमा स्पष्ट उल्लेख रहेको बताए ।
विदेशी नागरिकले नेपालमा उद्योग/व्यवसाय संचालनका लागि नेपाल सरकारको पूर्वस्वीकृति लिई अचल सम्पत्तिको कारोबार गर्न पाउने भएता पनि भोचलनका रुपमा कानूनले निषेध गरेको सुवेदीले बताए । उनका अनुसार भए-गरेको थाहा पाएको मितिले ६ महिनाभित्र उजुरी गरेमा त्यस्तो उजुरी लाग्दछ ।
यसरी अब लक्ष्मीले नेपाली नागरिकताको प्रयोग गरी खरिद गरेको जग्गा र अन्य व्यावसायिक लगानीहरू जोखिममा परेको देखिन्छ । पछिल्लो पाँच वर्षयता लक्ष्मीले बारा, काभ्रे, ललितपुर, काठमाडौं लगायतका स्थानमा जग्गाको कारोबार गरेको पाइएको छ । पछिल्लो समयमा चितवन खैरहनी ५÷क को कित्ता नम्बर ३४१ को बेचन चौधरी र जलुराम चौधरीको नाममा रहेको १० कठ्ठा जमिन प्रतिकठ्ठा २५ लाखका दरले खरिद गर्ने भन्दै रासकोटी लगायत दुई जनाले कागज गरेका थिए । अम्बिका रासकोटीलाई प्रतिवादी बनाइएको यो मुद्धा जिल्ला अदालत चितवनमा ०८१ असाढ २६ मा दर्ता छ ।
यतिमात्र नभइ लक्ष्मीले दुवई र युरोपका अन्य देशहरुमा गहना पसल खोल्ने भन्दै विभिन्न व्यक्तिहरुबाट दशौँ करोड रकम लिएको पनि बुझिएको छ । यसका लागि लक्ष्मीले नेपालका प्रधानमन्त्री र मन्त्रीहरुको साथमा (प्रधानमन्त्री केपी ओली, पूर्वप्रम माधवकुमार नेपाल र प्रचण्ड, मन्त्री र पत्रकारहरु) तस्बिर खिचेर हाईप्रोफाइलका व्यक्तिहरुसंग आफ्नो पहुँच र शक्ति रहेको देखाउने र सामाजिक संजालहरुमा राख्ने गरेकी थिइन् भने आर्थिक लाभ हुने ठाउँमा जाँदा महँगो उपहार दिने गर्दथिन् ।
यतिबेला लक्ष्मीका कर्तुतहरुलाई ढाकछोप गर्न सुनतस्करीमा संलग्न भएको आरोप लागेका जीवन चलाउनेले समेत प्रहरी प्रशासनमा फोन गरेर उनी निर्दोष रहेको भन्दै प्रभाव पार्न थालेका बुझिएको छ । चलाउने पनि बेलायतमै रहेका बताइन्छ । प्रहरीले उनको संलग्नता हुण्डी र व्यक्ति-ठगीमा समेत हुनसक्ने आशंका भएको हुँदा यो कोणबाट पनि हेरिरहेको बुझिएको छ ।
बेलायतमा पनि लक्ष्मीले आकर्षक ब्याज दिने भन्दै दर्जनौँ नेपालीहरूबाट करोडौँ रकम सापटी लिएको र पछिल्लो समयमा उनका समाचारहरु सामाजिक संजालहरुमा निरन्तर आउन थालेपछि रकम सापटी दिनेहरू आफ्नो पैसा फिर्ता माग्न दैनिकजसो लक्ष्मीकहाँ धाउन थालेका छन् ।
ज्यान मार्ने उद्योग र संगठित अपराधमा जिल्ला अदालत काठमाण्डौबाट पक्राउ पुर्जी जारी भैसकेको अवस्थामा अब लक्ष्मी र रमेशलाई पक्राउ गरिने निश्चित छ भने प्रहरीले उनीविरुद्ध डिफ्युज नोटिस समेत जारी गर्ने तयारीमा रहेको बुझिएको छ ।
प्रतिक्रिया