संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस (डिसेम्बर २१) आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् ।
डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।
राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् ।
नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाका अनुसार फाउन्डेसन अन्तर्गतका ध्यानकेन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा आज (६ पुस) बिहानको रुद्राभिषेकपछि ८ः४५ बजे सामूहिक ध्यानको आयोजना हुनेछ । यसैगरी जीवन विज्ञान, पतञ्जली संस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी विश्व ध्यान दिवस मनाउने जनाएको छ ।
प्रतिक्रिया