✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष ७ गते तद्अनुसार सन् २०२४ दिसेम्बर २२ तारिख आइतबार पौष कृष्ण पक्षको सप्तमी तिथि पूर्वाफाल्गुणी नक्षत्र ८ः३ पर उत्तरा फाल्गुनी नक्षत्र आयुष्मान योग बालव करण आनन्दादिमा छत्र योग चन्द्रमा सिंह राशिमा १४ः३६ बजेसम्म त्यसपछि कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५२ मा भयो र सूर्यास्त साँझ १७ः१२ बजे हुनेछ । रविसप्तमी व्रत, अष्टमी व्रत, त्रिपुष्कर ८ः३ देखि १५ः३३ बजेसम्म ।
आजको राशिफल
मेष – प्रतिकुल प्रभाव देखिनसक्ने समय भएकोले आजको दिन अनावश्यक रुपमा कसैसँग विवाद वा झैझगडा हुन सक्छ, सावधान रही ब्यवहार गर्नुहोला । यात्रामा पनि विशेष सजगता अपनाउनु हितकर हुनेछ । लेनदेनको समस्याले सताउन सक्छ । शत्रुपक्ष हाबी हुनसक्ने देखिन्छ । ब्यापार–व्यवसायमा पनि घाटा बेहोर्नु पर्ला । सानातिना घरायसी काममा समय खर्च हुने योग छ ।
वृष – मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने दिन छ । मित्रजनले प्रशंसा गर्नेछन् । पछिल्तिर कुरा काट्नेहरूले पनि प्रशंसा गर्न बाध्य हुनुपर्ने समय छ । पढाइलेखाइमा सुधार आउला । तथापि, लेनदेन तथा आर्थिक क्रियाकलापमा भने समस्या देखिन सक्छ । गलत लेनदेन कार्यमा संलग्न नहुनु उचित रहनेछ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । सबल स्वास्थ्यका लागि सावधानी अपनाउनुहोला । परिवारिक सुखले उत्साह बढ्नेछ ।
मिथुन – लामो समयदेखि रोकिएका कामहरू बन्नसक्ने दिन छ । धन आर्जनको अवसर जुर्ला । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । त्यसै त्यसै मन हर्षित भएर आउने देखिन्छ । सकारात्मक परिणामका लागि ब्यस्तता वृद्धि हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । पराक्रम बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कर्कट – व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको समय छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउला । आयआर्जनको स्रोत फेला पर्ला । कर्मबल वृद्धि भइ रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहनेछ ।
सिंह – समय खासै खराब नभएपनि आज शत्रुपक्षले सताउने प्रयास गर्लान्, सजगता अपनाउनु उचित हुनेछ । सवारी साधनको उपयोग तथा हातहतियारको प्रयोग गर्दा आजको दिन विशेष सचेत रहनुहोला । मौसमी स्वास्थ्य समस्या देखिन सक्छ, सावधानीको दरकार छ । अनावश्यक खर्च कटौतीको प्रयास गर्नुपर्नेछ । रसरागका कार्यक्रममा आकर्षण बढ्नेछ । यात्रागत कार्य सार्थक रहला ।
कन्या – भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने वित्तादी लाभ हुने देखिन्छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस होला । दाम्पत्य एवम् प्रेमसम्बन्ध बलियो रहनेछ । अधुरा कामहरु बन्ने र मित्रजनको विश्वास जित्न सकिने देखिन्छ । आफन्तजन पनि सहयोगी बनेर देखापर्लान् । आरोग्यबल बढ्नेछ ।
तुला – सामाजिक प्रतिष्ठा बढ्ने र अरुको विश्वास सहजै जित्न सकिने समय छ । धन–मान वृद्धि होला । व्यापारबाट राम्रो आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ । अनौठो तथा सुखद समाचार पनि सुनिएला । अर्थलाभका अवसर आउने छन् भने तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, जसले मनमा शान्ति दिलाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । नोकरीमा उन्नति पदोन्नति होला ।
वृश्चिक – शुभता बढेर रोकिएको काम बन्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । रमणीय, सुखद र अनुकूल यात्राको सम्भावना छ । यात्रामा विशेष लाभ हुने देखिन्छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । आय वृद्धि होला । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त होला । ऋण, रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु – दिन केही चुनौतीयुक्त रहला । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नसक्छ । आज आर्थिक संकट पनि आइपर्ने सम्भावना छ । लेनदेनमा पनि विवाद होला, सजग रहनुहोला । पढाइलेखाइमा ध्यान नगएपनि खेलकुद र यात्रामा मन आकर्षित रहने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर – अरुको काममा ज्यादा समय र श्रम लगाउनुपर्ने दिन छ । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने देखिन्छ । नोकरी र राजनीतिक क्षेत्रमा भने बर्चश्व बढ्ने योग छ । शत्रुपक्ष परास्त हुनेछ । दायित्व निर्वाहमा नियमकानूनले साथ दिनेछ । रसरागको भाव जागृत होला ।
कुम्भ – सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । सोच्ने शक्ति बढ्नेछ भने कुरा काट्नेहरु प्रशंसा गर्न थाल्ने छन् । प्रेमको बन्धनमा बाँधिने दिन छ, दाम्पत्य सम्बन्ध सुखद रहनेछ । लेनदेनका काम पनि होला । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन – भाग्य प्रवल रहने समय छ । परिश्रमले धेरै काम बन्नुका साथै ब्यापारमा विशेष लाभ मिल्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । साझेदारीको काम बन्नेछ । मनोरञ्जनमा भुलिएला । साथीभाइले पनि राम्रै सहयोग गर्लान् तर आफन्तको सहयोग भने कमै मिल्नेछ । दाम्पत्यसुख बढ्नेछ ।
प्रतिक्रिया