फूलचोकी जङ्गलमा बाटो भुलेर हराएका तेह्र प्रहरी सम्पर्कमा आएको जानकारी

फूलचोकी जङ्गलमा बाटो भुलेर हराएका तेह्र प्रहरी सम्पर्कमा आएको जानकारी


ललितपुरको फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा पुगेको जानकारी प्राप्त भएको छ ।

सोमबार (८ पुस) दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेकाको उद्धारको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । सोमबार दिउँसोदेखि हराइरहेका छुट्टाछुट्टै दुई समूहका १३ जना फोन सम्पर्कमा रहेको र उद्धार भइरहेको उनले जनाकारी दिएका हुन् ।

“गोदावरी नगरपालिका–३ फुल्चोकीमा हाइकिङका लागि गएका सात जनाको एक समूह अपराह्न १५ः३० बजेदेखि र ६ जनाको अर्को समूह १६ः०० बजेदेखि छोटो दूरीको बाटो भन्दै फर्कने क्रममा हराएको जानकारीमा आएको छ ।

हराएका दुवै टोली सही मार्ग खोज्ने क्रममा एक आपसमा भेट भएका छन् । अहिले उनीहरू प्रहरीसँग सम्पर्कमा छन् । उद्धारका लागि हाल प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको छ”, सूचना अधिकारी पौडेलले भनेका छन् ।

हराउनेमध्ये १० जना युवा र तीन युवती रहेको बताइएको छ ।