टङकिस त के बेडसिन पनि दिन्छु— जिया केसी

टङकिस त के बेडसिन पनि दिन्छु— जिया केसी


अभिनय गरेका एउटै सिनेमा पनि हालसम्म रिलिज भएका छैनन्, तर जिया केसी चर्चाको चर्चामै छिन् । उनको चर्चाचाहिँ सकारात्मक नभएर धेरैजसो नकारात्मक रूपले हुने गर्छ । कहिले निर्देशकसँगको सम्बन्ध त कहिले चलचित्रमा इन वा आउट भएर चर्चामा रहने जिया यसपटक भने चलचित्र एटीएममा उनले दिएको टङकिसका कारण चर्चामा रहिन् । गताङ्कको घटना र विचारको यसै स्तम्भमा तस्बिरसहित जियाबारे प्रकाशित सामग्रीप्रति उनले केही मात्रामा चित्त पनि दुखाएकी रहिछिन् ।
० आफैं त्यस्तो दृश्य दिने अनि कमेन्ट आएपछि चित्त दुखाउने ?
– त्यस्तो कमेन्ट गर्नुपर्ने दृश्य मैले के दिएँ र ?
० एटीएमका नायक दिनेश थापासँगको टङकिस के हो त ?
– त्यो त अहिलेका युवा पुस्ताको कथा हो ।
० के युवापुस्ताहरू बाटोबाटोमै किस खाँदै हिँड्न थालेछन् नेपालमा ?
– हो, कथाले मागेकोले नै दिएकी हुँ ।
० कथाले माग्छ कि निर्माता–निर्देशकले माग्ने हो ? कथा त मान्छेले नै लेख्ने होइन र ?
– त्यो त चलचित्र हेरेपछि नै थाहा हुन्छ ।
० यस्तो सिनेमा खेल्नका लागि कसले पे्ररित गर्‍यो नि ?
– के म बच्चा हो र अरूको लहैलहैमा लागेर फिल्म खेल्ने †?
० यस्तो सिनेमा खेलेर चर्चामा आइन्छ भन्ने लोभ पो हो कि ?
– चर्चाको लोभ छैन मलाई, रोल फरक लागेर मात्र खेलेकी हुँ ।
० कथाले माग्यो भने बेडसिन दिने कि नदिने नि ?
– दिने हो नि † कथाले माग्छ भने त्यो दिन के फरक पर्छ र ?
० त्यस्तो सिनेमा नै प्रतिबन्ध भयो भने ?
– त्यस्तो नहोला । भए पनि त्यो मेरो टेन्सन होइन ।
० यस्ता सिनेमा र कलाकारहरूको सर्वत्र विरोध भइरहेको छ नि, थाहा छ ?
– यस्तो विरोध त चलिरहन्छ । एक–दुईजनाले विरोध गर्दैमा केही हुँदैन ।
० किस खानकै लागि त्यस्तो दृश्य राखेकोजस्तो पो देखियो त †
– त्यो गलत हो । तस्बिर हेरेर मूल्याङ्कन गर्न मिल्दैन ।
० तपाईंले चारवटा सिनेमामा अभिनय गर्नुभयो तर चारवटै सिनेमा रिलिज भएको छैन । त्यही तनावबाट बच्न र चर्चा पाइन्छ भन्ने लोभ त होइन ?
– मलाई केही तनाव पनि छैन र त्यस्तो लोभले पनि होइन, फरक भूमिकामा काम गर्ने सोखका कारण खेलेकी हुँ ।
० त्यस्तो दृश्यका तस्बिरहरू बजारमा आएपछि घर–परिवारको प्रतिक्रिया के छ नि ?
– केही छैन । हल्ला मात्र बढी भयो †

अब नेपाली सिनेमाका कलाकारहरू पनि ग्ल्यामर्स र यौन क्रियाकलापका दृश्य दिने मामिलामा खुला रूपले अगाडि आउन थालेका छन् । यो कुरामा युवापुस्तामा नवप्रवेशी युवतीको बोलवाला भने बढी चल्न थालेको छ । नायक–नायिका अङ्गालो मारेको र माया दर्शाउन चुम्बन खाएको दृश्य हेर्न लजाउने दर्शकहरू पनि यस्ता दृश्यहरू समावेश भएका चलचित्रहरू हेर्न निर्धक्क जान थालेका छन् ।
सिनेमाका पर्दामा त यस्ता दृश्यहरू आए, यता मिडियाहरूमा पनि यस्ता दृश्यहरू प्रस्तुत गर्ने कलाकारहरू बिनासङ्कोच र धक यौन र सेक्सका बारेमा कुरा गर्न थालेका छन् खुलेर । प्रश्न सोध्नेलाई गाह्रो होला तर जवाफ दिने कलाकारहरूमा भने रत्तिभर पनि अप्ठेरो महसुस भएको देखिँदैन । कुरा चलचित्र ‘चपली हाइट’ की विनिता बरालको हो । केवल एउटै सिनेमाबाट उनले नायिकाको पगरी पाइन् । वर्षौंदेखि लागिपरेका थुपै्र नवप्रवेशी नायिकालाई पछाडि पार्दै विनिताले आफूलाई अगाडि उभ्याइन् । यो सफलताले गर्दा पनि उनलाई बढी नै आत्मविश्वास पलायोजस्तो छ । त्यसकारण पनि आफूले जे बोले तापनि चर्चा हुने कारणले यो हप्ता उनले मिडियासमक्ष बोलेको एउटा कुराले रामै्र चर्चा पायो बजारमा । विनिताले भनेकी छिन्, ‘म सेक्स पार्टनर खोज्ने अधिकार सबैलाई दिनुपर्छ भन्छु ।’ विनिताको यो कुराले साँच्चै यतिबेला नेपाली सिनेमाको बजारमा तरङ्ग पैदा गरिदिएको छ । उनी भन्छिन्, ‘अहिले समाज परिवर्तित भइरहेको छ भने घरमा श्रीमती भए तापनि बाहिर यौनसाथी राख्नेहरूको जमात ठूलो छ । जसले जति ठूलो कुरा गरे तापनि वास्तविकता यही हो,’ विनिताले निर्धक्क भनेकी छिन् ।
चलचित्र चपली हाइटमा आफूले दिएको यौन दृश्यबारे मुलुकमा टीकाटिप्पणी भए तापनि मुलुक बाहिरबाट प्रशंसाका बधाईहरू आएकोमा विनिता दङ्ग पनि छिन् । ‘तिमीले आँट गरेकोमा बधाई छ भन्नुभएको छ । यस्ता सिनेमा हेर्न खोज्ने तर मनभित्रै इच्छाहरू दबाएर राख्नेहरूका लागि ढोका खोलिदिएकोमा प्रशंसा पाएकी छु,’ विनिता भन्छिन् ।
बाहिर राखेको सेक्स पार्टनरका बारेमा भने विनिता यसले विकृति ल्याउन हुन्न भन्छिन् । ‘परिवार र समाज बिगारेर पार्टनरको नाममा गलत सन्देश भने प्रवाह गर्नुहुँदैन । हरेक कुराको दायारा भने हुनुपर्छ,’ उनले थपिन् ।

राजेशलाई पछुतो
भनिन्छ कि महानायक राजेश हमाल निकै रिजर्भ बस्ने गर्छन् । रमाइलो गर्ने, ठट्टा गर्ने अनि साथीभाइहरूसँगको समयमा बिताउने पलहरूबारे पनि उनी अनविज्ञ नै छन् । तर, यो भनाइ भने हमालको जीवनमा स्वदेशमा लागू भए तापनि विदेशमा भने लागू नहुने रहेछ । यो कुराको उदाहरण नायक हमालले आफ्ना तीनहप्ते लण्डन भ्रमणको क्रममा प्रस्तुत गरे ।
स्वदेशबाट हमालसँगै लण्डन पुगेका कलाकारहरू पनि राजेशको खुला व्यवहार, विचार अनि रमाइलो ठट्टा गर्ने शैली देखेर आश्चर्यमा परेका थिए । उनीहरू भन्दै थिए कि ‘उहाँ नेपालकै राजेश हमाल हो । नेपाल र यहाँ त आकाश–पाताल फरक पाइयो उहाँलाई ।’
एक साँझको कुरा हो । लण्डननिवासी नेपालीको एउटा संस्थाले हमाललाई सम्मान गर्ने कार्यक्रम थियो । केही दिनअगाडिदेखि नै यो कार्यक्रमको चर्चा निकै चल्न थालेको थियो र, त्यसैअनुसार नै राजेश हमाललाई भेट्न अनि उनीसँग तस्बिर खिचाउनेहरूको भीड पनि जम्मा हुन थाल्यो ।
सम्मानको क्रममा सबैले हमालसमक्ष विभिन्न कुराहरू राखे । हमालले पनि रमाइलो र खुसीका साथ जवाफ दिँदै गए । यत्तिकैमा एक सुन्दर युवतीले हमाललाई सोधिन्, ‘तपाईंले बिहे गर्ने निधो गर्नुभएछ नि । यो उमेरमा आएर यो निर्णय किन गर्नुभयो ?’ यो प्रश्न सुनेपछि हमाल एकछिन् मुस्कुराए र आफ्नै फिल्मी शैलीमा जवाफ दिए, ‘मलाई अहिले त्यही कुराको त पछुतो लागिरहेको छ । किन मैले नेपालमा नै बिहे गर्ने निर्णय गरेर लण्डन आएछु । यहाँ आएपछि गल्ती गरेकोजस्तो महसुस भएको छ ।’ हमालको यो रमाइलो जवाफसँगै निकै लामो समय हल हाँसोले गुञ्जायमान भएको थियो । उनी भन्दै थिए, ‘पहिले लण्डन आएपछि निर्णय गर्नुपर्ने रहेछ । ठूलै गल्ती गरेछु ।’
त्यसबखत हमालले आफूलाई सधैं लण्डन बस्न मन लागेको अभिव्यक्ति पनि दिए । उनले ठट्यौली पारामा भने, ‘तपाईंहरूलाई जसले देख्छ र तपार्इंहरूसँग जो बोल्छ त्यो यो ठाउँ छाडेर जान सक्दैन ।’ राजेशको यस्तो रमाइलो रूप देखेपछि कार्यक्रममा उनको तारिफ गर्नेहरूको सङ्ख्या पनि बढ्दै थियो ।