जनवरी १ : ‘इस्वी सन्’को नयाँ वर्ष २०२५ लाई स्वागत

जनवरी १ : ‘इस्वी सन्’को नयाँ वर्ष २०२५ लाई स्वागत


ग्रेगोरियन पात्रोअनुसार आज (१७ पुस)देखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटीका अनुसार विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।

केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । मङ्गलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ ।