सरकारले प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ मनाउने भएको छ । मङ्गलबार मन्त्रिपरिषद्ले गरेको निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएको बताए ।
त्यसैगरी, प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ र पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय छ ।
सरकारले फिलिपिन्समा आयोजना हुने ‘फेस टु फेस मिटिङ’ मा २०८१ साल पुस २८ देखि माघ २ गतेसम्म नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा रहेको १३ सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने र विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा छत्रबहादुर कटुवाल (बाजुरा) लाई नियुक्त गर्ने पनि निर्णय गरेको छ ।
“आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने र नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौँमा सरूवा गर्ने निर्णय भएको छ”, सरकारका प्रवक्ता गुरूङले भनेका छन् ।
सरकारको नाममा दर्ता रहेको बाजुरा जिल्ला बूढीगङ्गा नगरपालिका-६ को एक हजार ७२५ वर्गमिटर सरकारी प्रकृतिको जग्गा बूढीगङ्गा नगरपालिकाको प्रशासकीय भवन निर्माणार्थ बूढीगङ्गा नगरपालिका, बाजुरालाई उपयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
सरकारले जिल्ला समन्वय समिति कैलालीको नाममा दर्ता रहेको धनगढी उपमहानगरपालिका वडा नं १ को दुई हजार ७१८ वर्गमिटर जग्गा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापनाका लागि धनगढी उपमहानगरपालिका, कैलालीलाई उपयोग गर्न स्वीकृति दिएको छ । हिल्सा-सिमिकोट सडकको सल्लीसल्ला-सिमिकोट खण्डको कडा चट्टान रहेको आठ सय मिटर लम्बाइको सडक निर्माण र चुवा खोलामा बेलीबृज निर्माण कार्य नेपाली सेनाबाट गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिइएको छ ।
मन्त्रिपरिषद्ले राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा ध्रुव आचार्य (रूपन्देही) लाई नियुक्त गर्ने र अप्पर देउमाई खोला साना जलविद्युत् आयोजना निर्माणका लागि इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका तथा देउमाई नगरपालिकामा रहेको राष्ट्रिय वनको ४ दशमलव ८२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने र कानेपोखरी गाउँपालिका मोरङको केन्द्र वडा नं ६ बयरवनलाई परिवर्तन गरी वडा नं ५ भौसाबारी कायम गर्नेसमेत निर्णय भएको प्रवक्ता गुरूङले जानकारी दिए ।
कानेपोखरी गाउँपालिका मोरङको केन्द्र वडा नं ६ बयरवनलाई परिवर्तन गरी वडा नं ५ भौसाबारी कायम गर्ने, खानेपानी तथा सरसफाइ नियमावली, २०८१ स्वीकृत गर्ने, निकासी पैठारीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने र राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
प्रवक्ता गुरूङले विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ स्वीकृत गर्ने ऊर्जा विकास मार्गचित्र, २०८१ स्वीकृत गर्ने र वाणिज्य नीति, २०८१ स्वीकृत गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए ।
तस्बिर : रासस
प्रतिक्रिया