बालगायक परियारको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

बालगायक परियारको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज (१८ पुस) सामाजिक सञ्जालमार्फत परियारको निधन भएको खबरले निकै दुःखी भएको उल्लेख गर्नुभएको छ ।

‘बालगायक सचिन परियारको निधन भएको खबरले धेरै दुःख छु । एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुऱ्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्रै प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ । बालगायक सचिनलाई हार्दिक श्रद्धाञ्जली’, उहाँले भन्नुभएको छ ।

परियारको १३ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा उपचारका क्रममा आज बिहान १०ः४५ बजे निधन भएको थियो ।

१३ वर्षीय सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग चल्दैनथ्यो । गायक परियारले हाँस्य शृङ्खला ‘मेरी बास्सै’मा अभिनय गर्नुका साथै ‘रातो रबर एक’ ‘रुमाल खस्छ कि’ ‘के छ र हजुर’ ‘बरको छाँयाले’ जस्ता गीत गाएका थिए ।