नेपाली मनोरञ्जन उद्योगका बहुमुखी प्रतिभा सुरज खनालले संघर्ष, लगनशीलता र सिर्जनशीलताको बलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । ‘अति भो’ टेलिसिरियलदेखि ‘ख्यालठट्टा’सम्मको यात्राले उनलाई नेपाली टेलिभिजन इतिहासमा एउटा सशक्त व्यक्तित्वका रूपमा स्थापित गरेको छ ।
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. २ पिपलधारा जुम्लादि एक सानो गाउँमा जन्मिएका सुरज खनालले सानैदेखि ठूला सपना देखेका थिए । सीमित साधनस्रोत र सहयोगको अभावबीच उनले काठमाडौंको यात्रा तय गरे । सुरज भन्छन्, ‘गुल्मीबाट काठमाडौं आउँदा कोही साथमा थिएन, सबैभन्दा ठूलो कुरा मैले आफ्नो सपना पूरा गर्न आफूलाई विश्वास गरेँ र निरन्तर मेहनत गरिरहेँ ।’
उनको संघर्षको पहिलो फल थियो ‘अति भो’ टेलिसिरियल, जुन नेपाल टेलिभिजनमा २०१ भागसम्म प्रसारण भयो । लेखन, निर्देशन, र अभिनयमा खनालको पूर्ण समर्पणले यो कार्यक्रमलाई ग्रामीण समाजका यथार्थ समस्या प्रस्तुत गर्ने उत्कृष्ट माध्यम बनायो । हास्यव्यंग्यको शैलीमा सामाजिक चेतना दिन सफल यो सिरियलले दर्शकहरूको मन जित्यो र सुरजलाई नेपाली टेलिभिजनको एक बलियो स्तम्भको रूपमा चिनायो ।
‘ख्यालठट्टा’को सफलता
हाल सुरज खनालको नेतृत्वमा निर्माण भइरहेको ‘ख्यालठट्टा’ टेलिसिरियलले नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ उचाइ कायम गरेको छ । हास्यरसले भरिएको यो कार्यक्रमले मनोरञ्जनमात्र नभइ सामाजिक सन्देश पनि दिएको छ । उनी भन्छन्, ‘म हास्यव्यंग्यलाई मात्र मनोरञ्जनको साधन नभई समाज सुधारको माध्यम बनाउने पक्षमा पनि छु ।’
सुरज खनाल संघर्षरत कलाकारहरूको लागि प्रेरणाको स्रोत बन्ने प्रयासमा छन्। उनी भन्छन्, ‘जब म संघर्षरत थिएँ, कसैले मलाई मौका दिएन । त्यसैले अहिले संघर्षरत कलाकारलाई मौका दिन पाउँदा मलाई ठूलो खुसी मिल्छ । नयाँ प्रतिभालाई अगाडि बढाउन म सधैं तत्पर छु।’
सिरियल निर्माणबाहेक सुरज खनालले थुप्रै म्युजिक भिडियो र सरकारी विज्ञापनहरू निर्देशन गरिसकेका छन् । उनका निर्देशनमा बनेका म्युजिक भिडियोहरूले दर्शक र श्रोताहरूलाई भिन्न अनुभव दिलाएका छन्। त्यस्तै, उनले सरकारी स्वास्थ्य र शिक्षा अभियानसम्बन्धी विज्ञापनहरू पनि निर्देशन गरेर सामाजिक परिवर्तनमा योगदान पुर्याएका छन् ।
सुरज खनाल भन्छन्, ‘जीवन भनेको नै संघर्ष हो। संघर्ष गर्न छोड्नु हुँदैन । मेहनत, लगनशीलता, र समर्पणले असम्भवलाई सम्भव बनाउन सकिन्छ । आफैंमाथि विश्वास गरेर अगाडि बढ्नुपर्छ।’
उनका आगामी योजना अझ प्रेरणादायक छन् । नेपाली मनोरञ्जन क्षेत्रलाई अझ सशक्त बनाउन र दर्शकलाई सोच्न बाध्य बनाउने कार्यक्रमहरू निर्माण गर्न उनी प्रतिबद्ध छन् । उनी भन्छन्, ‘मेरो उद्देश्य मनोरञ्जनसँगै समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो । हरेक प्रोजेक्टले केही नयाँ सन्देश दिन सक्नुपर्छ ।’
सुरज खनालको यात्रा गुल्मीको सानो गाउँदेखि काठमाडौंसम्मको संघर्ष र मेहनतको कथा हो । स्वयंको परिश्रम र दृढतामा विश्वास गरेर उनले यो उचाइ हासिल गरेका छन् । नेपाली मनोरञ्जन उद्योगमा उनको योगदान र उनीबाट प्राप्त प्रेरणाले धेरैलाई आफ्नो लक्ष्यतर्फ अघि बढ्न प्रेरणा दिएको छ।
सुरज खनालको कथाले देखाउँछ, ‘संघर्षबाट सिकेर र मेहनत गरेर हरेक सपना पूरा गर्न सकिन्छ ।’
प्रतिक्रिया