देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आज (२० पुस) देखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ ।
जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपंछीको सङ्ख्या, प्रजाति, बासस्थानको अवस्थाबारे जानकारी लिनका लागि गणनाकार्य हुनलागेको नेपाल पंछीविद सङ्घका वरिष्ठ चराविद तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपंछी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले जानकारी दिएका छन् । उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानीवरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङकलन कार्य हुनेछ ।
गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौं, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपंछी गणनाकार्य गरिएको थियो ।
यस वर्ष पनि यी क्षेत्रलाई निरन्तरता दिने लक्ष्य राखिएको जानकारी दिँदै उनले गोक्यो, गोसाइँकुण्ड, माईपोखरी, फोक्सण्डो तालजस्ता हिमाली क्षेत्रका तालमा भने अझै नियमित गणनाकार्य हुन नसकेको र यी तालका अलावा अन्य संभावित सिमसार क्षेत्रमा चरा अवलोकनमा जानेको विवरण माग गरिएकोले इच्छुक जोसुकैले जानसक्ने उनले बताएका छन् । विगतका वर्षझै यस वर्ष पनि तराई, भित्रि मधेश, रारा ताल, काठमाडौं उपत्यका र पोखरा उपत्यका सबै प्रमुख सिमसार क्षेत्रमा जलपंछी गणनाकार्य गरिने उनको भनाइ छ ।
भारतीय महादिपमा एशियाली जलपंछी गणनाकार्य सन् १९८७ देखि वेटल्याण्ड्स इन्टरनेशनलले शुरु गरेको हो । यो कार्य शुरुमा एशियाको अफगानिस्तान, जापान, दक्षिण एशिया र अष्ट्रेलियामा गरिएको थियो ।
सन् १९८७ देखिनै नेपालमा पनि एशियाली जलपंछी गणनाकार्य नियमितरुपमा हुँदै आएको छ । नेपालमा पहिलो गणना एक रामसार साईट र अन्य केही सिमसार क्षेत्रमा गरिएको थियो । त्यसपछि गणनाकार्य निरन्तररुपमा जारी रहेको छ ।
‘जलपंछी गणनाकार्यले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ’, संयोजक पौडयाले भनेका छन्- ‘यस गणनामुख्य उद्देश्य पानीमा आश्रित बसाइसराई गर्ने, पानीमा र त्यसको वरिपरि बस्ने चराको सङ्ख्या र वितरणको बारेमा जानकारी सङ्कलन गर्नु रहेको छ ।’
यस कार्यबाट सिमसार क्षेत्रको अवस्था, जलपंछीको प्रजनन्को अवस्था र जलवायू परिवर्तनको अवस्था बारे जानकारी पाउन सकिने उनी बताउँछन् । जलपंछी गणना सिमसारको स्वास्थ्य मूल्याङ्कन, जलवायु परिवर्तनको अवस्था बुझन, सिमसार संरक्षण योजना बनाउन र जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण रहेको उनको भनाइ रहेको छ ।
गत वर्ष सन् २०२४ मा गरिएको जलपंछी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्र अन्तर्गत ८४ वटा साना क्षेत्रमा चार सय दुई जना स्वयंसेवकले ७९ प्रजातिका ६३ हजार नौ सय जलपंछी रेकर्ड गरेका थिए । यीमध्ये ६ वटा रामसारमा सूचिकृत सिमसार क्षेत्र पनि थिए । वरिष्ठ पंछीविद पौडयालका अनुसार यसवर्षको गणनाप्रारम्भिक नतिजा आगामी २ फ्रेवुअरी २०२५ मा विश्व सिमसार दिवसको अवसरमा सार्वजनिक गरिने छ ।
विस्तृत प्रतिवेदन भने आगामी वैशाख १ गते देखि ७ गतेसम्म मनाइने बन्यजन्तु सप्ताहका अवसरमा सार्वजनिक गरिने छ । गत विगत वर्षको तथ्याङ्कको तुलनात्मक अध्ययनबाट जलपंछीको सङ्ख्या, विवरण र सिमसारको अवस्थाबारे महत्वपूर्ण जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।
स्थानीयरुपमा जलपंछी गणनाकार्य गर्नका लागि स्वयंसेवकको रुपमा देशभर २४ जनालाई साईट को-अर्डिनेटरका रुपमा खटाइएको छ ।
उत्तरी धुव्र रुस, चिन, मङ्गोलियालगायतका अत्यधिक चिसो हुने क्षेत्रबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनूकुल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा नेपालका विभिन्न ताल, तलैया, नदी र वनजङगल क्षेत्रमा आउने गर्दछन् ।
ज्ञातव्य छ, उत्तरी ध्रुवमा हिउँ परेर तापक्रम निकै चिसो हुने भएकाले चरा बाँच्नका लागि अनुकूल तापक्रमको खोजिमा नेपालमा आउने गर्दछन् । यहाँका ताल तलैया, नदीमा माछा, किराफटयाङ्ग्राजस्ता खानेकुरा प्रचुर मात्रामा पाइने र विभिन्न संरक्षित क्षेत्रमा शिकारीबाट बच्नेकार्य सँगै सुरक्षित बासस्थान उपलव्ध हुने भएकाले चराका लागि अनुकूल वातावरण रहने गर्दछ । नेपालमा हिउँदमा बसाइँसराई गरी आउने जलपछीमा हाँसका विभिन्न प्रजाती, जलेवा, गङ्गाचीललगायत रहने गर्दछन् ।
प्रतिक्रिया