✍ अनुसा थापा

प्रधानमन्त्रीमा पटक-पटक एउटै व्यक्ति तर के भयो उपलब्धि ? अहिले जनमानसमा यसबारे व्यापक चर्चा चलेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री बने । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तीन/तीन पटक प्रधानमन्त्री भए । यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, डा. बाबुराम भट्टराईले पनि प्रधानमन्त्रीको पद सम्हाले । विडम्बना के भने जोसुकै पदमा आएपनि देश र जनताको अवस्था उही छ । नेपालका नेताहरू कतिसम्म ‘निकम्मा’ छन् भन्ने हेर्न केही वर्षपछाडि फर्किनु उपयुक्त होला ।
२०७० सालमा निर्वाचन गराउन नसकेपछि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गरियो । निजामति सेवामा रहेका (कर्मचारी)हरूलाई मन्त्री बनाइयो । पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री, रिटायर्ड सचिव, सहसचिव, उपसचिवहरू मन्त्री ! राजनीतिक दलहरू त्यतिबेलै ‘फेल’ भइसकेका थिए । तर, नेपाली आम जनताले त्यो कुरा बुझेनन् । रेग्मीले २०७० सालमा निर्वाचन गराएपछि सरकार छोडे, राजनीतिक दललाई नै सरकारको हस्तान्तरण गरे । सो निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले नेपालको संविधान बनाए । २०७२ असोज ३ गते संविधान जारी भयो । तर, २०७२ सालको संविधान खारेज गर्नुपर्ने माग जनताको छ ।
संविधानले देशलाई तीन तहमा बाँडेको छ । संघीयताको नाममा खर्च बढाइएको छ । त्यसले खर्च बढाउनुबाहेक उपलब्धि केही हासिल हुन सकेको छैन । पञ्चायती व्यवस्थाले देशमा विकास गर्न सकेन, विदेशी हस्तक्षेप बढ्यो, खर्च बढ्यो भनेर आन्दोलन गरे । २०४६ सालमा राजनीतिक परिवर्तन भयो । पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आयो । २०४६ सालपछि प्रधानमन्त्री बन्ने नेताहरू धेरै छन् । स्वर्गीय नेता कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, लोकेन्द्र चन्द, सुशील कोइरालालगायत प्रधानमन्त्री भए । पञ्चायती व्यवस्था ढाल्न मुलुकमा भएको आन्दोलनको नेतृत्वकर्ता यिनै-यिनै थिए ।
देशमा अहिले लोकतान्त्रिक गणतन्त्रात्मक अवस्था छ । तर, जे सोचेर यो व्यवस्था ल्याइयो, त्यो पुरा हुन सकेन । छिमेकीको हस्तक्षेप व्यापक बढेको छ । यहाँ केही निर्णय गर्न खोज्यो भने छिमेकीलाई बढी चासो हुन्छ । हस्तक्षेप गर्न आइहाल्छन् । हिजो जे-जे मुद्दा उठाएर देशमा आन्दोलन भयो, के त्यो पूरा भयो ?
शेरबहादुर देउवा र उनी पत्नी आरजुको भ्रष्टाचारी प्रवृत्तिमाथि औंला उठाएर चर्चा बढाएका गगन अहिले उनै आरजुको चाकडी गरेर राजनीतिक लाभ लिने प्रयासमा देखिन्छन् । उनमाथि अनुदानको रकम पचाएको आरोप पनि ब्याप्त नै छ । एमसीसी पारित गर्न सबैभन्दा ठूलो भूमिका खेल्ने गगन थापा नै हुन् भन्ने बुझाइ पनि जनतामा रहेको छ ।
देशको फजुल खर्च झनै बढेको छ । जनताले पहिले एउटा राजा पाल्थे, अहिले त हजारौं राजा भए । विदेशी हस्तक्षेप घट्नुको साटो झन् बढ्दै गएको छ । राजनीतिक दलहरू देश र जनताका लागि होइन, आफ्नो व्यक्तिगत स्वार्थका लागि आएका हुन् भन्ने पुष्टि भइसकेको छ । पार्टी खोल्ने अनि पालैपालो पदमा जाने… खाने ! वर्षौंदेखि यही क्रम चलिरहेको छ । टुक्रे पार्टी बनाउने अनि सरकारमा जान बार्गेनिङ गर्ने । व्यक्तिगत फाइदा लिने !
मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आयो तर के परिवर्तन भयो ? नेताहरूले जनतालाई के दिन सके ? जतिपनि विकास भएको छ, २०४६ सालअगाडि नै भएको हो । राजमार्गहरू पञ्चायती व्यवस्था हुँदा नै खुलेको हो । अहिलेकाले त बनाउन होइन, बेच्न जानेका छन् । सरकारी सम्पत्ति बेचेर खाइहाले । जनताले २०४६ सालपछि के के विकास भयो ? भनेर नेतालाई सोधे भने उनीहरूले जवाफ दिन सक्दैनन् । देशमा यो व्यवस्था ल्याउन जनताले धेरै संघर्ष गरेका छन् । जनताका छोराछोरी शहीद बनेका छन् । कतिपय टुहुरा भए । राजनीतिक दललाई त के छ ?! कोही गुमाउनुको पीडा महसूस छैन । नेता भनेका छन्, हावादारी भाषण ठोकेका छन् । जनतालाई भ्रममा पार्ने, आफू खाइरहने, यो खेल चलिरहेको छ । यहाँ जसले जे गर्छ, आफ्नो व्यक्तिगत स्वार्थको लागि गर्छ भन्ने मात्र देखिएको छ ।
पदका लागि नेताहरूले कतिसम्म गर्छन् ? यसको उदाहरण काङ्ग्रेसका सभापति देउवालाई लिएर हुन्छ । गिरिजाप्रसाद कोइरालाले सभापति नछोडेपछि प्रधानमन्त्री खानका लागि देउवाले पार्टी नै फुटाए । २०५४ सालमा एमाले फुटेर माले बन्यो । अहिले पनि एमाले फुटि नै रहेको छ । केपी एकातिर, माधव अर्कोतिर । माओवादी त यसैउसै टुक्रा-टुक्रा भएकै हो । पद नपाएपछि गुट फेर्ने, गुटबाट पनि स्वार्थ पूरा नभए पार्टी नै फुटाएर हिँड्नेहरूले देशका लागि बिनास्वार्थ काम गर्छन् होला त ? यसको पछिल्लो उदाहरण बनेका छन् नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा ।
सभापति शेरबहादुर देउवा र उनी पत्नी आरजुको भ्रष्टाचारी प्रवृत्तिमाथि औंला उठाएर चर्चा बढाएका गगन अहिले उनै आरजुको चाकडी गरेर राजनीतिक लाभ लिने प्रयासमा देखिन्छन् । उनमाथि अनुदानको रकम पचाएको आरोप पनि ब्याप्त नै छ । एमसीसी पारित गर्न सबैभन्दा ठूलो भूमिका खेल्ने गगन थापा नै हुन् भन्ने बुझाइ पनि जनतामा रहेको छ । २०७९ मंसिर ४ गते निर्वाचन हुँदा उनले अबको प्रधानमन्त्री मै हुँ भन्दै भोट मागे । जनताले पत्याएर भोट दिए । तर, उनको रवैया यतिबेला हेर्नलायक छ । गगन थापा अहिले शेखर कोइरालाबाट शेरबहादुरतर्फ सरेका छन् । पदका लागि यता र उता गर्ने क्रम चलिरहेको छ । नेताहरूका लागि देश कमाइ खाने भाँडो र जनता पदमा पुग्ने खुड्किलो मात्र भए ।
यस्तै-यस्तै पात्रहरू अझैपनि देश बनाउँछु भन्दै हिँडेका छन् । जनता उनीहरूको भाषणमा ताली पिटिरहेका छन् । यिनीहरूलाई अब पाखा लगाउने कि ताली पिटी-पिटी भ्रष्टाचार गर्न, देश सकाउन उक्साइरहने ? अब पनि गम्भीर नबने कहिल्यै नभोगेको भुक्तमानी ब्यहोर्नुको विकल्प देखिँदैन, चेतना भया !
प्रतिक्रिया