आठ दिनदेखि उभिएर आन्दोलन गर्दैआएका चापागाईंको आन्दोलन स्थगित

आठ दिनदेखि उभिएर आन्दोलन गर्दैआएका चापागाईंको आन्दोलन स्थगित


सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौंको माइतीघरमा आठ दिनदेखि उभिँदै आएका नेत्र चापागाईंले आन्दोलन स्थगित गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भेट गर्दै उनका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको हो ।

मन्त्री भट्टराईले सोमबार (२२ पुस) चापागाईंसँग भेट गरी शिक्षा क्षेत्र सुधारका प्रक्रिया अघि बढिसकेकाले शङ्का नगर्न अनुरोध गरिन् । आर्थिक वर्ष २०८१र८२ बजेट तर्जुमा गर्दा हालको सरकार नरहेका कारण सबै विषय सम्बोधन गर्न कठिन रहेको उनको भनाइ थियो । तथापि, हाल विपदबाट क्षति भएका विद्यालयको पुनःनिर्माण आवश्यक रकम व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा पेस भइसकेको उनले जानकारी दिइन् ।

मन्त्री भट्टराईले संस्थागत विद्यालयमा सरकारले तोकेबमोजिम छात्रवृत्ति दिन अनिवार्य गराइएको, स्थानीय तहलाई शिक्षा कोष स्थापना गर्न उत्प्रेरित गराइने, शिक्षकको उपचारमा छुटको लागि स्वास्थ्य मन्त्रालयमा अनुरोध गरिसकिएको पनि जानकारी गराइन् ।

उक्त भेटमा प्रतिनिधिसभाको शिक्षा, समितिका सभापति अमरबहादुर थापाले शिक्षाको मोडेल सुधारका लागि समितिमा छलफल गरिएको र अबको शिक्षाको मोडेल मुलुकमै बसेर केही गर्न सक्ने खालको हुनुपर्ने भएकाले सोही अनुसार शिक्षा ऐन ल्याउन नागरिकको धारणा लिन खोजेको अवगत गराए ।

शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईं सातै प्रदेशमा दुई/दुई घण्टा उभिएर काठमाडौं आएका थिए । काठमाडौंमा उनी उभिन थालेको सोमबार आठौँ दिन थियो । खुट्टा सुन्निएपछि उनले वैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए ।

photo: rss