फितलो व्यवस्थान, आर्थिक सङ्कटलगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमलाई सपार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज (२३ पुस)को बैठकमा निगमको समस्या धेरै पुरानो भएकाले व्यवस्थापन परिवर्तन गरेर त्यसलाई सुधार्नुपर्ने उनीहरुले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रियरूपमा हवाई टिकटको मूल्यवृिद्ध नियन्त्रण गर्न निगमलाई बलियो बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि मुलुकको आकाश सुरक्षित हुनुपर्ने तथा त्यसमा पर्यटन क्षेत्रमा आवद्ध सबैको सहयोग आवश्यक पर्ने उल्लेख गरे । उनले भने, ‘हवाईजहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट बिक्रीमा सुधार गर्न आवश्यक छ, त्यसका लागि हामी काम गरिरहेका छौँ ।’ मन्त्री पाण्डेले निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनाका साथ काम गर्न एक महिनाको अवधि दिइएको बताए ।
समितिका सदस्य उदयशम्शेर जबराले निगमको समस्या २० वर्ष पुरानो र परम्परागत भएको उल्लेख गर्दै व्यवस्थापन परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरे । व्यवस्थापन परिवर्तन नगरी निगममा सुधार गर्न कठिन हुने उनको धारणा थियो ।
समितिका अर्का भीमप्रसाद आचार्यले निगमको व्यस्थापन प्रणाली परिवर्तन नगरिकन अरू परिवर्तन हुने अवस्थामा नभएको बताए । यसको व्यस्थापन करारमा दिनुपर्छ ।
त्यसैगरी अर्की सदस्य सुनिता बरालले व्यवस्थापनसँगै खरिद प्रक्रियाको समस्या भए त्यो पनि सच्च्याउन जरूरी रहेको बताइन् भने सांसद शिशिर खनालले विमान खरिदमा भएको अनियमिताताको समितिले छानविन समितिले गर्नुपर्नेमा जोड दिए ।
सांसद एनपी साउदले निगममा व्यवस्थापकीय समस्या भएको बताउदै सुधारका लागि निजी क्षेत्रलाई व्यवस्थापकीय जिम्मेवारी दिनुपर्ने वा व्यस्थापन करारमा जानुपर्ने बताए । सांसद योगेश गौचनले कार्यकारी प्रमुख बिना नै निगम सञ्चालन भइरहेको उल्लेख गर्दै निलम्बनमा परेको व्यक्तिबाट संस्थानको हित सुनिश्चित गर्न नसकिने तर्क गरे ।
photo: rss
प्रतिक्रिया