मन्त्रिपरिषद् निर्णय : सशस्त्र प्रहरीका चार प्रहरी नायब महानिरीक्षकको पदावधि एक वर्ष थपियो

मन्त्रिपरिषद् निर्णय : सशस्त्र प्रहरीका चार प्रहरी नायब महानिरीक्षकको पदावधि एक वर्ष थपियो


सरकारले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी)को पदावधि आज (२३ पुस) राति १२ बजेदेखि लागू हुनेगरी एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

नं एक बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं तीन गढीमाइ बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नं चार मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा कार्यरत प्रहरी नायब महानिरीक्षक कमल गिरीको एक वर्ष पदावधि थप भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिएका छन् । गृहमन्त्रालयको प्रस्तावमा चारै जना प्रहरी नायब महानिरीक्षकको पदावधि एक वर्ष थप गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) मा सशस्त्रका प्रहरी महानिरीक्षकको पदावधि चार वर्षको हुने व्यवस्था छ । चारै जना प्रहरी नायब महानिरीक्षक भएको आज मंगलबार चार वर्ष पूरा हुँदैछ ।

नियमावलीको दफा ६५ कै (ग) को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आइजी) को सिफारिसमा नेपाल सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी)को पदावधि चार वर्षपछि एक वर्ष थप गर्न सक्ने उल्लेख छ । यसै व्यवस्थाअनुसार आजको मन्त्रिपरिषद् बैठकले चारै जना प्रहरी नायब महानिरीक्षकहरूको पदावधि एक वर्ष थप गरेको हो ।

photo: rss